आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
दसौँ राष्ट्रिय महाधिवेशन

एमालेसँग विद्रोह गरेका माधव नेपाल दुईपटक समाजवादीका अध्यक्ष

बिहीबार, २० असार २०८१, २३ : २०
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी उनकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए । 

पार्टी स्थापनाको ३४ महिनामा उनले महाधिवेशन सम्पन्न गरेका हुन् । सुरुमा नेपाललाई नेता घनश्याम भुसालले चुनौती दिएका थिए । बुधबार बन्दसत्रमा पेस भएको चारवटै दस्ताबेज अनुमोदन भएको थियो । सोही दिन बेलुका अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए । नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा चित्ता बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् । 

नेपाल वामपन्थी आन्दोलनका एक अनुभवी, इमान्दार र विद्रोही स्वभावका नेता मानिन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने काममा नेपालको नेतृत्वदायी भूमिका रहेको छ । पञ्चायती निरंकुश व्यवस्था, सक्रिय राजतन्त्रात्मक व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उनको अग्रणी भूमिका रहेको  छ । यस्तै १० वर्षे माओवादी सशस्त्र विद्रोह, लडाकु र हतियार व्यवस्थापनका लागि उनको पहलकदमी स्मरणयोग्य रहेको छ । 

यति हुँदाहुँदै पनि नेपाल निर्विवादित भएनन् । एमालेका महासचिव हुँदा फरकमत राख्नेमाथि दमानकारी भूमिका खेलेको, राष्ट्रिय मुद्दामा ढुलमुले नीति लिएको, महाकाली सन्धि अनुमोदन गर्न भूमिका खेलेको, २०६० सालमा शाही प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा गएको, २०६४ सालको संविधानसभा निर्वाचनमा दुई÷दुई ठाउँबाट पराजित भएर पनि प्रधानमन्त्री बन्न लालचा देखाएको, पार्टीलाई हस्तक्षेपकारी रूपमा अगाडि बढाउन चुकेको, पार्टी विभाजन गरेको, पद र प्रतिष्ठालाई उच्चस्थान दिएको, पारिवारिक मोह तोड्न नसकेको जस्ता आरोप नेपालमाथि लाग्दै आएको छ । 

२००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा उनको जन्म भएको थियो । पिता मंगलकुमार उपाध्याय र आमा दुर्गादेवी उपाध्यायका तीन भाइ छोरामध्ये उनी जेठा छोरा हुन् ।  नेपालले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । २०२२ सालमा वीरगन्ज को ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीण प्रमाणपत्र तह उत्र्रिण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । राजनीतिमा आउनुअघि उनी नेपाल बैँकको जागिरे थिए ।  

तेह्र वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा लागेका नेपालले  २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । २०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न भएपछि कम्युनिस्ट घटकहरूलाई एकतामा ल्याउन प्रयास गरेका थिए । यसै सिलसिलामा उनी २०३२ मा को–अर्डिनेसन केन्द्रका संस्थापक सदस्य भए । २०३५ सालमा नेकपा (माले) का संस्थापक सदस्यको साथसाथै नेपाल पोलिटब्यूरो सदस्य भए । २०३३ मा राजनीतिक अभियोग राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष जेल परेका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका नेपाल संयुक्त वाम मोर्चाका सदस्य थिए । २०४७ मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए । २०४८ सालमा एमालेका पोलिटब्यूरो सदस्य भए । २०४८ को आम निर्वाचनपछि उनी राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता भए । 

२०४९ सालमा एमालेको पाँचौँ महाधिवेशनमा उनी स्थायी समिति भएका थिए ।  एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि उनी कार्यबहाक महासचिव भए । नेपाल एमालेलेमा लामो समय विदेश मामिला विभागका प्रमुख भएका थिए । 

नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थिए । २०५४ सालमा भएको छैटौं महाधिवेशनमा महासचिव निर्वाचित भए । झण्डै १४ वर्ष महासचिव भएका उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौँ र रौतहट दुवै क्षेत्रबाट पराजित भएपछि राजीनामा दिएका थिए । यसबिचमा उनी प्रतिनिधिसभामा पटक पटक प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका खेले । पहिलो संविधानसभाको निर्वाचनपछि उनी संवैधानिक समितिका सभापति हुँदै समानुपातिक सांसद भए ।

२०६६ साल वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि प्रधानमन्त्री बन्ने अवसर नेपाललाई जुरेको थियो । २०६५ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनबाट अध्यक्षात्मक बहुदलीय प्रणालीमा गएपछि अध्यक्ष बन्ने आकांक्षा देखाएका थिए । २०७१ सालमा काठमाडौँमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका उनी थोरै मतले पराजित भए । उनी २०५१ देखि ०७९ सम्म भएको निर्वाचनमध्ये २०६४ मा पराजित भएका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर बनेको नेकपामा उनी ओली, प्रचण्डपछि तेस्रो तहका नेता भएका थिए । तर तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले २०७७ साल पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्डसँग मिलेर उनले सडक संघर्षमा उत्रिएका थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपश्चात् साबिक एमालेमै रहेका उनी ओलीसँग संघर्ष गरिरहे । तर ओलीसँग विवाद नसुल्झेपछि एमालेसँग विद्रोह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप