आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

‘प्रचण्डले भ्रष्टाचारका फाइल नखोल्ने भए राजीनामा उचित’

बिहीबार, २० असार २०८१, १७ : ४३
बिहीबार, २० असार २०८१

काठमाडौँ । भ्रष्टाचारका फाइलको डरसँगै परिवर्तन उल्ट्याउने योजनासहित कांग्रेस–एमालेबिच गठबन्धन भएको वक्ताहरूले जिकिर गरेका छन् । बिहीबार संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै उनीहरुले माओवादीले आफ्नो वर्ग बिर्सिएको परिणाम प्रतिगमनकारी शक्तिहरूले टाउको उठाएकोसमेत दाबी गरेका हुन्।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचार मुद्दाबाट आत्तिएका कांग्रेस–एमालेले सरकारको स्थिरताको नाममा क्रान्ति र परिवर्तनका उपलब्धि उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाए । नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेट प्रकरणको कुराले झस्काएपछि मध्यरातमा स्वार्थ मिलनको साइत जुरेको बताउँदै उनले भने,‘एमालेले सहकारी र एन्जीओमार्फत लुट मच्चाएका नेता–कार्यकर्ता जोगाउन र कांग्रेसी हाईप्रोफाइलका मान्छे खोरमा जाने डरले यो अवस्था निम्तायो ।’

संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि प्रचण्डलाई सुझाएको बिडारीले स्मरण गर्दै भने, ‘भारतमा १ सय ३ पटक र अमेरिकामा ४ दर्जन पटक संशोधन हुँदा नेपालमा पनि आवश्यक भएको छ, तर परिवर्तनकारीले गर्ने जनपक्षीय हुन्छ, प्रतिगमनकारीले जनअधिकार खोस्न संविधान संशोधन गर्दैछन् ।’

बिडारीले मन्त्रालयको सङ्ख्या घटाउनु पर्ने, समानुपातिक प्रणालीलाई नहटाई प्रतिनिधि सभा सदस्यको सङ्ख्या एक सयमा झार्नु पर्ने, न्यायपालिकालाई एकात्मकबाट संघात्मक प्रणालीमा लग्नु आवश्यक रहेको र जुन संविधान संशोधनबाट सम्भव रहेको बताए ।

प्रचण्डले भ्रष्टाचारका फाइल नखोल्ने तथा जनताको लागि महत्त्वपूर्ण काम गर्न नसक्ने अवस्थामा ३० दिन नकुरी राजीनामा दिनु उचित हुने पनि बिडारीको सुझाव छ ।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले जनयुद्धको रापतापको कारणले मात्रै कांग्रेस एमालेले परिवर्तनलाई स्वीकारे पनि अहिले मौका आउँदा त्यसलाई उल्ट्याउने चेष्टा गरेको आरोप लगाए । संविधान संशोधनका नाममा उनीहरूले उत्पीडित, गरिब जनताको अधिकार खोस्न लागेको आरोप लगाउँदै भने, ‘पचास लाख टाउकाको मूल्य तोक्ने र बयलगाडेहरुलाई परिवर्तन पचेको थिएन, सुदूर बस्तीबाट संसद्मा जनता पुगेको रुचाएका थिएनन्, गरिबले आँखा जुधाएको मन नपरेर त्यही अधिकार खोस्न तल्लीन छन् यिनीहरू ।’

पिटरले वर्तमान परिवर्तन सित्तैमा आएको देख्ने कांग्रेस–एमालेका अगाडी १ दर्जनको सङ्ख्यामा विभक्त माओवादी एकजुट भएर क्रान्तिका कार्यभार पूरा गर्ने सुनौलो अवसर पनि भएको बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप