आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
कोपा अमेरिका

कोपा–अमेरिका फुटबलसँग जोडिएका सुन्दै अचम्म लाग्ने केही प्रसङ्ग

बिहीबार, २० असार २०८१, १८ : ००
बिहीबार, २० असार २०८१

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अहिले अमेरिकामा जारी छ । कोपा–अमेरिका आफ्नो स्थापनाको समयदेखि हालसम्म निरन्तर रूपमा चलिरहेको विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता हो । 

यो प्रतियोगिताको पहिलो संस्करण सन् २०१६ मा आयोजना भएको थियो । कोपा–अमेरिका विश्वभर सर्वाधिक हेरिने फुटबल प्रतियोगिताहरूको सूचिमा तेस्रो स्थानमा पर्छ । विश्व फुटबलको निकै पुरानो यो प्रतियोगितासँग थुप्रै तिता–मिठा क्षण जोडिएका छन् ।

यो प्रतियोगिताको एक सय आठ वर्ष लामो इतिहासमा थुप्रै कीर्तिमान पनि बनेका छन् । प्रतियोगिताका क्रममा केही अनौठा घटना पनि भएका छन् । यो प्रतियोगितामा एक सय आठ वर्षदेखि एउटै ट्रफी प्रयोग हुँदै आएको छ भने एउटै संस्करणमा एउटै व्यक्ति खेलाडी र रेफ्रीको भूमिकामा पनि देखिएका छन् । कोपा–अमेरिकासँग जोडिएका यस्तै केही रोचक प्रसंगको विषयमा यहाँ चर्चा गरिएको छ ।

copa america

  • १०८ वर्षदेखि एउटै ट्रफी

कोपा–अमेरिका फुटबल प्रतियोगितासँग एउटा रमाइलो संयोग जोडिएको छ । एक सय आठ वर्ष लामो इतिहास बोकेको यो प्रतियोगितामा अहिलेसम्म एउटै ट्रफी प्रयोग गरिँदै आएको छ । अर्थात्, सन् १९१६ मा सम्पन्न पहिलो संस्करणमा जुन ट्रफी प्रयोग गरिएको थियो अहिले पनि विजेता टोलीलाई त्यही ट्रफी प्रदान गरिन्छ । 

  • पहिलो संस्करणमा केवल चार टोली

यो प्रतियोगिताको पहिलो संस्करण सन् १९१६ मा अर्जेन्टिनामा आयोजना भएको थियो । पहिलो संस्करणमा केवल चार टोलीले सहभागिता जनाएका थिए । त्यो ऐतिहासिक संस्करणमा सहभागिता जनाउने राष्ट्र अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिली थिए ।

image

  • पहिलो उपाधि उरुग्वेको पोल्टामा

कोपा–अमेरिका फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्ने राष्ट्र उरुग्वे हो । पहिलो संस्करणमा सहभागी चारवटा राष्ट्रलाई लिगका आधारमा एक–अर्कासँग प्रतिस्पर्धा गराइएको थियो । आफूले खेलेको तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै पाँच अङ्कसहित उरुग्वे पहिलो भएको थियो । 

  • प्रत्येक खेल जितेबापत केवल दुई अङ्क

कोपा–अमेरिका फुटबल प्रतियोगिताको समूहगत चरणमा हाल प्रत्येक खेल जितेबापत विजयी टोलीलाई तीन अङ्क प्रदान गरिन्छ । तर, यो प्रतियोगिताको सुरुआती संस्करणमा प्रत्येक खेल जितेबापत विजयी टोलीलाई केवल दुई अङ्क प्रदान गरिन्थ्यो । 

  • दक्षिण अमेरिकाको आकाश छिचोलेको ऐतिहासिक संस्करण

कोपा–अमेरिका सुरु हुँदा प्रारम्भमा दक्षिण अफ्रिकी राष्ट्रले मात्र सहभागिता जनाउने गरेका थिए । सन् १९९३ पछिमात्र यो प्रतियोगितामा दक्षिण अमेरिकाभन्दा बाहिरका टोलीलाई पनि समावेश गर्न थालिएको हो । त्यसपछि यो प्रतियोगितामा विभिन्न महादेशका टोलीलाई आमन्त्रित टोलीका रूपमा सहभागी गराउने परम्परा अहिलेसम्म चल्दै आएको छ ।

El Grafico Number 3847, 1993 (9)

  • आमन्त्रित टोलीका रूपमा अमेरिका र मेक्सिकोको प्रवेश

कोपा–अमेरिका सन् १९९३ मा ईक्वेडरमा आयोजना भएको थियो । त्यतिबेला पहिलो पटक यो प्रतियोगितामा मेक्सिको र अमेरिकालाई आमन्त्रित टोलीका रूपमा समावेश गरिएको थियो । पहिलो संस्करणमै मेक्सिको उप–विजेता बनेको थियो । फाइनलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–१ गोलले हराएको थियो । 

  • कोभिड–१९ कारण सन् २०२१ को संस्करण अपवाद

सन् २०२१ मा कोपा–अमेरिकाको ४७औँ संस्करण ब्राजिलमा आयोजना भएको थियो । त्यो संस्करणमा दक्षिण अमेरिका राष्ट्रले मात्र सहभागिता जनाएका थिए । सन् १९९३ पछि पहिलो पटक कोपा–अमेरिकामा कुनै पनि आमन्त्रित टोलीले सहभागिता जनाएनन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण यस्तो अवस्था सृजना भएको थियो । 

arg_45.jpg_1980506209

  • लगातार तीनपटक उपाधि जित्ने एकमात्र राष्ट्र अर्जेन्टिना

कोपा–अमेरिका फुटबल प्रतियोगिताको उपाधि लगातार तीनपटक जित्ने एकमात्र राष्ट्र अर्जेन्टिना हो । अर्जेन्टिनाले सन् १९४५, सन् १९४६ र सन् १९४७ मा लगातार तीनपटक कोपा–अमेरिकाको उपाधि चुमेको थियो । अन्य कुनै राष्ट्रले यस्तो सफलता हात पार्न सकेको छैन ।

  • फोर्लान–कोराज्जो परिवारको नाममा गजबको कीर्तिमान

कोपा–अमेरिका फुटबल प्रतियोगिताको इतिहासमा फोर्लान–कोराज्जो परिवारको नाममा एउटा गजबको कीर्तिमान लेखिएको छ । यो परिवारको तीन पुस्ताले कोपा–अमेरिका फुटबलको छुट्टा–छुट्टै संस्करणमा फरक भूमिकामा आफ्नो राष्ट्रलाई उपाधि जिताएका थिए । 

diego_forlan_uruguay_65e2b6f8c6

हुवाँ कोराज्जो, उनका ज्वाइँ पाब्लो फोर्लान र नाती डिएगो फोर्लानले उरुग्वेलाई कोपा–अमेरिकाको छुट्टा–छुट्टै संस्करणको उपाधि जिताएका हुन् । सन् १९५९ उरुग्वेले उपाधि जित्दा हुवाँ कोराज्जो टोलीका प्रशिक्षक थिए । उरुग्वेले सन् १९६७ को उपाधि जित्दा पाब्लो फोर्लान टोलीका सदस्य थिए । 

पाब्लो फोर्लानले हुवाँ कोराज्जाको छोरीसँग विवाह गरेका थिए । त्यसपछि सन् २०२१ मा उरुग्वेले कोपा–अमेरिकाको उपाधि जित्दा डिएगो फोर्लान टोलीका सदस्य थिए । डिएगो फोर्लान पाब्लो फोर्लानका छोरा हुन् । 

  • एउटै संस्करणमा एउटै व्यक्ति खेलाडी र रेफ्रीको भूमिकामा

कोपा–अमेरिकाको चौथो संस्करण सन् १९२० मा चिलीमा आयोजना भएको थियो । त्यो प्रतियोगितामा चारवटा टोली सहभागी थिए । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिलका एक व्यक्तिले दुईवटा भूमिका निर्वाह गरेका थिए ।

त्यो संस्करणमा ब्राजिलका जाओ डे मारिया खेलाडीका रूपमा ब्राजिलको टोलीमा सहभागी थिए । खेलाडीका रूपमा पनि उनले डिफेन्डर र स्ट्राइकर दुवैको भूमिका निर्वाह गरेका थिए । कोपा–अमेरिकाको त्यही संस्करणमा उनले रेफ्रीको भूमिका पनि निर्वाह गरेका थिए ।

अर्जेन्टिना र चिलीबिच सेप्टेम्बर २० तारिखमा खेलिएको खेलमा उनले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । त्यो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कोपा–अमेरिकाको त्यो संस्करणमा ब्राजिल तेस्रो भएको थियो । उरुग्वे पहिलो र अर्जेन्टिना दोस्रो भएका थिए । 

E0qFo7kXMAAuQ3f

  • विश्वका चर्चित धावक कोपा–अमेरिकाको सर्वाधिक गोलकर्ता 

कोपा–अमेरिकाको पहिलो संस्करण सन् १९१६ मा अर्जेन्टिनामा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि उरुग्वेले जितेको थियो । उरुग्वेलाई पहिलो संस्करणको उपाधि दिलाउन ईशाबेलिनो ग्राडिनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिता अवधिभरमा उनले सर्वाधिक तीन गोल गरेका थिए । उनी आफ्नो समयका प्रभावशाली फुटबलर थिए । तर, उनको खेल जीवनको अर्को पाटो पनि थियो । उनी विश्व एथलेटिक्सका पनि प्रभावशाली खेलाडी थिए ।

ग्राडिनले उरुग्वेको तर्फबाट एथलेटिक्सको थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक पनि जितेका थिए । उनी छोटो दुरीका धावक थिए । उनले दुई सय, चार सय र चार सय मिटर रिले स्पर्धामा प्रतिस्पर्धा गर्थे । उनले सन् १९१९ मा सम्पन्न दक्षिण अमेरिकी एथलेटिक्स च्याम्पियनसिपमा उरुग्वेका लागि दुईवटा स्वर्ण पदक पनि जितेका थिए ।

  • कोपा–अमेरिकाको इतिहासमा सबैभन्दा लामो खेल

कोपा–अमेरिका फुटबलको तेस्रो संस्करण सन् १९१९ मा ब्राजिलमा आयोजना भएको थियो । तेस्रो संस्करणमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि तोडिएको छैन । तेस्रो संस्करणमा पनि चारवटा राष्ट्र सहभागी थिए ।

त्यो संस्करणमा आयोजक ब्राजिल र उरुग्वेबिचको खेल एक सय ५० मिनेटसम्म चलेको थियो । निर्धारित समयको खेलपछि दुईपटक ३०–३० मिनेट अतिरिक्त समय थप गरिएको थियो । मे २६ तारिखमा खेलिएको त्यो खेल एक सय ५० मिनेटसम्म चलेको थियो । कोपा–अमेरिकाको त्यही संस्करणमा ब्राजिलले पहिलो पटक उपाधि जितेको थियो । 

  • दुई सर्वकालीन महान् खेलाडीले उपाधि चुम्न नसकेको प्रतियोगिता

कोपा–अमेरिका फुटबलको इतिहाससँग अर्को एउटा रोचक पक्ष पनि जोडिएको छ । दुई सर्वकालीन महान् खेलाडी मेले र म्याराडोनाले कहिल्यै यो प्रतियोगिताको उपाधि जित्न सकेनन् । ब्राजिलियन हस्ती पेलेले सन् १९५८ मा एकपटक मात्र यो प्रतियोगितामा भाग लिएका थिए । 

त्यतिबेला उनी केवल वर्षका थिए । कोपा–अमेरिकाको त्यो संस्करणमा उनले सर्वाधिक आठ गोल गरेका थिए । उनी उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । तर, त्यो संस्करणको उपाधि भने अर्जेन्टिनाले जितेको थियो । ब्राजिल दोस्रो भएको थियो ।

यसैगरी म्याराडोनाले सन् १९७९, सन् १९८७ र सन् १९८९ मा कोपा–अमेरिका खेलेका थिए । यी तीनवटै संस्करणमा अर्जेन्टिनाले उपाधि जित्न सकेको थिएन । उनले सन् १९८७ मा घरेलु मैदानमा आयोजित प्रतियोगिता सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप