आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
अख्तियारका आयुक्तको गेटमा डोजर

अख्तियारको पत्रपछि मेयर चिरिबाबु : सम्पदा संरक्षणमा कुनै पनि शक्तिसँग झुक्दिनँ (भिडियोवार्ता)

बिहीबार, २० असार २०८१, १७ : ५८
बिहीबार, २० असार २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले बुधबार वडा नम्बर १० चाकुपाटस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्यको घरको गेट र पर्खालमा डोजर चलाएको छ । सम्पदा क्षेत्र अतिक्रमण गरेको भन्दै अमात्यको घरको गेटमा डोजर चलाएपछि यतिबेला नगरप्रमुख चिरिबाबु महर्जन चर्चामा छन् । 

महानगरपालिकाले अमात्यको घरको गेट र पर्खाल भत्काएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्षअघि मेयर महर्जनविरुद्ध परेको एउटा उजुरीलाई लिएर जवाफ दिन बोलाएको छ । धेरैले यसलाई अख्तियारको ‘बदला’ को रूपमा व्याख्या गरेका छन् । 

२०७८ साल असारमा आएको बाढी पहिरोबाट धापाखेलमा धेरै घरमा क्षति पुगेपछि त्यहाँका बाढीपीडितलाई ललितपुर महानगरपालिकाले राहत उपलब्ध गराएको थियो । बाढीपीडितलाई  राहत दिँदा नगर कार्यपालिकाबाट निर्णय नगरी राहत दिएको भनेर परेको बेनामे उजुरीलाई अख्तियारले ३ वर्षपछि एकाएक झिकेर महानगर प्रमुख महर्जनलाई जवाफका लागि बोलाएपछि तरङ्ग सिर्जना भएको छ । 

अमात्यको घरमा राखिएको गेट र पर्खालले सम्पदा क्षेत्रमा असर परेको भन्दै महानगरपालिकामा त्यस क्षेत्रका विभिन्न संस्था तथा व्यक्तिहरूले उजुरी गरेका थिए । त्यसपछि घरधनी अमात्य परिवारसँग मेयर महर्जनले छलफल गरेका थिए । 

उनीहरूलाई आफै पर्खाल हटाउन आग्रह गर्दा अवज्ञा गरेपछि प्रक्रियागत रूपमा गेट भत्काएको उनको भनाई छ । ३ वर्षअघि कसैले अख्तियारमा दिएको बेनामे सामान्य उजुरीलाई एका–एक निकालेको देखेर आफू चकित परेको महर्जनले बताए । 

सम्पदा क्षेत्रको मध्यभागबाट घरमा मोटर जाने बाटो खोल्न लागेको र नक्सा पासविपरीत घरको गेट राखेपछि घरधनी अमात्य परिवारसँग पटक-पटक छलफल गरेर हटाउन भन्दा पनि नहटाएपछि बुधबार महानगरपालिकाले हटाएको मेयर महर्जनको भनाई छ । 

रातोपाटीसँगको कुराकानीमा उनले भने–‘वडा नम्बर १० भित्र धेरै मठ मन्दिर लगायतका सम्पदाहरू छन् । त्यहाँ रहेको देवस्थलको उत्तरतर्फ उहाँहरूको घर छ । लालपुर्जामा त्यो क्षेत्रमा ४ रोपनी सम्पदा क्षेत्रको जग्गा देखाइएको छ । उहाँहरूले विना अनुमति, विना नक्सापास, यो ४ रोपनी क्षेत्रमा रहेको देवस्थलमा मोटर छिराउने गेट राख्नुभयो । गेटबाट पक्की सडकसँग जोड्नका लागि सम्पदा क्षेत्रभित्रबाट बाटो बनाउन पनि कोसिस गर्नुभयो । त्यसको विरुद्धमा त्यहाँ रहेका महर्जन, ज्यापु समुदायको तीन वटा गुठी र उहाँहरूकै अमात्य समुदायको अमात्य गुठीले मलाई निवेदन पेश गर्नुभयो । निवेदन पत्रमा उहाँहरूले यो हाम्रो सम्पदा क्षेत्र हो, अमात्य परिवारले यस्तो गर्नुभयो, त्यो रोकीपाउँ भन्न आउनुभयो ।’

उनले अगाडि भने–‘मैले पत्र लेखेर छलफलका लागि बोलाएँ तर उहाँ आउनुभएन । उहाँका श्रीमान् दिवस अमात्य आउनुभयो । त्यो बैठकमा ठुलो सङ्ख्यामा गुठियारहरूको पनि उपस्थिति थियो । त्यो बैठकमा मैले उहाँहरूलाई तपाईंहरुको घरको दक्षिणतिर गेट राख्न नक्सा पास छ कि छैन ? छ भने पेश गर्नुस्, हैन भने तपाईको यो दक्षिण तर्फ गेट राखेकोमा उहाँहरू सबैको विरोध छ, त्यो बन्द गर्नुस् भनेको थिएँ ।’

मेयर महर्जनसँग ७ दिनको समय मागेर त्यतिञ्जेलमा प्रमाण पेश गर्छु भने पनि उनीहरूले प्रमाण पेश गर्न नसकेको उनले बताए । उनले भने–‘उहाँहरूसँग प्रमाण भए पो पेश गर्नु, उहाँहरूसँग प्रमाण नै थिएन । केही पनि प्रमाण पेश गर्न नसक्नुभएपछि तपाईंले गरेको काम नियम सङ्गत भएन, गुठियारहरूको यसमा प्रचुर मात्रामा विरोध छ, तसर्थ तपाईंले त्यो गेट बन्द गर्नुस् । नक्सापास गर्दा पूर्वतर्फ गेट राख्छु भनेर तपाईंले कबुल गर्नुभएको रहेछ, दक्षिणतर्फ तपाईंले गेट राख्नुभएकोले यो सम्पदा क्षेत्र तहसनहस हुन्छ, बिग्रिन्छ । म सम्पदाप्रेमी मेयर । मेरो सम्पदा क्षेत्रमा जेरो टलोरेन्स छ । दक्षिणतर्फको गेट बन्द गरेर तपाईंले पूर्व वा पश्चिमतर्फ गेट राख्ने व्यवस्थापन गर्नुस् भनेर मैले उहाँलाई भनेको थिएँ तर उहाँले यो कुरा मान्नुभएन । म कहाँ निरन्तर रूपमा गुठियारहरूको दबाब रहिरह्यो । हिजो महानगरपालिकाको प्रहरी र म स्वयं उपस्थित भएर उहाँको दक्षिणतर्फको गेट भत्काइदिएको हो ।’

मेयर महर्जनले २०७८ सालमा आएको बाढी पहिरोका कारण घरबारविहीन भएका धापाखेलका नगरवासीलाई विविध कोषबाट नियमसंगत रूपमा बैंकिङ प्रणालीबाट राहत दिएको विषयमा कसैले बेनामे उजुरी दिएको ३ वर्षपछि अहिले अख्तियारबाट पत्र पठाएको कुरा अचम्म लाग्दो विषय भएको बताए । 

लालीगुराँस सहकारीले सम्पदा क्षेत्र मिचेको विषयमा लामो लडाइँ लडेर पुनः सम्पदा स्थल निर्माण गरेको बताउँदै मेयर महर्जनले सम्पदा क्षेत्र जोगाउनका लागि आफू कुनै शक्तिसँग नझुक्ने बताएका छन् । 

ललितपुरको लगनखेलमा सेना र स्थानीयले मिचेको भूभाग फिर्ता ल्याएर ऐतिहासिक पोखरी निर्माणको काम अघि बढिरहेको र २ वर्षभित्रमा निर्माण सक्ने गरी काम अघि बढिरहेको जानकारी दिए । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप