आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
राजनीति

छुट्टै सत्ता निर्माण गर्ने निर्णयबाट किन पछि हटे महतो ?

टाढा भएपनि नजिक रहेको भान दिनु : राजेन्द्र महतो
बिहीबार, २० असार २०८१, २३ : ३७
बिहीबार, २० असार २०८१

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति देशमा छुट्टै सत्ताको अभ्यास गर्ने निर्णयबाट हाललाई पछाडि हटेको छ । बहुल राष्ट्र निर्माणको माग गर्दै आन्दोलन थालेको राष्ट्रिय मुक्ति क्रान्तिले विभिन्न राज्यको स्थापना गर्दै स्वशासनसहितको आफ्नै विधान घोषणा गर्ने निर्णय गरेको थियो । 

यसअनुसार काठमाडौँ उपत्यकामा असार ४ गते नेवा: राष्ट्रको सत्ता दाबी गर्ने कार्यक्रम राखिएको थियो । तर उक्त कार्यक्रम आयोजना नै गरिएन । राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले भने– ‘असार ४ गते नेवा:  राष्ट्रको घोषणा गर्दै सत्ताको अभ्यास गर्ने कार्यक्रम थियो, तर तयारी नपुगेको कारण त्यसलाई स्थगित गरिएका छौँ ।’

यता, बिहीबारदेखि राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठक सुरु भएको छ । बैठकमा छुट्टै सत्ता स्थापनाबारे थप छलफल हुने उनले बताए ।  ‘काठमाडौँमा छुट्टै सत्ता स्थापना गर्नु सानोतिनो कुरा होइन । यहाँ त सिधै राज्यसँग भिड्नुपर्ने स्थिति देखियो । त्यसअनुसारको तयारी नपुगेर पछाडि हटेको हौँ,’ उनले जानकारी दिए । आफ्नै सत्ता स्थापनाका लागि हल्का ढङ्गको तयारीले नपुग्ने भन्दै उनले नेवा:  राष्ट्रको साथै देशका अन्य ठाउँमा आफ्नै राज्य घोषणा गर्ने र त्यहाँ सत्ताको अभ्यास गर्ने गरी तयारी सुरु भएको जिकिर गरे । 

नेवा: राष्ट्रिय परिषद्, चौवाङ राष्ट्रिय परिषद्, मगर राष्ट्रिय परिषद्, लिम्बुवान राष्ट्रिय परिषद्, चेपाङ राष्ट्रिय परिषद् गरी राष्ट्रिय मुक्ति क्रान्तिका हाल १२ वटा परिषद् क्रियाशील छन् । अभियानको ५० वटा परिषद् बनाउने तयारी रहेको छ । 

सबै परिषद्हरूले आफ्नो सत्ता आफै सञ्चालन गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले नीति बनाएको छ । ती राज्यको आफ्नै विधान र आफ्नै संरचना हुने बताइएको छ ।  ‘देशमा हरेक समुदायको आ–आफ्नो राष्ट्रियता र पहिचान छन् । ती पहिचानको आधारमा स्वशासन हुनुपर्ने माग राखिनेछ,’ राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले बताए । ती सबैको आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिरनलगायत हरेक आफ्नै हुने उनको भनाई छ । 

‘अहिले देशमा गणतन्त्र भए पनि एक भाषा, एक नीति नै लादिएको छ । हामीले त्यसको विरोध गरिरहेका छौँ,’ नेता झाले भने- ‘जसको राष्ट्रियता हुन्छ उसले नै त्यहाँ शासन गर्नुपर्ने अभ्यास हामीहरूले गर्न लागेका छौँ । अहिले त्यसको तयारी चलिरहेको छ ।’ 

राष्ट्रिय मुक्ति क्रान्तिले ‘अभियानमा निरन्तरता, सङ्घर्षमा जोड र विद्रोहको तयारी’ भन्ने मूल रणनीति तय गरेको छ । पहिलो चरणको कार्यक्रम सकाएर क्रान्तिले दोस्रो चरण अन्तर्गत असार–कात्तिकमा बढीभन्दा बढी नेतृत्वको आत्मागत तयारी गरे पनि केही क्षेत्रहरूमा केन्द्रीकृत हस्तक्षेपमार्फत विकल्पसहित विद्रोहको वस्तुगत तयारीलाई अझ सशक्त बनाउन अभियान लागिरहेको बताइएको छ । 

आज बसिरहेको बैठकमा यो विषयलाई छलफलको एजेन्डा बनाइएको बैठकमा सहभागी एक नेताले बताए । मुक्ति क्रान्तिले अभियान, सङ्घर्ष र विद्रोहलाई सँगसँगै लैजाने तथा विद्रोह आर्थिक तहमा हुने भएकाले अहिलेदेखि विकल्पसहितको विद्रोहलाई अगाडि बढाउने रणनीतिमाथि बैठकमा छलफल चलाएको छ । 

पहिलो र दोस्रो चरणको कार्यक्रमका दौरान कायम रहेको केन्द्रप्रतिको आर्थिक र भौतिक निर्भरतालाई अन्त्य गर्दै कमान्ड, ब्युरो, विशेष ब्युरो तथा विभिन्न भातृ सङ्गठन तथा संस्थाहरूलाई आत्मनिर्भरता विकास गर्ने भन्दै मुक्ति क्रान्तिले केन्द्रीय कोषलाई पनि विभिन्न कार्यक्रमहरूमार्फत अधिकतम रूपमा बढाइने बताएको छ । 

असार ४ गते कार्यक्रममार्फत सार्वजनिक गर्न चाहेको पार्टीको अवधारणालाई दोस्रो चरण दोस्रो खण्ड अन्तर्गत असार–कात्तिक खण्डमा प्रभावकारी कार्यक्रमहरू पश्चात् अन्तिमसम्ममा एक भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने विषयमा पनि बैठकले छलफल गरिरहेको छ । 

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले प्रस्तुत गरेको एजेन्डामा भनिएको छ, ‘हामी मङ्सिरपछि आउँदैछौँ भन्ने जानकारी दिनका लागि टाढा भए पनि नजिक रहेको भान दिनु र नजिक भए टाढा रहेको भान दिनु भन्ने सूत्र अनुसार कार्यनीति तय गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप