आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

मानसिक स्वास्थ्यका लागि बुझ्नुपर्ने तीन आयाम

बिहीबार, २० असार २०८१, १३ : ५३
बिहीबार, २० असार २०८१

मानसिक स्वास्थ्यले व्यक्तिको समग्र जीवन र जीवनमा गरिने प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मानसिक स्वास्थ्यमा असर गर्ने विभिन्न मानसिक विकारहरू छन् । व्यक्तिमा मानसिक विकारहरू केवल एक कारणले मात्र उत्पन्न हुँदैनन्, विभिन्न प्रभावहरूको जटिल अन्तक्र्रियाबाट ती विकार उत्पन्न हुन्छन् । 

समाजका हरेक व्यक्ति भिन्न र अद्वितीय हुन्छन् । प्रत्येक व्यक्तिमा विभिन्न रूपका मानसिक विकार देखिन सक्छन् । मानसिक विकारका कारकमा तीन अवस्थालाई नियाल्नुपर्छ— आनुवंशिक, वातावरणीय र जैविक । 

१) आनुवंशिक कारक

हाम्रा जिनहरूले हाम्रो मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छन् । जिनहरू भनेका शरीरमा निर्देशन दिने एकाइ हुन् । कुनै कारणवश यिनीहरूले समग्र स्वास्थ्यमा प्रतिकूल पर्ने गरी निर्देशन पठाउन थाले भने मानसिक स्वास्थ्य समस्याहरूको सम्भावना बढ्न सक्छ । 

उदाहरणका लागि, केही आनुवंशिक कारणले (जस्तै : इम्युनो–जेनेटिक र सिनाप्टिक जिन (न्युरोनहरूबिच सञ्चार गर्ने जिन) हरूले हाम्रो मस्तिष्कको कामकाजलाई प्रभावित गर्न सक्छन् र यसबाट सम्भावित रूपमा विकारहरू उत्पन्न हुन सक्छन् । यसलाई कहिलेकाहीँ त्रुटिहरू समावेश भएको हाम्रो स्वास्थ्यको ब्लुप्रिन्टको रूपमा सोच्नुहोस्, जसले हाम्रो स्वास्थ्यको भवनलाई अस्थिर बनाइदिन सक्छ । 

हामी हाम्रो आनुवंशिक संरचनालाई परिवर्तन गर्न सक्दैनौँ, तर जीवनशैली परिवर्तन गरेर, उचित चिकित्सा र वातावरणीय परिवर्तनहरूमा ध्यान दिएर, हामी मानसिक स्वास्थ्यलाई सुधार गर्न र आनुवंशिक प्रवृत्तिहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्छौँ । 

यसका लागि सर्वप्रथम स्वस्थ जीवनशैली अपनाउनुपर्छ । 

नियमित व्यायाम : शारीरिक गतिविधिले प्राकृतिक मुड लिफ्टरहरू (जसलाई एन्डोर्फिन भनिन्छ)लाई रिलिज गर्दछ । नियमित व्यायामले डिप्रेसन र चिन्ताका लक्षणलाई व्यवस्थापन गर्न मद्दत गर्न सक्छ ।

सन्तुलित आहार : फलफूल, तरकारी, प्रोटिन र फाइबरले भरिएको पोषिलो आहारले मस्तिष्कको स्वास्थ्यलाई सबल गर्दछ । ओमेगा– ३ फ्याटी एसिडहरू, जुन माछा र आलसमा पाइन्छ, यी मानसिक स्वास्थ्यका लागि विशेष गरी फाइदाजनक हुन्छन् ।

पर्याप्त निद्रा : पर्याप्त र गुणस्तरीय निद्रा सुनिश्चित गर्नाले मुड र संज्ञानात्मक कार्यलाई नियमन गर्न मद्दत गर्छ । खराब निद्राले मानसिक स्वास्थ्य समस्याहरूलाई बिगार्न सक्छ, त्यसैले नियमित निद्राको बानी बसाउन अति नै महत्त्वपूर्ण छ । 

आज डिपे्रसनजस्तो मानसिक विकार देखिने पहिलो कारण निद्रासम्बन्धी समस्या र गडबडीबाट हुने तथ्य पत्ता लागेको छ । आत्महत्याको विचार, उदासी र आफूलाई दोषी ठान्ने भावना त्यसपछि आउँछन् । त्यसैले मनलाई शान्त र सबल राख्न शवासन, योग निद्राको अभ्यास र समयमै सुत्ने–उठ्ने वातावरण सिर्जना गर्नुपर्छ । 

यस्तै, तनाव व्यवस्थापन गर्न सिक्नुले आनुवंशिक प्रवृत्तिहरूको प्रभावलाई कम गर्न सक्छ । 

  • तनाव व्यवस्थापनका उपाय

माइन्डफुलनेस (सचेतन) अभ्यास र ध्यान : माइन्डफुलनेस र ध्यान अभ्यास गर्नाले तनाव कम गर्न र भावनात्मक अवस्थालाई नियमन गर्न र सुधार गर्न मद्दत गर्न सक्छ ।

विश्रान्तिका अभ्यासहरू : गहिरो सासका साथ शरीरका मांसपेशीहरूलाई क्रमैसँग विश्राम गर्दै लाने र योगाभ्यास गर्नाले मन र शरीरलाई शान्त गर्न मद्दत गर्छ ।

समय व्यवस्थापन : कार्यहरूको प्राथमिकता निर्धारण गर्ने, यथार्थवादी लक्ष्यहरू लिने र तिनलाई सिर्जनात्मक रूपले गर्नाले तनाव र असहायतालाई घटाउन मद्दत मिल्छ । 

मनोचिकित्सा : संज्ञानात्मक–व्यवहार चिकित्सा र अन्य प्रकारका मनोचिकित्साले व्यक्तिलाई अनियन्त्रित अवस्थाहरूलाई सामना गर्ने क्षमता विकास गर्न र नकारात्मक विचारको मनभित्र लुकेर बसेका ढाँचाहरूलाई सम्बोधन गर्न मद्दत गर्न सक्छ ।

औषधि : केही अवस्थामा मानसिक स्वास्थ्यकर्मी र पेसेवरद्वारा निर्धारित औषधिले लक्षणहरू व्यवस्थापन गर्न मद्दत गर्न सक्छ । यसमा मनको विज्ञान बुझेका, आध्यात्मिक प्रविधिको ज्ञान भएका र करुणाको अभ्यास गर्ने मनोचिकित्सकहरूले विशेष रूपले सहयोग गर्न सक्छन् । 

प्रेरणादायक वातावरणको खोज : आफूलाई सहयोग गर्ने र सकारात्मक ऊर्जाको माहोल भएका समूहहरूमा सामेल हुँदा राम्रा भावना तपाईंलाई प्राप्त हुन सक्छन्, जुन सान्त्वना दिने र प्रेरणादायक हुन सक्छ ।

बलियो सामाजिक सम्बन्धहरू : परिवार, साथीहरू र सहकर्मीहरूसँग स्वस्थ सम्बन्धहरू कायम गर्नाले भावनात्मक समर्थन प्राप्त हुन सक्छ र एक्लोपनको भावनाबाट मुक्त हुन सकिन्छ । एकै छानोमुनि बसेर पनि इन्टरनेट सञ्जालमा बढी समय बिताउने गर्नाले अरुको उपस्थितिको बोध हुन छोड्छ, जुन कुरा मनुष्यजस्तो सामाजिक प्राणीका लागि राम्रो कुनै हालतमा होइन । 

सकारात्मक घरेलु वातावरण : शान्त र सुरुचिपूर्ण घरको वातावरण सिर्जना गर्नाले खुसीको अवस्था बन्छ । घरायसी कलह, मदिरापान गरी घर आउने, आफ्नैहरूसँग उचित संवाद गर्ने सम्भावनालाई लŒयाउने प्रवृत्तिलाई कम गर्नुपर्छ । होसमा नभएका सदस्यहरूले नदेखिँदो पारामा घरमा मानसिक सङ्घर्ष निम्त्याउँछन् र खुला भएर परिवारमा वार्तालाप गर्ने वातावरण निरुत्साहित हुन पुग्छ । 

उदात्त गतिविधिहरू : आनन्द र सन्तुष्टि ल्याउने सोख र गतिविधिहरूमा संलग्न हुनुले मुड र समग्र मानसिक स्वास्थ्य सुधार गर्न सक्छ ।

शिक्षा र सचेतना : आनुवंशिक प्रवृत्तिहरू र मानसिक स्वास्थ्यका बारेमा सचेतना बढाउनुले व्यक्तिहरूलाई मानसिक स्वास्थ्यतर्फ सक्रिय कदम चाल्न प्रेरित गर्न सक्छ । 

२) वातावरणीय कारक

हाम्रो वरपरको वातावरण र जीवनका अनुभवहरूले पनि हाम्रो मानसिक स्वास्थ्यमा धेरै प्रभाव पार्छ । वातावरणीय कारकहरूमा संक्रमण, आघात (ट्रमा), तनाव र लागु पदार्थहरूको प्रयोगजस्ता चिज समावेश छन् ।

तनावपूर्ण वा आघातपूर्ण वातावरणले मानसिक स्वास्थ्य समस्यालाई बढाउन वा अझ बिगार्न सक्छ । यी बाहिरी कारकहरू हुन् तर यिनीहरूले कहिलेकाहीँ हानिकारक तरिकाले हाम्रो मस्तिष्क र शरीरको प्रतिक्रियालाई परिवर्तन गर्न सक्छन् । 

राम्रा साथीहरूको संगत, प्रकृतिको सान्निध्य, भिडभाडबाट पर खुला ठाउँमा समय बिताउने गर्नुपर्छ । बाहिरको वातावरणले जिनहरूले गर्ने व्यवहार पनि परिवर्तन हुन्छन् भन्ने विज्ञानले मानेको छ । वातावरणीय र बाह्य प्रभावले जिनहरूको गतिविधि र अभिव्यक्तिमा कस्तो परिवर्तन ल्याउँछ भन्ने अध्ययन गर्ने विज्ञान हो, एपिजेनेटिक्स । एपिजेनेटिक परिवर्तनहरूले जिनहरूलाई ‘अन’ र ‘अफ’ गर्न सक्छन् र यसबाट स्वास्थ्यको नयाँ वास्तविकता हाम्रा सामु प्रकट हुन्छ । पुस्ताहरूबाट प्राप्त रोगहरू पनि बिस्तारै हराएर जाने सम्भावना हुन्छ । राम्रा एपिजेनेटिक परिवर्तनहरूलाई तपाईंले नयाँ पिँढीहरूमा पनि सार्न सक्नुहुन्छ । अर्थात तपाईंले बाचेको जीवन कस्तो वातावरणमा थियो, आहार कस्तो थियो, प्रदूषणबाट आफूलाई कति बचाउनु भयो, कस्तो जीवनशैली जिउनुभयो यसले तपाईंको जिनहरूको व्यवहारको खाका बनाउँछ र यसले स्वास्थ्यमा ल्याउने नयाँ परिवर्तनबाट तपाईंको सन्तान र आउने पिँढीको स्वास्थ्यलाई निर्धारण गर्छ । तपाईंको स्वास्थ्य तपाईंको निजी मात्रै होइन, यो त तपाईंले पैदा गर्ने सन्तान–दरसन्तानमा सर्दै जाने हो । 

३) जैविक कारक

हाम्रो शरीरभित्र हुने विभिन्न जैविक प्रक्रियाहरूले हाम्रो मानसिक स्वास्थ्यलाई प्रभाव पार्न सक्छ । मानसिक स्वास्थ्यमा कोषिका तथा तन्तुहरूलाई क्षति पु¥याउने ‘अक्सिडेटिभ स्ट्रेस’, ‘स्ट्रेस हर्मोन’ र ‘न्युरोट्रान्समिटर’ (हाम्रो मस्तिष्कलाई संवाद गर्न मद्दत गर्ने रसायन) जस्ता कारकहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । 

यी हामी भित्रका आन्तरिक क्रियाहरू हुन्, जसले हामीलाई रक्षा गर्न सक्छन् वा यिनमा केही गलत भयो भने मानसिक स्वास्थ्य समस्या पैदा हुन्छन् । 

सन्तुलित पोषणमा ध्यान दिने, ‘प्रोसेस्ड फुड’बाट बच्ने, शरीरमा जलको मात्रा कायम राख्ने, समयमा भोजन गर्ने, निद्रा पु¥याउने, शारीरिक व्यायाम गर्ने, मनलाई विक्षिप्तबाट निर्मल अवस्थामा ल्याउन ध्यानको अभ्यास गर्ने, धूमपान र मद्यपानबाट बच्ने उपायले यो हामीभित्रको जैविक वातावरणलाई सबल बनाइराख्छ । 

आनुवंशिक, वातावरणीय र जैविक कारकहरूको मिश्रणबाट मानसिक विकारहरू प्रभावित हुने कुरा बुझ्नु वा पहिचान गर्नुपर्छ । अनि मात्र हामी आफ्ना विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने उपायमा केन्द्रित हुन सक्छौँ । यस दृष्टिकोणले हामीलाई थप प्रभावकारी र करुणापूर्ण तरिकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न मद्दत गर्छ । 

मानसिक स्वास्थ्य हाम्रो जीवनको जटिल र महत्त्वपूर्ण भाग हो । मानसिक विकारहरू आनुवंशिक, वातावरणीय, र जैविक प्रभावहरूको सञ्जालबाट उत्पन्न हुन्छन् । यी प्रभावहरूले हामीभित्र कसरी अन्तक्र्रिया गर्छन् र कस्तो असर गरिरहेका छन् भन्ने बुझेर हामी आफूलाई र अरुलाई बुझ्न र सहयोग गर्न सक्छौँ; एक सुखी र शान्तिपूर्ण जीवन बिताउन मद्दत गर्छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आनन्द अर्हत
आनन्द अर्हत
लेखकबाट थप