आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

माओवादीबाट आजित भएर कांग्रेस र एमालेको समीकरण बन्यो : शेखर कोइराला

बिहीबार, २० असार २०८१, १५ : २२
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएको बताएका छन् । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस पर्साले बिहीबार वीरगन्जमा गरेको कार्यक्रममा कोइरालाले गठबन्धन फेर्दै माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाइसकेपछि एक ठाउँमा आएको बताए ।  ‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले । एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो। त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हो,’ उनले भने।

एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको उनको भनाइ थियो । ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्‍यौँ, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने, ‘ त्यसपछि कांग्रेस र एमालेबिच समीकरणको कुरा अगाडि बढेको हो ।’

एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए। ‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘ त्यहीबेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’

कांग्रेस र एमाले मिलेर सरकार बनाउने राम्रो पक्ष भएको कोइरालाले बताए । उनले भने,  ‘संविधान सुधार गरेर अघि जान एमालेसँग समीकरण गरेको हो । प्रदेशदेखि केन्द्रसम्मका सरकार परिवर्तन भइराख्यो, ठुला दल एक ठाउँमा उभिएर राजनीतिक स्थायित्व दिन खोजिएको हो।’

अहिले रहेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष मात्रै राख्नुपर्ने उनको भनाइ छ । ‘हामीहरूको प्राथमिकता राजनीतिक स्थायित्व, सुशासन र विकास हो,’ कोइरालाले भने, ‘समानुपातिक र समावेशी कुरालाई बिर्सन हुँदैन। प्रदेशदेखि संघसम्म प्रत्यक्ष निर्वाचनमा जाने र जुन पार्टीले जित्छ उसले सरकार बनाउँछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप