अशोक राईले सरकारबारे निर्णय लिन किन गर्दैछन् ढिलाइ ?
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एकातिर कांग्रेस–एमाले नेतृत्वको नयाँ गठबन्धनको पक्षमा रहेको बताइरहेको छ भने अर्कोतिर सरकारबाट राजीनामा पनि दिएको छैन ।
कांग्रेस–एमालेबिच गठबन्धन बन्ने सहमति भएसँगै सो पार्टीले सरकारका बारेमा निर्णय लिन बैठक बोलाउने बताइए पनि तर न बैठक बसेको छ न सरकारका बारेमा कुनै निर्णय लिएको छ । जसपाका उपाध्यक्ष रेणु यादवले पार्टीका अध्यक्ष अशोक राई अस्वस्थ्य भएका कारण बैठक बस्न नसकेको बताइन् ।
बैठक नबसेका कारण सरकार तथा गठबन्धनका बारेमा निर्णय लिन नसकिएको उनको भनाई छ । सो पार्टीका उपमहासचिव एवं स्वास्थ्य मन्त्री प्रदीप यादवले नयाँ गठबन्धन बनेपछि मंगलवार नै बैठक बसेर सरकार तथा गठबन्धनका बारेमा निर्णय लिने बताएका थिए । त्यसयता बैठक नै बसेकाे छैन ।
पार्टीका महासचिव इस्तियाक राईले पार्टीको बैठक बसेर मन्त्रीहरूलाई राजीनामा दिन आज वा भोलि बिहानसम्म निर्देशन दिइने बताए । कांग्रेस–एमाले गठबन्धनप्रति जसपा सकारात्मक रहेको र यसका बारेमा पनि पार्टीले आधिकारिक निर्णय लिने बताए ।
उनले भने, ‘मंगलबार नै पार्टीको बैठक बसेर सरकार तथा गठबन्धनका बारेमा निर्णय लिने कुरा थियो तर पार्टीका अध्यक्ष अशोक राईको कानको अप्रेसन भएको र पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको पारिवारिक काम परेकाले बैठक बस्न सकेन र निर्णय लिनमा ढिलाइ भइरहेको हो ।’
सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् । पार्टीका उपमहासचिव प्रदीप यादव स्वास्थ्य मन्त्री छन् भने नवलकिशोर साह वन मन्त्री रहेका छन् । हसिना खान स्वास्थ्य राज्य मन्त्री रहेकी छिन् ।
नयाँ गठबन्धन बनाएको एमालेले हिजै सरकारबाट समर्थन फिर्ता लिएर मन्त्री पनि फिर्ता बोलाइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एस)ले अध्यक्ष प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भइ गठन भएको जसपा तत्कालीन एमाले–माओवादी गठबन्धनको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताधारी दलले नै आफ्नो पार्टी विभाजन गरेको आरोप लगाउँदै सरकारबाट अलग भएका थिए ।
यादवले छाडेको स्वास्थ्य मन्त्रालय जसपाले पाएको थियो । जसपा नेपाल छाडेर अशोक राईतर्फ लागेका नवलकिशोर साहले सम्हाल्दै आएको वन मन्त्रालयको जिम्मेवारी भने उनले नै पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता