आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
रियालिटी शो

रियालिटी शोका विजेता : सुरुमा चम्किने, समयसँगै हराउने

निर्णायक तथा आयोजक भन्छन्, ‘विजेता बनेपछि मेहनत भएन’
बिहीबार, २० असार २०८१, १२ : १७
बिहीबार, २० असार २०८१

काठमाडौँ । केही दिनअघि ‘नेपाल आइडल सिजन ५’ को उपाधि करण परियारले जिते । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछिपार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् ।

विजेता बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर करणलाई बधाई तथा शुभकामनासहित गितार उपहार दिएका थिए ।

विजेता घोषणा लगत्तै करण निकै व्यस्त छन् । उनी अचेल दैनिकजस्तो गीत रेकर्डिङ र अन्तरवार्तामा व्यस्त छन् । अबको एक वर्ष उनले नेपाल आइडल आयोजकको विभिन्न कार्यक्रममा सहभागी हुनुपर्नेछ । आयोजकले हरेक पटक विजेतालाई लिएर विदेश टुरदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

करण झैँ व्यस्त छन् सुनिल खड्का पनि । शनिबार कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ को विजेता भएपछि उनी व्यस्त बनेका हुन् । प्रतियोगिताबाट कार र २५ लाख नगदसमेत हात पारेका उनी पछिल्लो समय मिडियामा अन्तरवार्तादेखि कार्यक्रमको छलफलमा व्यस्त हुने गरेका छन् ।

धेरै रियालिटी शोका विजेता विगतमा करण र सुनिलजस्तै व्यस्त देखिन्थे । उनीहरूको चर्चा पनि चुलिएको हुन्थ्यो । तर समयसँगै यसअघिका विजेताहरू कोही गुमनाम भइसके पनि कोही तुलनात्मक रूपमा कम सक्रिय छन् ।

  • निष्क्रिय बन्दै विजेता

नेपाली रियालिटी शोका अधिकांश विजेता सुरुमा चम्किन्छन्, त्यसपछि क्रमशः सेलाउँछन् र हराउँछन् पनि । तीमध्ये कति त विदेश पलायन भएका छन् भने कति गुमनाम छन् ।

‘नेपाली तारा’, ‘कमेडी च्याम्पियन, ‘नेपाल आइडल’, ‘नेपाल लोकस्टार’, ‘डान्सिङ स्टार’, ‘द भ्वाइस अफ नेपाल’लगायत नेपालमा थुप्रै रियालिटी शो छन् । जसले विजेताको रूपमा थुप्रै नवप्रतिभा भित्र्याएका छन् । यसरी भित्रिने प्रतिभा सुरुमा निकै सक्रिय हुन्छन् तर पछि बिस्तारै हराउँछन् ।

nt

तीन सिजन आयोजित ‘नेपाली तारा’ले दीपक लिम्बु, सन्तोष लामा र प्रताप लामा गरेर विजेताका रूपमा तीन नवप्रतिभा भित्र्याएको थियो । पहिलो नेपाली तारा दिपक लिम्बु साङ्गीतिक क्षेत्रमा सक्रिय छन् । तर उनको सक्रियता पहिलेजस्तो छैन । सन्तोष लामा विदेशमा छन् भने प्रताप लामा गुमनाम छन् ।

‘नेपाल लोकस्टार’ले दुई सिजन गरेर शनि विश्वकर्मा र बलराम विश्वकर्मा गरी दुई विजेता भित्र्यायो । शनि अहिले अलिअलि सक्रिय छन् भने बलरामको सक्रियता त्यति देख्न सकिन्न ।

Balaram-Bishwakarma

त्यस्तै ‘डान्सिङ स्टार’ले पनि छिरिङ शेर्पा र सुमी मोक्तान गरी दुई विजेता बाहिर ल्याएको थियो । सुमी फाट्टफुट्ट फिल्म गर्छिन् भने छिरिङ के गर्दैछन् भन्ने पत्तो छैन ।

‘नेपाल आइडल’का ४ विजेताको अवस्था पनि त्यस्तै हो ।  बुद्ध लामा, रवि ओड, सज्जा चौलागाई, भूपेन्द्र थापा मगर अहिले पहिलाजस्तो सक्रिय छैनन् । ४ मध्ये बुद्ध लामाको गीत–सङ्गीतमा बढी सक्रियता देख्न सकिन्छ । रवि ओड पारिवारिक झन्झटमा अल्झिएका छन् भने सज्जाले फाट्टफुट्ट काम गरिरहेकी छन् र भूपेन्द्र विदेशमा छन् ।

1647751814

‘कमेडी च्याम्पियन’ सिजन १ र सिजन २ का दुई विजेता हिमेश पन्त र भरतमणि पौडेल पनि पहिले जसरी सक्रिय छैनन् । राजनीतिमा समेत देखिएका हिमेशले भर्खर कमेडी फिल्म अभिनय सुरु गरेका छन् भने भरतमणिलाई केही कार्यक्रममा देख्न सकिन्छ ।

‘द भ्वाइस अफ नेपाल १’का विजेता सिडी विजय अधिकारी, सिजन–२ का राम लिम्बू, सिजन ३ का किरण गजमेर, सिजन ४ का करण राई पनि पहिलाजस्तो सक्रिय छैनन् । सिजन ४ का विजेता किरण गजमेर पछिल्लो समय अमेरिका छन् ।

  • हराउनुको कारण के ?

रियालिटी शोका विजेता सुरुको एक वर्ष निकै चम्किने र त्यसपछि बिस्तारै सेलाउने गर्छन् । कतिपय त हराउने समेत गरेका छन् । त्यसो हुनुका अनेका कारण छन् । तीमध्येको एउटा प्रमुख कारण मेहनतको कमी रहेको नेपाल आइडलका निर्देशक सुरेश पौडेल बताउँछन् ।

‘रियालिटी शोले त प्रतिभा उजागर गर्ने, बाहिर देखाउने हो’, पौडेलले भने, ‘विजेता बनेपछि अगाडि बढ्ने, नबढ्ने विजेताको मेहनतमा भर पर्ने कुरो हो ।’

suresh-poudel

रियालिटी शोको जिम्मेवारी एक वर्षको मात्र हुने उनी सुनाउँछन् । ‘हामी आयोजक त एक वर्षमा धेरै कार्यक्रम दिने, देशविदेशको टुर गराउने लगायतको कार्यक्रम दिन्छौँ’, पौडेलले थपे, ‘त्यसपछि कलाकार आफैँले मेहनत गर्नुपर्छ । मेहनत गर्न नसक्ने हराउँछ ।’

हरेक वर्ष भित्रिने नयाँ विजेताले उनीहरूलाई प्रभाव पार्ने सुरेशको धारणा छ । उनको धारणासँग सहमत छन् कमेडी च्याम्पियनका निर्णायक सन्तोष पन्त । पन्त विजेता बन्नका लागि गरेको जस्तो मेहनत त्यसपछि नगरेका कारण हराएको हुन सक्ने बताउँछन् ।

‘उपाधि विजेताले पहिलेभन्दा झन् धेरै मेहनत र काम गर्नुपर्छ । त्यसको कमी देखेको छु’, पन्तले थपे, ‘शो जितेपछि देश विदेशको कार्यक्रममा व्यस्त हुन्छन् । आफूलाई निखार्न लाग्दैनन् ।’

बेलाबेलामा भित्रिने विजेताले पनि अघिल्ला विजेतालाई ओझेलमा पर्ने गरेको उनको विचार छ ।

‘हाम्रो समयमा अहिलेजस्तो धेरै अवसर थिएन । एउटै प्लेटफर्ममा भर पर्नुपर्थ्यो’, उनी भन्छन्, ‘अहिले धेरै अवसर छन् । विजेता बनेको फिल्ड छोडेर अन्त सक्रिय भएको पनि हुनसक्छ ।’

सुरेश पौडेल र सन्तोष पन्त भन्दा भिन्न धारणा छ सङ्गीतकार अर्जुन पोखरेलको । रियालिटी शोका विजेता सीमित व्यक्तिबाट छानिने भएकाले पनि बाहिर आएपछि धेरैसँग प्रतिस्पर्धा गर्न नसकेर हराउने गरेको पोखरेलको धारणा छ ।

‘सबै रियालिटी शोका विजेता सबैभन्दा उत्कृष्ट हैन । ऊ त्यही रियालिटी शोमा भिडेका व्यक्तिमा उत्कृष्ट हो’, पोखरेलले भने, ‘बाहिर त ठुलो मासमा प्रतिस्पर्धा गर्नुपर्छ ।’

रियालिटी शोमा विभिन्न कारणले उत्कृष्ट फालिएर अर्कोले जित्नसक्ने जोखिम पनि रहने पोखरेल सुनाउँछन् । ‘विजेता पनि बजारमा नचल्न सक्छ । त्यो नेपालमा मात्र होइन, विदेशमा पनि यस्तै हो’, पोखरेल थप्छन्, ‘अर्को कुरो, विजेता बन्न गरेको जस्तो मेहनत त्यसपछि गर्दैनन् ।’

उनीहरूले विजेता बन्न भन्दा बजारमा भिज्न अझ बढी धेरै प्रतिस्पर्धा हुने बुझ्न जरुरी रहेको पोखरेलको भनाइ छ ।

‘एउटा रियालिटी शोले एक मानिस एक समय विजेता बनाउँछ सक्छ’, पोखरेल भन्छन् ‘क्रिएटरले त्यो व्यक्तिलाई धेरै समय चम्काउन सक्छ । त्यो बुझाइ उनीहरूमा छैन ।’

कतिपय मानिस विजेता भएपछि सबै थोक पाएँ भन्ने घमन्डले समेत बिग्रिने गरेको पोखरेल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप