आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जयशंकरले के भने ?

बिहीबार, २० असार २०८१, ११ : ४९
बिहीबार, २० असार २०८१

आस्ताना । लद्दाखमा भारत र चीनबिच सीमा तनाव जारी छ । तनावका बीचमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबिच बिहीबार कजाकिस्तानको राजधानी अस्तानामा भेटवार्ता भएको छ ।

शांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै जना कजाकिस्तान पुगेका हुन् । ‘आज बिहान अस्तानामा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट भयो ।’ भेटबारे ट्वीटरमा जानकारी दिँदै विदेशमन्त्री जयशंकरले भने ।

‘सीमा विवाद सम्बन्धी मुद्दाको चाँडो समाधानका लागि छलफल भएको छ । यस दिशामा कूटनीतिक र सैन्य माध्यमबाट प्रयास दोब्बर बनाउने सहमति भएको छ ।’ ट्विटमा भनिएको छ । वास्तविक नियन्त्रण रेखाको सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति र सद्भाव सुनिश्चित गर्न महत्त्वपूर्ण भएको पनि उनले बताएका छन् । पारस्परिक सम्मान, आपसी संवेदनशीलता र पारस्परिक हितले द्विपक्षीय सम्बन्धलाई निर्देशित गर्ने ट्विटमा भनिएको छ ।

एससीओको २४औँ बैठक जुलाई ४ मा भइरहेको छ । एससीओको बैठकमा भाग लिन चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि कजाकिस्तानमा छन् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने त्यसमा सहभागी भएका छैनन् ।

उनको स्थानमा भारतको नेतृत्व गर्दै विदेशमन्त्री एस. जयशंकर कजाकिस्तान पुगेका हुन् । संसदको अधिवेशनका कारण मोदी एससीओमा सहभागी नहुने आधिकारिक विज्ञप्तिमा भनिएको छ ।

दक्षिण एसियाको राजनीतिमा नजर राख्ने विज्ञहरूले भने मोदी कजाकस्तान नजानुको कारण उनले सी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग एउटै मञ्चमा उभिन नचाहनु भएको बताइरहेका छन् । चीन र पाकिस्तानसँग भारतको सम्बन्ध लामो समयदेखि बिग्रँदै आएको छ । प्रधानमन्त्री मोदी अर्को साता रुसको भ्रमणमा जाँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप