आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बाइडेनलाई उम्मेदवारी छाड्ने दबाब बढिरहँदा महत्त्वपूर्ण घोषणा

बिहीबार, २० असार २०८१, ११ : ३७
बिहीबार, २० असार २०८१

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपति चुनावबाट नबाहिरिने र डेमोक्रेटिक पार्टीको उम्मेदवार आफैँ भएको बताएका छन् । बुधबार बाइडेनले वरिष्ठ डेमोक्र्याट र आफ्ना चुनाव प्रचार प्रसार अभियानका सहयोगीहरूलाई शान्त पार्ने प्रयास गरेका थिए । गतहप्ता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कमजोर बहसका कारण उनले उम्मेदवारी छोड्ने विचार गरिरहेको भन्दै समाचार बाहिर आएका थिए ।

२०२४ को राष्ट्रपति चुनावमा ट्रम्पसँगको पहिलो बहसमा बाइडेन प्रभावकारी देखिएनन् । त्यसैले बाइडेनको मानसिक स्वास्थ्यबारे प्रश्न समेत उठेको थियो भने उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेनलाई प्रतिस्थापन गर्न सक्ने अड्कलबाजी तीव्र भएको थियो । राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइट हाउसमा खाजा खाएपछि ती अनुमानलाई थप बल पुगेको थियो । 

अब आफू राष्ट्रपतिको चुनावको दौडमा रहिरहने बाइडेनले स्पष्ट पारेका छन् र कमला ह्यारिसले पनि यस कुरालाई समर्थन गरेकी छिन् । ‘म डेमोक्रेटिक पार्टीको उम्मेदवार हुँ र मलाई कसैले पनि हटाइरहेको छैन । म आफ्नो उम्मेदवारी त्याग्दिन’ बाइडेनको भनाई उद्धृत गर्दै बीबीसीले समाचार छापेको छ । 

यसको केहि घण्टापछि राष्ट्रपति निर्वाचनका लागि कोष जुटाउने अभियानमा बाइडेन र ह्यारिसले सोही कुरा दोहोर्‍याएका थिए । बाइडेनले ई–मेलमा भनेका छन्, ‘म स्पष्ट शब्दमा भन्न सक्छु कि म चुनाव लडिरहेको छु । म अन्तिमसम्म यो दौडमा रहनेछु ।’

बाइडेनको उम्मेदवारीमाथि किन उठिरहेको छ प्रश्न ?

गएको हप्ता डोनाल्ड ट्रम्पसँगको बहसपछि ८१ वर्षीय बाइडेनले आफ्नो चुनावी अभियानलाई निरन्तरता राख्लान् कि नराख्लान् भन्ने प्रश्न उठिरहेको छ ? यस बहसमा बाइडेनको आवाज कमजोर थियो, उनलाई धेरै विषयमा जवाफ दिन समस्या भएको थियो र उनको जवाफ बुझ्न पनि गाह्रो भइरहेको थियो ।

यो बहसपछि डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारीमा उनको स्वास्थ्य र चुनाव जित्ने क्षमतालाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ । अधिकांश सर्वेक्षणका अनुसार राष्ट्रपतिको चुनावमा रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्प अगाडि देखिएपछि बाइडेनमाथि चुनावी अभियानबाट बाहिरिने दबाब पनि बढ्दै गएको छ ।

बाइडेन र ट्रम्पबिचको बहसपछि बुधबार न्यूयोर्क टाइम्समा प्रकाशित सर्वेक्षणमा बाइडेनभन्दा ट्रम्प ६ अंक अगाडि थिए । अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीसी न्यूजले गरेको सर्वेक्षणअनुसार महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पले बाइडेनसँग तीन अंकको अग्रता लिएका छन् । यस सर्वेक्षणका अनुसार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय स्तरमा अग्रस्थानमा छन् । डेमोक्रेटिक पार्टीका केही दाता र सांसदहरूले बाइडेनलाई उम्मेदवारीबाट अलग हुन सार्वजनिक रूपमै अपिल गरेका थिए । जसले बाइडेनका लागि यो चुनाव झनै कठिन बनाएको छ । 

डेमोक्रेटिक पार्टीभित्र पनि आशङ्का

अमेरिकी कांग्रेसका अन्य दुई डेमोक्रेटिक सांसदहरूले पनि पार्टीको शीर्ष पदमा परिवर्तनको माग गरेका छन् । पार्टीले अरू कसैलाई हेर्ने समय आएको एरिजोनाको प्रतिनिधित्व गर्ने राहुल ग्रिजाल्भाले न्यूयोर्क टाइम्सलाई भनेका थिए । यसका बाबजुद, ह्वाइट हाउस र बाइडेनको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूले बाइडेनले आफ्नो भविष्यको बारेमा विचार गरिरहेको रिपोर्टलाई अस्वीकार गरेका छन् ।

नोभेम्बर पाँचमा हुने चुनावमा दोस्रोपटक ट्रम्पलाई हराउन बाइडेन कटिबद्ध रहेको उनीहरूको भनाई छ । राष्ट्रपतिको दौड जारी राख्ने वा नराख्ने भनेर विचार गरिरहेका बाडेनले एक अज्ञात सहयोगीलाई भनेको भन्दै बुधवार न्यूयोर्क टाइम्स र सीएनएनले समाचार छापेको थियो । चुनावमा आफ्नो पुनः जीत खतरामा परेको आफूले महसुस गरेको बाइडेनले उनका सहयोगीलाई बताएको समाचारमा भनिएको छ ।

आफ्नो आगामी अन्तरवार्ता र शुक्रबार विस्कन्सिनमा हुने र्‍याली चुनावी अभियानका लागि धेरै महत्त्वपूर्ण रहेको पनि बाइडेनले सहयोगीलाई बताएका भनिएको छ । तर ह्वाइट हाउसका प्रवक्ताले यी समाचारहरूलाई पूर्णतया झुटो भनेका छन् । यसअघि, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले बाइडेनको दौडमा निरन्तरताको बारेमा धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो ।

कमला ह्यारिसको नामको चर्चा

ह्वाइट हाउसका प्रवक्ताका भन्छन्– ‘जो बाइडेन चुनावबाट अलग भएको समाचार गलत हो । हामीले यसबारे राष्ट्रपतिलाई पनि सोधेका थियौं र राष्ट्रपति बाइडेन आफैँले भनेका छन् कि यो बिल्कुल गलत हो ।’ जो बाइडेनले बुधबार क्यालिफोर्नियाका गेभिन न्यूजम र मिशिगनका ग्रेचेन ह्वाइटमरलगायत देशभरका २० प्रजातान्त्रिक गभर्नरहरूसँग भेटघाट गरेका थिए । बाइडेन राष्ट्रपति चुनावबाट पछि हट्छन् भने यी दुवैलाई डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिन्छ ।

‘राष्ट्रपति बाइडेनले हामीलाई साथ दिएका छन् र हामी उनको साथमा रहनेछौँ ।’ 

यस बैठकपछि मेरिल्याण्डका गभर्नर वेस मूरले पत्रकारहरूसँग कुरा गर्दै भने । न्यूयोर्कका गभर्नर क्याथी होचुलले दुई दर्जन गभर्नरले राष्ट्रपतिलाई भेटेर सहयोग गर्ने वाचा गरेको बताइन् ।  क्याथीका अनुसार बाइडेनले आफू चुनाव जित्न तयार रहेको समेत बताएका छन् । यद्यपि, उपराष्ट्रपति कमला ह्यारिसलाई बाइडेनको ठाउँमा आउने सबैभन्दा बलियो उम्मेदवार मानिन्छ ।

५९ वर्षीय ह्यारिसलाई कमजोर अनुमोदन रेटिंगका कारण घाटा भएको थियो । तर बाइडेन–ट्रम्पबिचको पहिलो बहस पछि डेमोक्रेटिक पार्टीभित्र उनको समर्थन बढेको छ । उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन–ट्रम्प बहस लगत्तै सीएनएनमा एक अन्तरवार्ता दिएकी थिइन् । यस क्रममा उनले राष्ट्रपति बाइडेनलाई पूर्ण समर्थन गर्दै आफ्नो धैर्यको परिचय दिएकी थिइन् । उनी राष्ट्रपतिको चुनावी अभियानका लागि सडकमा रहिरहने ह्यारिस निकट स्रोतले बीबीसीलाई भनेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप