आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
सत्ता गठबन्धन परिवर्तन

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा

बिहीबार, २० असार २०८१, ११ : २२
बिहीबार, २० असार २०८१

मकवानपुर । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारमाथि पनि सङ्कट देखिएको छ । केन्द्रीय तहमा एमाले–कांग्रेस गठबन्धन निश्चित बनेसँगै नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको हो ।

एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल नयाँ समीकरण निर्माण भएसँगै अल्पमतमा परेका छन् । नयाँ सत्ता समीकरणमा बागमती प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ ।

केन्द्रमा नयाँ गठबन्धन र सरकार बनेपछि प्रदेशमा समेत त्यसको प्रभाव पर्दै आएको छ । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि चैत १० मा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि ०८० चैत १९ मा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।

सत्ता समीकरण परिवर्तनपछि कांग्रेस र एमाले सम्मिलित सरकार बनेपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको माओवादी केन्द्र प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । यद्यपि, अहिलेसम्म प्रदेश सरकार परिवर्तनका विषयमा प्रदेशमा नेतृत्व गर्ने दलहरूले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरू केन्द्रमा हुने घटनाक्रमका आधारमा प्रदेशमा पनि गतिविधि बढाउने तयारीमा छन् । जसका कारण मुख्यमन्त्री जम्कट्टेललाई केही राहत मिल्ने देखिन्छ ।

जम्कट्टेलको सत्ता नेतृत्वको यात्रा

गत २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेल समीकरण परिवर्तनसँगै ३ पटक सरकार जोगाउन सफल भए । पहिलो पटक २०७९ माघ ३ मा सो गठबन्धनबाट विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेलको लोकप्रियता निरन्तर खस्कदै गएको देखिन्छ ।  माघ ३ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका उनले राप्रपा र एमालेसँगको सहयात्रा टुङ्गिएपछि २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए ।

करिब १ वर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । फागुन २३ मा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिए । सो समयमा उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।

सत्ता गठबन्धन परिवर्तनसँगै पटक पटक सङ्कटको सामना गरेका मुख्यमन्त्री जम्कट्टेल यसपटक भने निकै अप्ठ्यारोमा परेका छन् । सोमबार राति बनेको कांग्रेस र एमालेको गठबन्धनका कारण उनको मुख्यमन्त्री पद धरापमा परेको हो । नयाँ समीकरण अनुसार अघि बढ्दा छिटै नै प्रदेशको सत्ताको चाबी उनको हातबाट खोसिने निश्चित छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् । बागमती प्रदेश सभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।

यस्तै, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप