आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
जगरनाथपुर हत्या प्रकरण

झारफुकका लागि घरमा बोलाएर आफ्नै काका र उनको साथीको हत्या

बिहीबार, २० असार २०८१, १० : ५२
बिहीबार, २० असार २०८१

 

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा २३ दिन अगाडि भएको २ जनाको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पक्राउ परेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोष प्रसाद कुम्हार र महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार यी तीन जनासहितको टोलीले गत जेठ २९ मा बारा कलैयाका रामएकवाल पण्डित कुम्हाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैया बस्दै आएका सुरेश ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार घटनास्थलबाट बरामद कागजातको अनुसन्धान पश्चात हत्यारा पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप भइ अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्याका कारण

गत जेठ २९ गते प्रहरीलाई जगरनाथपुर गाउँपालिका नजिक नेपाल–भारत सीमामा पर्ने ओरिया खोला नजिक खाली जग्गामा २ शव गाडिएको सूचना आयो । लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर २ वटै शवलाई निकाल्यो ।

प्रहरीको विशेषज्ञ टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान तथा अन्य सबुतप्रमाण सङ्कलन गर्न लाग्यो । यही क्रममा प्रहरीले घटनास्थलबाट मृतकको पहिचान खुल्ने केही कागजात फेला पा¥यो । फेला परेको उक्त कागजातको अनुसन्धानबाटै प्रहरीले मृतकद्वयको पहिचान गर्नुका साथै हत्यामा संलग्नहरुको ‘क्लु’ समेत पायो ।

अनुसन्धानका क्रममा प्रहरीले पाएको प्राविधिक ‘क्लु’ बाटै तीनै जना पक्राउ परेको पर्सा प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।

पक्राउ परेकामध्ये मुख्य योजनाकार भनिएका लक्ष्मण प्रजापतिले प्रहरीसमक्ष बयान दिँदै आफ्नो बुबा, भतिज र घरमा पालिएका चौपाया एकपछि अर्को गर्दै मर्न थालेपछि काका (रामएकवाल पण्डित कुम्हाल)ले जादुटुना गरेको आशंकाका साथ हत्याको योजना बनाएको बताएका छन् ।

‘त्यो योजना मैले आफ्नो भिनाजु सन्तोष कुमारलाई सुनाएँ, त्यसपछि भिनाजुले उहाँलाई मारिएन भने अन्य बाँकी रहेको परिवारका मान्छेलाई जादुटुना गरेर मार्नु हुन्छ भन्नुभयो,’ लक्ष्मणले दिएको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘अनि त्यसपछि हामी दुवै जना संयुक्त रूपमा योजना बनाएर काकालाई मार्ने निचोडमा पुग्यौँ ।’

काका रामएकवाललाई मार्ने योजना ४ महिना पहिला बनाएको लक्ष्मणले प्रहरीसमक्ष बताएका छन् । बयानमा उनले भनेका छन्, ‘हामीले योजना बनाइसकेपछि भिनाजुले मार्ने समूहसँग भेटघाट गर्नुभयो, त्यसपछि उनीहरूसँग ८ लाख रुपैयाँमा सम्झौता भयो । त्यसअनुसार हामीले पैसा पनि दियौँ । अनि उनीहरूले काकालाई आफ्नो घरमा झारफुक गराउने बहाना बनाएर बोलाउन थाले ।’

योजनाकार लक्ष्मणका अनुसार झारफुकका लागि काकालाई बोलाइएको तर उनले साथीलाई पनि सँगै लिएर पुगे । ‘त्यसपछि घटनाबाहिर जान्छ भनेर हामीले काकाको साथीलाई पनि मार्ने निर्क्यौल ग¥यौँ, त्यही अनुसार काकाले लगाएको गम्छाले नै घाँटी कसेर मारेका हौँ,’ प्रहरीमा उनको बयान छ ।

प्रहरीका अनुसार हत्याका लागि दिइएको ८ लाख रुपैयाँमध्ये ४ लाख लक्ष्मणले र ४ लाख सन्तोषले दिएका हुन् ।  जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकैबाट दुवै जनाको शव गाडेको अवस्थामा फेला परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप