आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
ठगी

कन्सल्टेन्सीको ठगी धन्दा, युरोप पठाउने नाममा ३०० युवाबाट ८ करोड ठगी

बिहीबार, २० असार २०८१, १० : ४५
बिहीबार, २० असार २०८१

काठमाडौँ । युरोपका विभिन्न देश पठाइदिने भन्दै एक कन्सल्टेन्सीबाट झन्डै तीन सय युवा ठगिएका छन् । इटहरीमा रहेको इष्ट टु वेष्ट ह्युमन रिसोर्स हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर (ईटूडब्ल्यू) ले युरोपका विभिन्न देशमा पठाइदिने भन्दै करिब तीन सय युवाबाट ८ करोड रुपैयाँ बराबरको रकम ठगी गरेको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा २०८० साउन १५ मा दर्ता भएको कम्पनीले माल्टा, पोल्यान्ड, सर्बिया, क्रोएसिया, हंगेरी, ग्रीस लगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति ४० हजारदेखि चार लाख रुपैयाँसम्म असुल गरेर कम्पनी सञ्चालक फरार भएका छन् ।

त्यसरी पैसा बुझाउनेमध्ये धेरैजसो सर्बिया र पोल्यान्ड जान खोज्नेहरू छन् । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको उक्त कम्पनी वैदेशिक रोजगार विभागमा भने दर्ता भएको देखिँदैन ।

कतारमा केन्द्रीय कार्यालय रहेको भन्दै उक्त कम्पनीले नेपालका काठमाडौँ, इटहरी, बुटवल र चितवनमा गरी चार वटा शाखा खोलेको थियो । उक्त रकम उठाएर कम्पनीको इटहरी शाखा प्रमुख विक्रम बराइली भनिने बलबहादुर विश्वकर्मा दुबईमा लुकेर बसेको पीडितहरूको आरोप छ ।

सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी र विभागलाई पत्राचार गरेको थियो ।

उनले आफ्ना छोरा अमित बराइली, राजुकमार गजमेरसहित संलग्नतामा इटहरीको शाखाबाट तीन सय युवालाई ठगी गरेको पाइएको हो । ठगिएकामध्ये २६० जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।

वैदेशिक रोजगार विभागमा तीन जनाको नाममा ठगीको उजुरी परेको छ । उजुरीको आधारमा विभागले मुद्दा दर्ता गरेर सञ्चालकमाथि अनुसन्धान थालेको छ । विभागको अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक गोविन्द प्रसाद हुमागाईंले मुद्दा दर्ता भएर सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए ।

इटहरीमा रहेको शाखा कार्यालयमा श्रम तथा रोजगार कार्यालय विराटनगरले सिल गरेको छ । विभागको तीन जनाको नाममा उजुरी परेको र उनीहरूले थप २६० जनाको सूची पेस गरेको बताइएको छ । विभागलाई बुझाएको विवरण अनुसार ईटूडब्ल्यूले युवाहरूबाट ४० हजार, १ लाख, २ लाख, ३ लाख, ४ लाख रुपैयाँसम्म लिएको छ ।  

उक्त कम्पनीले गत वर्षदेखि नै पैसा उठाउँदै आएको थियो । त्यसरी उठाएको पैसा नगदमै तथा बैंक खातामार्फत उठाउने गरेको पाइएको छ । युवाहरूले एनआईसी एशिया, लक्ष्मी सनराइज, मुक्तिनाथ विकास बैंकलगायत विभिन्न ८ वटा बैंक खातामा पैसा जम्मा गरेको पीडितहरूले बताएका छन् । पैसा जम्मा गरेको एक वर्ष हुँदासमेत विदेश पठाउनुको साटो सञ्चालक सम्पर्कमा नआएपछि युवाहरू इटहरीमा रहेको कार्यालय घेराउ गरेका थिए ।

सम्पर्कमा नआएपछि गत असार ८ गते पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी र विभागलाई पत्राचार गरेको थियो ।

CDO letter

कम्पनीको इटहरी शाखाका सहायक प्रबन्धक राजकुमार गजमेर, अकाउन्टेन्ट अमित बराइली, काउन्सिलर गोपी कार्की, ट्रेनिङ इन्चार्ज मनिष बराइली, कम्प्युटर अपरेटर सुवास ताजपुरिया, रिसेप्सनिष्टद्वय निशा रसाइली र लक्ष्मी विक तथा कर्मचारी लक्ष्मीप्रसाद नेपालविरुद्ध पीडितहरूले उजुरी दिएका थिए ।

धेरै जसो युवाहरू हमालले नै उद्घाटन गरेको कार्यालय भन्दै विश्वासमा परेको गोश्वामीले बताए । बराइलीले इटहरीमै ईटूडब्ल्यू डान्स सेन्टर खोल्दै त्यसमा डान्स सम्बन्धीको कार्य समेत गर्दै आएको पाइएको छ ।

अमित बराइलीको एनआईसी एसिया बैंकको खातामा पीडितहरूले पैसा जम्मा गरेको पाइएको छ । राजकुमार गजमेरको लक्ष्मी सनराइज बैंकमा विभिन्न मितिमा पैसा जम्मा गरेर ईटूडब्ल्यूएचआर कतारको कम्पनीको रसिद दिने गरिएको थियो ।

सविन भट्टराई, मिथलेश गोश्वामी र अनिल पौडेलले असार १२ गते विभागमा उजुरी दिएका हुन् । उनीहरूले तीन जनाबाट सात लाख ठगिएको र सो बापतको हर्जानासहितको साढे १० लाख रुपैयाँ फिर्ता पाउन माग गर्दै उजुरी दिएका हुन् ।

ujuri 1

उक्त कम्पनीको केन्द्रीय कार्यालय कतारमा रहेको बताइएको छ । जसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् राहुल शर्मा । उनले कतारमा बसेर विभिन्न २१ वटा देशमा २५ शाखा खोलेर ठगी धन्दा चलाइरहेको पाइएको पीडितहरूले बताएका छन् ।

पीडित एक युवा मिथलेश गोश्वामीले युरोपका विभिन्न देशमा जान ३५ लाख रुपैयाँसम्म लागत लाग्ने भन्दै सुरुवातमा जति पैसा दियो, त्यति नै सङ्कलन गर्दै गएको बताए । किस्ता किस्तामा नगद तथा विभिन्न व्यक्तिको बैंक खातामा पैसा जम्मा गर्न लगाएको उनको भनाइ छ ।

यसमा रोचक कुरा के छ भने उक्त कम्पनीको उद्घाटनमा चलचित्र अभिनेता राजेश हमाललाई बोलाएको थियो । त्यही आधारमा कम्पनीले सामाजिक सञ्जालमा प्रचार प्रसार गर्दै आएको थियो । सन् २०२३ अगस्ट ३ मा इटहरी शाखाको उद्घाटन गरिएको थियो । उक्त शाखाको उद्घाटनमा हमाललाई बोलाइएको थियो । कार्यक्रममा हमालको साथमा उनकी पत्नी मधु भट्टराईको समेत उपस्थिति थियो । धेरै जसो युवाहरू हमालले नै उद्घाटन गरेको कार्यालय भन्दै विश्वासमा परेको गोश्वामीले बताए । 

पीडितहरूले कतारस्थित केन्द्रीय कार्यालयमा समेत यसरी नै ठगी गर्ने गरेको बताएका छन् । ‘यत्रो महिना भयो । विदेश पठाउने भनेर पैसा लियो । पैसा दिएपछि भोलि हुन्छ, पर्सी हुन्छ भनेर दिनदिनै समय सार्दै गयो । अहिले त सम्पर्कमै आएन,’ एक पीडितले भने ।

पीडितहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत उजुरी दिएका थिए । उनीहरूले मन्त्री डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै आफूहरू ठगिएको बताएका थिए । मन्त्री अर्यालको सचिवालयले विभागलाई पत्राचार गर्दै उजुरीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो । विभागले आवश्यक कागजात मगाएर प्रमुख प्राथमिकताका साथ छानबिन थालेको जनाएको छ ।

विभागका निर्देशक हुमागाईंले सञ्चालकसहित सबै सम्पर्क बाहिर रहेकाले पक्राउ पुर्जी जारी गरेर प्रहरीमार्फत खोजी गरिने बताए । पक्राउ परेपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने बताउँदै उनले प्राथमिकताका साथ जाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप