आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डसँग १६ महिना अघिको धोकाको बदला लिए ओलीले

धोका पाएका कांग्रेस–एमाले मिल्दा प्रचण्ड तनावमा
बिहीबार, २० असार २०८१, २३ : २१
बिहीबार, २० असार २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १६ महिनाअघि अपमानजनक सत्ता बहिर्गमनको बदला लिएका छन् । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनपछि पुस १० गते ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । तर प्रचण्डले दुई महिनामै ओलीसँगको सम्बन्ध ब्रेक गरी कांग्रेससँग सहकार्य गर्न पुगे ।

यतिसम्म कि जेनेभा भ्रमणमा जान लागेकी तत्कालीन परराष्ट्रमन्त्री डा. विमला पौडेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा रोकियो । प्रचण्डको व्यवहारबाट क्रुद्ध बनेका ओलीले तुरुन्तै समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएका थिए ।

हनिमुन (मधुमास) समय (सय दिन) पनि पूरा नभइ गठबन्धन तोडेकोमा क्रुद्ध भएका ओलीले प्रचण्डको अपमानजनक व्यहारको बदला लिने गरी योजना बनाएको प्रचण्ड निकट नेताहरूको बुझाइ छ । सत्ता समीकरण भत्काउन मुख्य भूमिका खेलेका कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच पानी बाराबारकै स्थिति थियो । देउवा र ओलीबिच देखिएको तिक्ततापूर्ण सम्बन्धको फाइदा उठाउँदै प्रचण्डले गत फागुन २१ गते कांग्रेससँगको ११ महिने सम्बन्ध तोडे ।

प्रचण्ड फेरि एमालेसँग मिल्न आइपुगे । यसलाई राजनीतिक उथलपुथलको शृङ्खलाका रूपमा व्याख्या गरेका प्रचण्डले बाचुन्जेल यस्तो उथलपुथल जारी राख्ने बताएका थिए । ०८४ सम्म कांग्रेस र एमाले मिल्न नसक्ने अनुमान गरेका उनले माओवादीले प्राप्त गरेको ३२ सिटलाई जादुयी नम्बर भएको दाबी गरेका थिए । ताल परे पाँचै वर्ष आफूले सरकार चलाउने सार्वजनिक अभिव्यक्ति उनले दिएका थिए ।

संसदबाट बजेट अनुमोदन भएपछि ढुक्क देखिएका प्रचण्ड एमालेसँग मिलेर गठबन्धन बनाएको करिब चार महिनामै सत्ता विमुख हुने अवस्थामा पुगेका छन् । तेस्रो पटक सत्ता समीकरण बदलेर फागुन ३० मा संसदमा विश्वासको मत फेस गरेका प्रचण्डलाई कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदबाटै ‘धोका पाएका कांग्रेस र एमाले मिले भने तपाईंको हालत के हुन्छ’ भनेर प्रश्न गरेका थिए ।

माओवादीसँगको सहकार्य तोडेर ओलीले पुरानो धोकाको बदला लिएका छन् । असार १७ गते राति एमाले र कांग्रेसबिच संविधान संशोधनसहित सत्ता सहकार्यको सहमति भइसकेको छ । सहमतिसँगै ९ वर्षपछि प्रचण्ड प्रमुख प्रतिपक्षी बेन्चमा पुग्ने बाटोमा छन् । कहिले एमाले, कहिले कांग्रेससँग काँध थाप्ने र फेर्ने प्रचण्डको म्याजिक नम्बर यसपटक फेल खाएको छ ।

पछिल्लो समय संसदीय राजनीतिका माहिर खेलाडी देखिएका उनी सत्ता राजनीतिबाट पछारिएपछि अब के गर्लान् भन्नेमा सबैको चासो छ । प्रचण्डले नैतिकताको आधारमा राजीनामा नदिए राष्ट्रपतिमार्फत अपदस्थ गर्ने तयारीमा कांग्रेस र एमाले छन् ।

कांग्रेस–एमाले समीकरणमा ओलीले ‘केही होइन’ भनेर ढाँटिरहे

सत्ता समीकरण फेरबदल गर्ने पछिल्लो कसरतमा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेसका नेता रमेश लेखकले मुख्य भूमिका खेलेका थिए ।  कांग्रेसका एक नेताका अनुसार क्याप्टेन रामेश्वर थापाको घरमा असार १३ अघि नै देउवा र ओलीको भेट भएको थियो । देउवा–ओलीको निर्देशनमै आफूहरूले सहमतिको खाका कोरेको ती नेताको दाबी छ ।

संविधान संशोधन, सरकार गठन, नेतृत्व लगायत विषयमा प्रारम्भिक छलफल भएपछि असार १५ गते दिउँसो देउवा र ओलीबिच बालकोटमा तीन घण्टा छलफल भएको थियो । देउवा–ओली भेटले बालुवाटारमा हलचल आएपछि १६ गते प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा ओलीलाई  बोलाएर चासो व्यक्त गरेका थिए । कांग्रेसले तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरेको हो भन्ने प्रश्नको जवाफमा ओलीले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफू प्रधानमन्त्री नबन्ने स्पष्ट पारेको अर्थमन्त्रीसमेत रहेका माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

भेटवार्तामा प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्ने भए यही गठबन्धनबाट बन्नोस्, म भोलि नै राजीनामा दिन्छु भनेरसमेत प्रस्ताव गरेको पुनको दाबी छ । सत्ता समीकरण फेरबदलका विषयमा कांग्रेस र एमालेका नेताहरूको तारन्तार भेटवार्ताको सूचना यसअघि पनि प्रधानमन्त्रीलाई आएको तर ओलीले ढाँटेको उनको बुझाइ छ ।

‘बालकोट भेटवार्तापछि आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले ओलीजीलाई बोलाएर कांग्रेसले प्रधानमन्त्री दिन आएको हो भनेर प्रधानमन्त्रीले सोध्नुभयो । जवाफमा ओलीजीले प्रस्ताव आएको तर अहिले गठबन्धन फेर्ने पक्षमा  आफू नभएको भन्नुभयो,’ मन्त्री पुनले भने, ‘ओलीको जवाफपछि त्यसो भए यही गठबन्धनबाट प्रधानमन्त्री बन्नोस्, म भोलि नै राजीनामा दिन्छु भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो । तर हैन अहिले म प्रधानमन्त्री बन्दिनँ, तपाईंकै नेतृत्वमा ०८४ सम्म जाने, निर्वाचनपछि पार्टी एकता गर्ने हो । ठुक्क भएर बसे हुन्छ भनेर आश्वासन दिनुभयो ।’

ओलीको जवाफमा विश्वस्त नभएका प्रचण्डले वर्षमान पुनलाई एमाले महासचिव पोखरेल निवासमै गएर वास्तविकता बुझ्न लगाएका थिए । पुनले पोखरेल लगायत एमाले उपाध्यक्ष विष्णु पौडेल लगायत नेताहरूसँग बुझ्दा समेत केही होइन, अहिलेको गठबन्धनलाई बलियो बलाएर लैजाने भनेर विश्वास दिलाएको पुनले रातोपाटीलाई केही दिन अघि बताएका थिए ।

ओलीका गतिविधिबाट आश्वस्त हुन नसकेका प्रचण्डले असार १७ गते ओलीलाई आफ्नै निवास बालुवाटारमा बोलाएर थप बुझ्ने प्रयास गरेका थिए । बालुवाटार बसाइमा पनि ओलीले केही नभएको भन्दै अहिलेकै गठबन्धन ०८४ को चुनावसम्म जाने विश्वास दिलाएको पुनले सुनाए । तर साँझ ओली निवास बालकोटमा एमाले महासचिव पोखरेल र कांग्रेस नेता लेखक बसेर सहमति पत्रको खाका तयार गरी राति देउवा निवास गएका थिए । मध्यरातमा क्याप्टेन थापाको घरमा पुगेर देउवा र ओलीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

‘स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर ओलीले डुबाए’

रातारात सत्ता समीकरण फेरबदल गरेपछि ओलीसँग आक्रोशित भएका प्रचण्डले मंगलबार बिहान फेरि ओलीलाई बालुवाटार बोलाएका थिए । बालुवाटार पाँच मिनेट बसेका ओलीसामु प्रचण्डले यही गठबन्धनलाई चुनावसम्म लैजाने भनेर के गरेको भनी प्रश्न गरेका थिए । जवाफमा केही नभएको भन्दै ओलीले अब आफूलाई सहयोग गर्न आग्रह गरेको माओवादीका एक पदाधिकारीले बताएका थिए ।

‘हिजोसम्म–स्वर्ग पनि सँगै जाने, नर्क पनि सँगै जाने बताउनु भएको ओलीजीले आज बिहान प्रधानमन्त्रीसँग आफूलाई अब सहयोग गर्न आग्रह गर्नुभएछ,’ ती पदाधिकारीले भने, ‘तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्नुभएको छ ।’

डेढ वर्ष अघि खाना खाने बहानामा बालकोट पुगेका थिए प्रचण्ड

ओलीले मात्र होइन, प्रचण्डले पनि डेढ वर्ष अघि यस्तै नाटक रचेका थिए । २०७९ को तीन तहकै निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेका उनले निर्वाचनपछि पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष प्रस्ताव गरेका थिए । प्रतिनिधि सभा निर्वाचनमा देउवा नेतृत्वको वाम–लोकतान्त्रिक गठबन्धनले १३५ सिट जितेको थियो । कांग्रेसले ८८ सिटसहति पहिलो दल भएको थियो । निर्वाचनपछि तेस्रो दलमा उदाए पनि शक्ति सन्तुलनमा निर्णायक शक्ति बन्नेमा प्रचण्ड ढुक्क देखिन्थे तर ३२ अङ्कमा माओवादी खुम्चियो ।

शक्ति सन्तुलनको हिसाबले संसदीय अंकगणित प्रधानमन्त्री बन्न प्रतिकूल देखिएपछि पहिलो चरणमा प्रधानमन्त्री बन्न प्रचण्ड हतारिएका थिए । प्रधानमन्त्री बन्न चाहेका प्रचण्डलाई राम्रोसँग नोटिस गरेका ओलीले पौडेल,  पोखरेललाई पालैपालो देउवा र प्रचण्डसँग सम्वाद चालाएका थिए । एकातिर देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिने र अर्कोतिर प्रचण्डलाई ढुक्क रहन उनले आग्रह गरेका थिए ।

यता सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको सातदिने म्याद पुस १० गते गुज्रिँदै थियो । सरकार गठनका लागि सोही दिन तत्कालीन प्रधानमन्त्री देउवाले बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए । बैठकमा ठुलो दलको हैसियतले आफू प्रधानमन्त्री बन्न लागेको भन्दै सहयोग गर्न प्रचण्डसमक्ष उनले प्रस्ताव गरेका थिए ।

देउवाको प्रस्ताव अस्वीकार गर्दै प्रचण्डले पहिलो चरणमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफूले छोड्न नसक्ने देउवाले अडान लिएपछि प्रचण्ड बिच्किएका थिए । प्रचण्ड खाना खान खुमलटार जान लागेको भनेर बाहिरिएपछि सिधै ओली निवास बालकोट पुगेका थिए । त्यतिबेला सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रचण्ड खाना खानका लागि निवास गएकाले दिउँसो फेरि बैठक बस्ने जानकारी दिएका थिए ।

तर बालकोटमा एमाले, रास्वपा, राप्रपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि देउवा जिल्लिएका थिए ।

प्रधानमन्त्री भएको दुई महिनामै प्रचण्डले ओलीलाई धोका दिएर फेरि कांग्रेसलाई समर्थन गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति, सभामुख जस्ता महत्वपूर्ण पद आफूले हत्याउने दाउ ओलीको थियो । सभामुखमा एमालेलाई समर्थन गरेका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे ।

फागुन १२ गते राति बालुवाटारमा कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा सत्ता समीकरण फेरबदल भएपछि एमाले सत्ताच्युत भएको थियो । त्यतिबेला सत्ता समीकरण बदल्न माओवादीका उपमहासचिव जनार्दन शर्माले मुख्य भूमिका खेलेका थिए । कांग्रेसका महामन्त्री गगन थापा, रमेश लेखक, ज्ञानेन्द्र कार्कीले पनि भूमिका खेलेका थिए ।

कांग्रेससँग ११ महिना सत्ता सहकार्य गरेका प्रचण्डले फागुन २१ गते सम्बन्ध तोडेर फेरि एमालेसँग सहकार्य गर्न आइपुगेका थिए । कांग्रेस–माओवादी सम्बन्ध भत्काउन एमालेबाट उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले भूमिका खेले । माओवादीबाट उपमहासचिव वर्षमान पुनले  भूमिका खेलेका थिए ।

ओलीसँग सहकार्य गर्न सुरुमा प्रचण्डले चाहेका थिएनन् । ०८४ मा हामी(एमाले–माओवादी)को अवस्था पश्चिम बंगालको कम्युनिस्ट जस्तै हुने भयो, ०८४ सम्म यही गठबन्धनलाई लैजाने भन्दै ओलीले प्रचण्डलाई विश्वास दिलाए । निर्वाचनपछि पार्टी एकता गर्नेसम्मको योजना ओलीले सुनाएपछि प्रचण्ड कन्भिन्स भएको माओवादीका एक पदाधिकारीको दाबी छ । डेढ वर्षमा तीन पटक उथलपुथल ल्याएका प्रचण्ड योपटक आफैँ फसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप