आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय
युरोकप

जारी युरोकपमा रोनाल्डोदेखि मोड्रिचसम्मको नाममा लेखिएका यी कीर्तिमान

बिहीबार, २० असार २०८१, ०९ : ५१
बिहीबार, २० असार २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलमा विश्वकपपछि सर्वाधिक चर्चामा रहने प्रतियोगिता युरोकपको १७ औँ संस्करण हाल जर्मनीमा जारी छ । प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणको खेल सकिएका छन् । शुक्रबारदेखि क्वार्टरफाइनल खेल सुरु हुँदैछ ।

युरोकपको १७ औँ संस्करणमा बलिया टोलीहरू नै क्वार्टरफाइनलमा पुगेका छन् । स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इङ्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स र टर्कीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । पूर्वविजेता चेक गणतन्त्र भने समूहगत चरणबाटै घर फर्किएको छ ।

यसैगरी पूर्वविजेता स्लोभाकिया र डेनमार्क भने प्रि–क्वार्टरफाइनल चरणमा पराजित भएका छन् । जारी युरोकपमा प्रि–क्वार्टरफाइनल चरणको खेल सकिँदासम्म केही कीर्तिमान पनि बनेका छन् । युरोकपको जारी संस्करणमा बनेका केही कीर्तिमानको बारेमा यहाँ चर्चा गरिएको छ ।

  • सबैभन्दा कम उमेरमा युरोकप खेल्ने लामिन यामल (स्पेन)

स्पेनका लामिन यामल सबैभन्दा कम उमेरमा युरोकप खेल्ने खेलाडी बनेका छन् । समूहगत चरणमा सम्पन्न स्पेन र क्रोएसियाबिचको खेलमा उनी टोलीका सदस्य थिए । क्रोएसिया विरुद्धको उक्त खेलमा उनको उमेर १६ वर्ष तीन सय ३८ दिन पुगेको थियो ।

त्यो खेलमा स्पेन ३–० गोलले विजयी भएको थियो । त्यसअघि सबैभन्दा कम उमेरमा युरोकप खेल्ने कीर्तिमान पोल्यान्डका कास्पर कोजलोवस्कीको नाममा रहेको थियो । कास्परले १७ वर्ष दुई सय ४६ दिनको उमेरमा युरोकप खेलेका थिए ।

  • युरोकपका सबैभन्दा छिटो गोल गर्ने नदिम बज्रामी (अल्बानिया)

अल्बानियाका नदिम बज्रामीले युरोकप फुटबलको इतिहासमै सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् । उनले जारी युरोकपको समूहगत चरणमा इटालीविरुद्ध खेल सुरु भएको २३औँ सेकेन्डमै गोल गरेर यस्तो कीर्तिमान बनाएका हुन् ।

APTOPIX_Euro_2024_Soccer_Italy_Albania_45871

यसअघि युरोकप फुटबलको इतिहासमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान रुसका दिमित्री किरिचेन्कोको नाममा रहेको थियो । दिमित्री सन् २००४ को युरोकपमा खेल सुरु भएको ६७ सेकेन्डमा गोल गरेका थिए ।

  • सबैभन्दा बढी उमेरमा युरोकप खेल्ने पेपे (पोर्चुगल)

युरोकपको १७औँ संस्करणमा सबैभन्दा बढी उमेरमा युरोकप खेल्ने खेलाडीको कीर्तिमान पनि तोडिएको छ । यो कीर्तिमान पोर्चुगलका अनुभवी खेलाडी पेपेले आफ्नो नाममा पारेका छन् ।

TOPSHOT-FBL-EURO-2024-MATCH23-TUR-POR_1719102691

जारी युरोकपमा पोर्चुगल र स्लोभानियाबिच प्रि–क्वार्टरफाइनल खेल हुँदा पेपे टोलीका सदस्य थिए । त्यो खेल हुँदा पेपेको उमेर ४१ वर्ष एक सय २६ दिन पुगेको थियो । उनले हंगेरीका गोलरक्षक गाबोर किरालीकोको कीर्तिमान ताडेका हुन् । गाबोरले सन् २०१६ मा ४० वर्ष ८६ दिनमा युरोकप खेलेका थिए ।

  • सबैभन्दा बढी संस्करण खेल्ने रोनाल्डो (पोर्चुगल)

समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो युरोकपको सबैभन्दा बढी संस्करण खेल्ने खेलाडी बनेका छन् । युरोकप फुटबलमा यो उनको छैटौँ सहभागिता हो ।

उनले सन् २००४ देखि युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । पोर्चुगलकै पेपे र क्रोएसियाका लुका मोड्रिचले पाँच–पाँच पटक युरोकप खेलेका छन् ।

  • सबैभन्दा बढी उमेरमा गोल गर्ने लुका मोड्रिच (क्रोएसिया)

युरोकप फुटबल प्रतियोगितामा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि यही संस्करणमा बनेको छ । क्रोएसियाका लुका मोड्रिड युरोकपको इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बनेका हुन् ।

17188132323956

समूहगत चरणअन्तर्गत इटालीविरुद्धको खेलमा गोल गर्दै मोड्रिचले यस्तो कीर्तिमान बनाएका हुन् । इटालीविरुद्ध गोल गर्दा उनको उमेर ३८ वर्ष दुई सय ८९ दिन थियो । यसअघि यस्तो कीर्तिमान अस्ट्रियाका इभिका भास्तिचको नाममा थियो । सन् २००८ को युरोकपमा पोल्यान्डविरुद्ध गोल गर्दा इभिकाको उमेर ३८ वर्ष दुई सय ५७ दिन थियो ।

  • सबैभन्दा ढिलो गोल गर्ने केभिन कोसोबोथ (हंगेरी)

हंगेरीका केभिन कोसोबोथ युरोकप फुटबलको इतिहासमा नियमित समयको खेलमा सबैभन्दा ढिलो गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी युरोकपको समूहगत चरणमा स्कटल्यान्डविरुद्ध यस्तो कीर्तिमान बनाएका हुन् ।

1719221748430-97433

उनले स्कटल्यान्डविरुद्धको खेलमा दोस्रो हाफको इन्जुरी समयको १०औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाएका थिए ।

  • एउटै खेलमा सबैभन्दा बढी कार्ड प्रयोगको कीर्तिमान

जारी युरोकपमा सबैभन्दा बढी कार्ड प्रयोगको कीर्तिमान पनि बनेको छ । समूह ‘एफ’ अन्तर्गत चेक गणतन्त्र र टर्कीबिचको खेलका क्रममा रेफ्रीले कुल १९ वटा कार्ड प्रयोग गरेका थिए । त्यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो ।

kXqF2TECT4SFefAKrEDYCF-1200-80

त्यसैले त्यो खेलमा दुवै टोलीका खेलाडी प्राविधिक प्रतिस्पर्धाभन्दा पनि शारीरिक घम्साघम्सीमा ओर्लिएका थिए । त्यसैले खेलका क्रममा रेफ्रीले १९ वटा कार्ड प्रयोग गर्नुपर्‍यो । दुवै टोलीका खेलाडीलाई मिलाएर रेफ्रीले १७ वटा पहेँलो र दुईवटा रातो कार्ड देखाएका थिए ।

टर्कीका खेलाडीले १२ र चेक गणतन्त्रका खेलाडीले सातवटा कार्ड पाएका थिए । त्यसअघि सन् २०१६ को युरोकपमा पोर्चुगल र फ्रान्सबिचको फाइनल खेलमा रेफ्रीले कुल १० वटा कार्ड प्रयोग गरेका थिए । अहिले त्यही खराब कीर्तिमान तोडिएको हो ।

  • अनि, पोर्चुगलका डिएगो कोस्टाको नाममा लेखिएको यो कीर्तिमान

पोर्चुगलका डिएगो कोस्टा युरोकप फुटबलको एउटै खेलमा पेनाल्टी सुटआउटमा सबैभन्दा बढी गोल बचाउने गोलरक्षक बन्न पुगेका छन् । उनले पोर्चुगल र स्लोभानियाबिचको प्रि–क्वार्टरफाइनल खेलका क्रममा पेनाल्टी सुटआउटमा विपक्षीको तीनवटा प्रहारलाई विफल पारेका थिए ।

b805b2495a6eeab6caf78dfb84235527

त्यो खेलमा स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप