शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
सेन्चुरी बैंक घोटाला प्रकरण

‘डुप्लिकेट कर चुक्ता प्रमाणपत्र पेस गर्नुमा ऋणी नै जिम्मेवार’

बिहीबार, २० असार २०८१, ०७ : ५९
बिहीबार, २० असार २०८१

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट रवीन्द्र चौलागाईंले ऋण लिँदा डुप्लिकेट कर चुक्ता प्रमाणपत्र पेस गरेको भेटिएको छ । बैंकका जिम्मेवार अधिकृतहरूसँग मिलेर चौलगाईंले सो कागजात पेस गरेर ऋण लिएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् । 

काभ्रे घर भएका चौलागाईं र उनको परिवारको स्वामित्वमा रहेको पूजा ट्रेडिङ एण्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिलाई तत्कालीन सिइओ मनोज न्यौपाने र तुल्सीराम गौतम समेतले ऋण प्रवाह गरेका हुन् ।

२ अर्ब ३० करोड ऋण प्रवाह गरेको घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले बैंकका तत्कालीन अध्यक्ष समेतका पदाधिकारीलाई गत जेठमा नियन्त्रणमा लिएर हाजिर जमानीमा राखेको छ ।

ऋण लिँदा डुप्लिकेट कर चुक्ता प्रमाणपत्र पेस गर्नुमा ऋणी नै जिम्मेवार हुने सेन्चुरीका तत्कालीन अध्यक्ष राजेश कुमार श्रेष्ठले बताए । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने,‘उहाँले कहाँबाट कस्तो कागजात ल्याएर पेस गर्नुभयो त्यसबारे प्रमाणीकरण गर्ने काम सञ्चालक समितिको होइन, रवीन्द्र चौलगाईं जेलमा हुनुहुन्छ उहाँलाई झिकाएर सोधपुछ गर्दा थाहा हुन्छ ।’ 

सरकारकै निकायबाट जारी भएको कागजात स्वीकार गरेर बैंकका सिइओ र विभागीय प्रमुखहरूले ऋण प्रवाह गरेकोमा सञ्चालक समितिको त्यसमा कुनै भूमिका नहुने श्रेष्ठले बताए । उनले भने–‘अध्यक्षको हैसियतले म बोर्ड बैठकमा सहभागी हुन्थेँ, बैंकमा मेरो कार्यकक्ष समेत नभएको अवस्थामा कागजात परीक्षण गर्ने र ऋण दिनेमा सञ्चालक समितिको भूमिका थिएन ।’ 

कागजात र अडिट रिपोर्ट राष्ट्रबैंकका अधिकारीहरूले पनि हेरेका थिए । तर, बैंक मर्जर भइसकेपछि चौलगाईंले ऋण लिएकोमा त्रुटि देखिएको छ । चौलागाईं देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष हुन् । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्दा बैंकको ऋण प्रवाहको घटना खुलेपछि सिआईबीले अनुसन्धान थालेको हो । उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । 

कम्पनीहरुको वास्तविक कारोबार रकम भन्दा बढी कारोबार भएको देखाउन आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र बनाएर २ अर्ब ३० करोड ऋण लिएको फेला परेको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । डुप्लिकेट कर चुक्ता तयार गरेको विषयमा प्रहरीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । 

बैंकका तत्कालीन सिइओ मनोज न्यौपाने सहित १० जना फागुन १४ मा पक्राउ परेका थिए । उनिहरु १७ दिन पनि तारेखमा थुनामुक्त भएका थिए । 

तत्कालीन बैंक सञ्चालक समितिका सदस्यहरू सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रण बहादुर श्रेष्ठ, राजेश कुमार दली, उमा कुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र क्याड सेक्सन प्रमुख शिव गोपाल रिसाल दोस्रो चरणमा पक्राउ परेर रिहा भएका हुन् । 

चौलागाईंले विभिन्न ठाउँको जग्गा राखेर ऋण लिएका थिए । करिब १ अर्ब रकम बराबर मात्रै धितो राखेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप