शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

नयाँ गठबन्धनपछि गण्डकी : सरकारलाई पर्दैन असर, प्रतिपक्ष इतिहासमै कमजोर

बिहीबार, २० असार २०८१, ०७ : २७
बिहीबार, २० असार २०८१

पोखरा । कुरा गत चैत महिनाको हो, केन्द्रमा माओवादीले कांग्रेसको साथ छोडेपछि हुँदै नभएको बहुमत दाबी गरेर गण्डकीमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत लिँदा सभामुख कृष्ण धितालले ३० सिटलाई बहुमत घोषणा गरिदिए । तर गण्डकीको गणितले उनलाई सत्तामा टिकिरहन दिएन ।

सर्वोच्चले सभामुखको गतिविधिलाई असंवैधानिक ठहर गर्‍यो र काँग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश दियो । मुख्यमन्त्री भएपछि पाण्डेले आधा महिनाको गृहकार्य गरेर आगामी वर्षको बजेट प्रस्तुत गरे । यहीबिचमा नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित भैसकेको छ । तर प्रमुख प्रतिपक्षी दल एमालेको बजेटप्रति असन्तुष्टि छ । 

सरकारले ल्याएको सबै मन्त्रालयको बजेट ठिक छैन भनेर खर्च कटौतीको प्रस्ताव एमालेले दर्ता गरेको थियो । संसदीय अभ्यासमा खर्च कटौतीको प्रस्ताव पास भए बजेट फेल हुन्छ । सातवटै मन्त्रालयको बजेटमा दर्ता भएको खर्च कटौतीको प्रस्ताव फेल भएको छ ।

कांग्रेसले त अधिकारीको दोस्रो कार्यकालमा संसद् नै बहिष्कार गर्‍यो । अधिकारीलाई मुख्यमन्त्री स्विकार्दै स्विकारेन । न अधिकारीको शपथमा कांग्रेस उपस्थित भयो । यसको अर्थ कांग्रेस र एमाले गण्डकीको संसदीय राजनीतिमा नोकझोंक भइरहने दलहरू हुन् । प्रदेशसभाको पहिलो कार्यकालमा एमाले २७ सिट सहित पहिलो थियो भने कांग्रेस १५ सिट सहित दोस्रो थियो । दोस्रो प्रदेशसभामा २७ सिट सहित कांग्रेस पहिलो दल छ भने एमाले २२ सिट सहित दोस्रो दल छ ।

कल्पना समेत नगरिएको केन्द्रीय नयाँ गठबन्धनले असंवैधानिक बाटो अपनाएरै भएपनि कांग्रेसलाई सत्ताबाहिर राख्ने प्रयास गरेको एमाले ३ महिना नबित्दै कांग्रेसकै सत्ता साझेदार बनेको छ । सातादिन अघिसम्म चिसो देखिएको दुई दलबिचको सम्बन्ध बिस्तारै आत्मीय बनाउनुपर्ने अवस्थामा पुगेको छ । त्यसो त, राजनीतिमा इमान हुने हो भने आफैले अस्वीकार गरेको बजेट कार्यान्वयनका लागि एमाले गण्डकीको सत्तामा छिर्नु हुँदैन । यदि सरकारमा गए पनि बजेटको पुनरावलोकन गर्नुपर्छ ।

पछिल्लो निर्वाचनको डेढ वर्ष पनि नबित्दै गण्डकीमा चौथो पटक सरकार फेरबदल हुनुमा कुनै कारण छैन । एउटै कारण हो, केन्द्रीय सत्ता समीकरण । केन्द्रले तल्ला तहको भावना विपरीत गठजोड गर्दा प्रदेशमा र स्थानीय तहमा दलहरू अनाहकमै परस्पर समर्थक र विरोधी भइरहेका छन् । केन्द्रको समीकरणपछि प्रदेश तहमा नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । जे होस्, केन्द्रको गठजोड विरुद्ध प्रदेशले फरक मत राख्न सक्ने अवस्था छैन । त्यसैले विगतलाई बिर्सिएर दुवै दलले आपसी सम्बन्ध विस्तार गर्ने नै छन् ।  

नयाँ गठबन्धनले के हुन्छ ?

केन्द्रमा बनेको नयाँ गठबन्धनले गण्डकीको सत्ता राजनीतिमा खासै असर गर्दैन । न त नयाँ मुख्यमन्त्री नियुक्त हुन्छन् । कांग्रेस एमालेको केन्द्रीय सहमति अनुसार गण्डकीको नेतृत्व कांग्रेसले गर्ने उल्लेख छ । यदि त्यसो हो भने पाण्डे नै मुख्यमन्त्री निरन्तर रहन्छन् । बरु गण्डकीले विपक्षी दलको नेता नयाँ पाउने छ । प्रतिपक्षमा रहेको सबैभन्दा ठुलो दल एमाले सत्ता साझेदार भएपछि नेकपा माओवादी केन्द्र प्रतिपक्षको ठुलो र एउटा मात्रै दल बन्ने सम्भावना छ ।

दुई तिहाइको सरकार बन्छ

सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र दोस्रो ठुलो दल एमाले मिल्दा गण्डकीको सत्तामा दुई तिहाइ मत पुग्छ । यहाँ काँग्रेसको २७ र एमालेको २२ सिट छ । माओवादीबाट विद्रोह गरेका फणीन्द्र देवकोटा पनि सत्तापक्षमै हुनेछन् । 

अहिलेकै अवस्था कायम रहे स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र राप्रपा पनि सत्ताकै लहरमा बस्नेछन् । तर कांग्रेस एमालेको गठबन्धनले कुन रूप लिन्छ निक्र्यौल भैसकेको छैन । जे होस्, कांग्रेस र एमाले मात्रै सत्तामा रहेपनि ४९ सिट सत्तासँग रहन्छ । राप्रपा र २ सांसद जोड्दा सत्तामा ५३ सिट हुन्छ ।

इतिहासमै कमजोर प्रतिपक्ष

गण्डकीमा हालसम्म ४ जना मुख्यमन्त्री बनेका छन् । प्रक्रियागत रूपमा सातौँ पटक सरकार गठन भैसकेको छ । सातै पटक केन्द्रको समीकरण फेरिएको छ । त्यसको बाछिटा प्रदेशले पनि व्यहोरेको छ । तर अहिलेसम्मको अवस्था हेर्दा प्रतिपक्षी यति कमजोर भएको रेकर्ड थिएन, जुन कांग्रेस एमालेको गठबन्धनपछि हुनेछ । 

केन्द्रमा राप्रपापनि सरकारमा जान सकारात्मक छ । अहिलेकै समीकरण कायम रहे अब गण्डकीको प्रतिपक्षी लहरमा ६ जना सांसदमात्रै हुनेछन् ।  त्यति मात्रै होइन नेकपा माओवादी केन्द्र पहिलो पटक प्रमुख प्रतिपक्षी दल बन्नेछ । स्वतन्त्र सांसद प्रतिपक्षमा रहेपनि ७ जना मात्रै विपक्षमा रहनेछन् ।

निरीह बन्न सक्छ संसद्

प्रतिपक्षी दल कमजोर भएपछि संसद् सरकारको छायामा पर्छ । सर्वमान्य बुझाई के हो भने, संसद् प्रतिपक्षीको हुन्छ । तर ६ सिटले ५३ सिटलाई काबुमा राख्न सक्छ भन्ने कल्पना गर्न सकिँदैन । गण्डकीको संसद् अब झनै कमजोर हुने सहजै अनुमान लगाउन सकिन्छ ।  

हिजो गाली, अब ताली

एउटा कथन छ, दुई सिंह एउटै खोरमा अटाउन सक्दैनन् । अहिलेको सत्ता गठबन्धनले चाहिँ उक्त कथन गलत साबित भएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी परस्पर सत्ता र प्रतिपक्षको नेतृत्व गर्ने नेताहरू हुन् । अब उनीहरू एउटै लहरबाट सरकारको पक्षमा टेबुल बजाइरहेको देखिन्छन् । आपसमा चर्को आलोचना गरेर नथाक्नेहरू समर्थनमा स्वरमा स्वर मिलाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप