शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

१२ वटै समूहको निष्कर्ष : अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसालको निरन्तरता

बुधबार, १९ असार २०८१, १९ : ५५
बुधबार, १९ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सङ्गठनात्मक दस्ताबेजमाथिको छलफलको १२ वटै समूहले निष्कर्ष सुनाएका हुन् । 

समूहका टोली नेताले नेतृत्व सर्वसम्मत रूपमा टुंग्याउन सुझाव दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘१२ वटै समूहबाट सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव आएको छ,’ उनले भने ।टोली नेताको निष्कर्षपछि अध्यक्ष माधवकुमार नेपालले जवाफ दिएर बुधबार नै दस्ताबेज पारित गर्ने तयारी रहेको उनले बताए । 

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुने भएको छ । माधव पौडेल प्रमुख रहेको निर्वाचन कमिटीले कार्यतालिका सार्वजनिक बिहीबार मात्रै गर्ने तयारी गरेको हो ।

प्रतिनिधिहरूले नेतृत्वमा  माधव नेपाल र महासचिवमा घनश्याम भुसालकै निरन्तरता चाहेका छन् ।  समूहगत छलफलको निष्कर्ष सुनाउँदै १२ वटै समूहले नेपाल र भुसाललाई अध्यक्ष र महासचिवमा निरन्तरता दिन सुझाव दिएका हुन् । अधिकांश प्रतिनिधिहरूले दुवै नेतालाई सोही पदमा निरन्तरता दिनुपर्ने राय व्यक्त गरेपछि टोली नेताले सोही अनुसार निष्कर्ष सुनाएका हुन् ।

भुसालले अध्यक्षमा दाबी गरिरहेका छन् । चौतर्फी दबाबपछि उनले सहमतिमा आउने संकेत गरेको महाधिवेशन प्रतिनिधि बताउँछन् । भुसालले अध्यक्षको दाबी छाडे महासचिव वा उपाध्यक्षमा व्यवस्थापन गर्ने माधवको तयारी छ । अध्यक्षकै दाबेदार भएकाले उनले उपाध्यक्ष रहन तयार भए महासचिवमा उपमहासचिवहरू  जगन्नाथ खतिवडा, गंगालाल तुलाधरमध्ये एकको सम्भावना देखिएको छ । उपाध्यक्षद्वय राजेन्द्र पाण्डे वा वेदुराम भुसालमध्ये एकजना महासचिव बन्ने विषयमा समेत छलफल भइरहेको चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप