शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सरकारबाट समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

बुधबार, १९ असार २०८१, १९ : २०
बुधबार, १९ असार २०८१

काठमाडौँ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  

प्रधानमन्त्री प्रचण्डलाई आज (बुधबार) नै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए ।  

राजीनामा बुझाउनु अघि अहिले बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप