शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

बुधबार, १९ असार २०८१, १८ : ४७
बुधबार, १९ असार २०८१

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ । 

सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो । डा अनिल भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो । 

“अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन गर्‍यौँ,” उनले भने, “हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।” उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो । 

डा भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताए । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो । “छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ,” उनले भने, “ठुलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सन्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।”

उनका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा रु २४ लाख लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न रु सात लाख लाग्ने जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप