शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हाथरस घटना : एफआईआरमा सत्संग गर्ने बाबा नआएको विषयमा मुख्यमन्त्री योगीले के भने ?

बुधबार, १९ असार २०८१, १६ : ५७
बुधबार, १९ असार २०८१

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा आयोजना गरिएको एक सत्संगमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १२४ जना पुगेको छ । सो घटनापछि सत्संग आयोजकहरूमाथि एफआईआर दायर गरिएको छ ।

तर एफआईआरमा स्वयम् बाबा नारायण साकार हरिको नाम भने छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी जबाफदेहिता तय गरिने र कुनै अपराधीलाई नछाडिने भनेका छन् । मर्नेहरूमा उत्तर प्रदेशको साथसाथै हरियाणा, राजस्थान र मध्य प्रदेशका मानिसहरू छन् ।

उनले भने– ‘मैले भेटेका घाइतेहरूले कार्यक्रम सकिएपछि दुर्घटना भएको बताए । बाबा स्टेजबाट ओर्लिएपछि उनलाई छुनको लागि भीड लाग्यो त्यस क्रममा मानिसहरू एक अर्कामाथि चढ्न थाले । बाबाका सेवकहरूले पनि भक्तहरूलाई धकेलिरहेका थिए, जसका कारण यो घटना भयो ।’ 

सुरुमा यो विषयलाई दबाउन खोजिएको भए पनि प्रशासनले घाइतेलाई अस्पताल लैजान थालेपछि अधिकांश सेवकहरू त्यहाँबाट भागे । ‘यस सम्पूर्ण घटनाको लागि, हामीले एडीजी आगरा अन्तर्गत एक एसआईटी गठन गरेका छौँ । जसले आफ्नो प्रारम्भिक रिपोर्ट दिएको छ । यस्ता धेरै पक्षहरू छन् जसको अनुसन्धान हुनुपर्छ ।’

आफूहरूको पहिलो प्राथमिकता राहत र उद्धार कार्य पछि आयोजकहरूलाई घटनाबारे सोधपुछ गर्ने भएको उनले बताए । त्यसपछि घटनाको लापरबाही र जिम्मेवारहरूको जबाफदेहिता निर्धारण गरिने र यसका लागि एफआईआर दर्ता भइसकेको पनि उनले बताएका छन् । 

‘यस्तो खालको घटना दुर्घटना मात्रै हुन्न, यदि दुर्घटना नै भए पनि यसको पछाडि को जिम्मेवार छ, त्यो पनि पत्ता लगाइनेछ’ योगीले भने । ‘यो सबैलाई मध्यनजर गर्दै सरकारले यसबारे न्यायिक छानबिन गर्ने निर्णय गरेको छ । उच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन हुनेछ, जसमा प्रशासन र प्रहरीका अवकाशप्राप्त अधिकृतहरू पनि हुनेछन् । यसका लागि जो कोही दोषी पाइनेछ, उसलाई सजाय हुनेछ ।’ 

बाबाविरुद्ध एफआईआर नभएको प्रश्नमा मुख्यमन्त्री योगीले एफआईआर दर्ता गरिएको र यसको दायरा विस्तार गरिन बताएका छन् । एफआईआरमा अन्य व्यक्तिहरूको नाम पनि छ । जो जो जिम्मेवार छन् ती सबैको नाम अन्य मानिसमा आउने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप