शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको महाधिवेशन

माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत

बुधबार, १९ असार २०८१, १६ : ५४
बुधबार, १९ असार २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को १० औँ राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । असार १६ देखि २० गतेसम्मलाई निर्धारण भएको महाधिवेशन चौथो दिनसम्ममा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ ।

प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भएको हो । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ ।

‘बुधबार बेलुकासम्म प्रतिवेदनको निष्कर्ष सुनाउने क्रम सकिन्छ र पारित हुन्छ’, उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ नेता खतिवडाले सकभर २० गतेभित्रै महाधिवेशन सक्ने प्रयास भइरहेको पनि बताए । तर नेतृत्वमा सहमति नजुटे र निर्वाचन प्रक्रियामा जानु परेको खण्डमा अझै एक दुई दिन समय थप गर्नुपर्ने अवस्था आउनसक्ने खतिवडाको भनाई छ ।

नेतृत्वमा सहमतिको कसरत

दसौँ महाधिवेशनमार्फत अध्यक्षमा दोहोरिने चाहाना माधव नेपालको छ । तर तत्कालीन एमालेसँगको विद्रोहमा माधवलाई साथ नदिएका महासचिव घनश्याम भुसालले पनि अध्यक्षमै दाबी गरिरहेका छन् । यदि भुसाल आफ्नो दाबीबाट पछि नहटे नेपाल र भुसालबिच प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि सम्मानित नेता झलनाथ खनालले समेत अध्यक्षमा आकाङ्क्षा देखाउँदै दाबी रहने बताएका थिए । तर महाधिवेशन सुरु भएसँगै खनाल पूर्व निर्णयबाट लगभग पछि हटिसकेका छन् । यस्तो अवस्थामा खनाल र नेपालबिच नै प्रतिस्पर्धा हुने महाधिवेशन प्रतिनिधिहरूको बुझाई छ ।

तर महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरूको मत सहमतिमै नेपाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने धेरै भएको बताइएको छ । यसका साथै केही नेताहरू अध्यक्षमा नेता नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत गर्नुपर्ने भन्दै दौडधुपमा लागेका छन् । नेपाल र भुसालको अध्यक्षमा दाबी रहेकै बेला मंगलबार बेलुका सचिव रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठले अध्यक्षका आकाङ्क्षी नेपाल र भुसाललाई भेटेर छलफल गरेका छन् । नेपाल र भुसाल दुवैलाई छुट्टाछुट्टै भेटेर उनीहरूले नेपाल अध्यक्ष र भुसाल महासचिवमा दोहोरिँदा उपयुक्त हुने सुझाव दिएका छन् । श्रेष्ठ र झाँक्रीको सुझावमा अध्यक्ष नेपाल सहमत भए पनि भुसाल भने सहमत हुन नसकेको बुझिएको छ ।

विकल्पमा श्रेष्ठ र झाँक्रीले भुसाललाई वरिष्ठ उपाध्यक्षमा बढुवा गर्न सकिने प्रस्ताव पनि गरेका थिए । त्यो प्रस्तावमा भुसालले कुनै जवाफ नदिए पनि अन्ततः सहमतिमा आउने नेताहरूको बुझाइ छ । अध्यक्ष, महासचिव र वरिष्ठ नेतामा सर्वसम्मत भए अन्य पदमा पनि सहमति खोज्न बाटो खुल्ने नेताहरूको भनाइ छ । ‘पार्टी जोगाउन पनि सहमतिको विकल्प छैन’, नेता किसान श्रेष्ठले भने, ‘हामी पद भन्दा पनि पार्टी जोगाउन सहमतिको प्रयास गरिरहेका छौ । लगभग बिहीबार बिहानसम्म नेतृत्वमा सहमति जुट्छ ।’

त्यस्तै महाचचिवमा अहिलेसम्म जगन्नाथ खतिवडाले मात्रै दाबी गर्ने घोषणा गरेका छन् । अघोषित रूपमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, डा. विजय पौडेल र जीवनराम श्रेष्ठले पनि महासचिवमा आकाङ्क्षा राखेका छन् । तर ज्वाला, तुलाधर, पौडेल र श्रेष्ठ प्रतिस्पर्धा हुने अवस्था आए पछि हट्न सक्ने सम्भावना रहेको कतिपय नेताहरूको दाबी छ ।

अर्को महत्त्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले आकाङ्क्षा देखाएका छन् तर भुसाललाई त्यो पदमा व्यवस्थापन गर्दा पाण्डे उपाध्यक्षमै सीमित रहनुपर्ने बाध्यता हुनेछ । एमालेसँग विद्रोह गर्दा माधवलाई साथ दिनेमध्येकी रामकुमारी झाँक्रीलाई भने उपाध्यक्ष बनाउने तयारी भएको समेत सर्वसहमत पक्षधरको भनाइ छ । ‘उपाध्यक्षमा एक जना महिला सुनिश्चित गरिएको छ त्यसमा रामकुमारी झाँक्रीको चाहाना देखाउनुभएको छ’, एक नेताले भने, ‘त्यसो भएको खण्डमा रामकुमारी र जयन्तीदेवी राई दुई जना उपाध्यक्ष बन्ने सम्भावना छ ।’

एकीकृत समाजवादीले अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधानमा प्रस्ताव गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप