शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
पदाधिकारी बैठक

लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

बुधबार, १९ असार २०८१, १६ : २७
बुधबार, १९ असार २०८१

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

हिजोको बैठकमा सभापति देउवाले एमालेको साथमा नयाँ गठबन्धन बनाउने सहमति भएको र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको बताएका थिए ।  छलफलमा उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएमा एमालेले आफ्नो मन्त्री फिर्ता बोलाएर प्रक्रियामा केपी ओलीको नेतृत्वमा सरकार गठन हुने भनेका थिए ।

गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको कुरा अध्यक्ष ठाकुरले बैठकमा राखेका थिए । विपक्षी गठबन्धनमा रहेका लोसपा, जसपा नेपाल, राप्रपालगायत दलले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने प्रतिबद्धता जनाएको कुरा अध्यक्ष ठाकुरले बैठकलाई जानकारी गराएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।

‘संविधान संशोधनको विषयमा कुरा भएको थियो । संविधान संशोधन के के विषयमा गर्ने त्यसलाई पहिचान गर्नका लागि एउटा समिति बनाउने र त्यो समितिले दिने रिपोर्टका आधारमा संविधान संशोधन गर्ने कुरा सभापति देउवाले राखेको अध्यक्ष ठाकुरले जानकारी गराएका छन्’ उनले भने । 

समितिले प्रतिवेदन तयार गरिसकेपछि त्यसको बारेमा गठबन्धनमा पनि छलफल हुने र त्यसको आधारमा अगाडि बढ्ने कुराकानी भएको समेत उनले बताए ।  त्यसका आधारमा लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने महासचिव मिश्रले बताए ।

माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन बनाएपछि सो गठबन्धनमा रहेका लोसपा र जसपा नेपालले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएका थिए । अहिले  कांग्रेस–एमालेको गठबन्धन बनेको र सरकार बनाउने प्रयास भइरहेका बेला कांग्रेसले मधेसी दलहरूको साथ खोजेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप