शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

यी फलफूल र तरकारी मधुमेह रोगीका लागि फाइदाजनक हुन सक्छन्

बुधबार, १९ असार २०८१, १६ : १४
बुधबार, १९ असार २०८१

काठमाडौँ । यो मौसममा बजारमा अनेक थरी फलफूल र तरकारीहरू आउँछन् । तर कयौँ फलफूल र तरकारीहरूले मधुमेहका बिरामीलाई हानि पुर्‍याउँछन् । त्यसो भए मधुमेहका रोगीले के के खाने अनि के के नखाने त ? मधुमेह जीवनशैलीसँग जोडिएको रोग हो । 

हाम्रो खानपिनबाट यो रोग सबैभन्दा धेरै प्रभावित हुन्छ । तपाईँले चाहे औषधि खाइरहनु भएको होस् वा इन्सुलिन लिइरहनु भएको होस्, के खानु हुन्छ वा के खानु हुन्न भन्ने कुराले बढी अर्थ राख्छ । अमेरिकन डायबिटिज एसोसिएसन (एडीए)का अनुसार यस मौसममा जुन फल र तरकारीमा फाइबरको साथमा भरपुर मात्रामा भिटामिन पाइन्छ र कम केमिकल हुन्छ त्यसकै सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।

कुन–कुन फल खाने

मधुमेहका रोगीहरूलाई जामुन, किवी र अम्बा जस्ता केही फलफूलहरू मात्र खान अनुमति दिइन्छ । किनकि यी फलमा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ । यसले रगतमा चिनीको स्तर नियन्त्रित राख्न मद्दत गर्छ । यी फलफूलमा एन्टिअक्सिडेन्ट, फाइबर, भिटामिन सी, भिटामिन ए, आइरन, क्याल्सियम र पोटासियम जस्ता धेरै महत्त्वपूर्ण पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छ । 

यसले शरीरलाई ऊर्जाका साथै शीतलता पनि दिन्छ । गर्मीमा यी फलफूलसँगै स्ट्रबेरी, ब्लुबेरी र किम्बु जस्ता धेरै प्रकारका बेरी पनि बजारमा पाइन्छ । बेरीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट र फाइबर हुन्छ, जसले ब्लड सुगर बढ्न दिँदैन । अमेरिकन डायबिटिज एसोसिएसनका अनुसार मधुमेहका रोगीहरूले जुसको सट्टा पूरै फलफूल र तरकारीहरू खानु राम्रो हुन्छ ।

तरकारीमा के–के खाने ?

मधुमेहका बिरामीले केही तरकारी खानै पर्छ । यो मौसममा खासगरी काँक्रो, करेला, अमला, धनियाँ, लौका, अदुवा र हरियो सागसब्जीलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । यी तरकारीहरूले शरीरलाई हाइड्रेटेड राख्छ; भिटामिन ए, भिटामिन बी र फाइबर प्रदान गर्दछ र क्यालोरी घटाउँछ, जसले रगतमा चिनीको मात्रा नियन्त्रित राख्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र पाचन सुधार्छ । हरियो सागसब्जीमा भिटामिन, मिनरल्स र फाइबर प्रशस्त हुन्छ र यसमा क्यालोरी कम हुन्छ । त्यसैले पनि यो मधुमेह रोगीहरूको लागि उत्तम हुन्छ ।

पेय पदार्थहरू के–के खाने ?

गर्मी मौसममा शरीरलाई चिसो राख्न हामी विभिन्न प्रकारका पेय पदार्थ पिउने गर्छौँ । तर मधुमेहका बिरामीले यी पेय पदार्थलाई सतर्कतापूर्वक रोज्नु पर्छ । मधुमेहका बिरामीका लागि नुनिलो लस्सी, बेलको जुस, सातु पानी, अदुवा र कागती पानी, काँक्रो र पुदिनाको रस आदि पिउनु राम्रो हुन्छ । यसमा प्राकृतिक फाइबर, आइरन, एन्टिअक्सिडेन्ट, कार्बाेहाइड्रेट र फोलेट अर्थात फोलिक एसिड पाइन्छ ।

यी सबै पेयहरू चिनीरहित हुन्छन् । जसले तपाईंलाई चिसो त राख्छ नै रगतमा चिनीको मात्रा पनि बढाउँदैन । यसमा तपाईँले चिसो पानी, आइस क्यूब र जीराको धूलो हालेर वा आफ्नो इच्छा अनुसार बनाएर पिउन सक्नुहुन्छ । यी पेय पदार्थहरूले शरीरलाई हाइड्रेटेड त राख्छ नै आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ, जसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत मिल्छ ।

रासायन नियन्त्रण सबैभन्दा जरुरी

मधुमेहका बिरामीले गुलियो खानबाट त बच्छन् । तर आफ्नो आहारमा केमिकल कन्ट्रोल गर्न भने सक्दैनन् । गर्मीको समयमा बजारमा जिरो क्यालोरी भन्दै अनेकौँ स्फूर्तिदायक पेय पदार्थ बेचिन्छ । तर त्यसमा केमिकलको मात्रा धेरै हुन्छ । यसको उपभोग तपाईको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । आफूले जे जति पेय वा फलफूल खानुहुन्छ त्यसमा कृत्रिम चिनी छैन भन्ने सुनिश्चित गर्नुस् । फलफूलको जुस खानुको सट्टा तरकारीको जुस, मोही र जौको पानीले मधुमेहका बिरामीलाई चिनी नियन्त्रण गर्न बढी उपयोगी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप