शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

एमाले बैठकमा सुनाइयो लभ स्टोरी, मन्त्री फिर्ता नबोलाउनुको यस्तो छ कारण

रास्वपा पनि सरकारमा आउने विश्वास
बुधबार, १९ असार २०८१, १५ : ३५
बुधबार, १९ असार २०८१

काठमाडौँ । कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउने सहमति भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक रूपमा अल्पमतमा परेका छन् । यद्यपि एमालेले अहिलेसम्म सरकारप्रतिको समर्थन फिर्ता लिइसकेको छैन भने आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुकासम्म राजीनामा नगरे बिहीबार बिहान आफ्ना मन्त्रीहरूलाई एमालेले राजीनामा दिन लगाउने भएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले जानेरै राजीनामा दिनसक्ने भन्दै बुधबार एक दिन उनलाई सोच्न समय दिने निष्कर्षमा पुगेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

‘अल्पमतमा पर्ने भइसकेपछि प्रधानमन्त्रीले नै राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ भन्ने बुझाइले मंगलबारै पार्टीका मन्त्रीहरूलाई राजीनामा गर्न नलगाइएको हो’, ती नेताले भने, ‘बुधबार बेलुकासम्म प्रधानमन्त्रीलाई राजीनामा गर्न आग्रह गर्नु उपयुक्त देखियो ।’

uml-sachibalaya

उनले बुधबार बेलुकासम्म पनि प्रधानमन्त्रीको राजीनामा नआएको अवस्थामा बिहीबार बिहान मन्त्रीहरूलाई राजीनामा दिन लगाउने सचिवालयले निर्णय गरेको बताए ।

‘एमालेकै सहयोगमा प्रधानमन्त्री बनाइएकाले पनि एमालेले त्यो विषय सोचेको हो । अर्को कुरा, राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासलाई पनि त्यसले सहयोग गर्छ भन्ने बुझाइ हो’, ती सदस्यको भनाइ छ ।

यसअघि मंगलबार बिहानै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउने बताएका थिए । तर मंगलबारको सचिवालय बैठकमा छलफल हुँदा हतारिएर मन्त्री फिर्ता बोलाउनु बुद्धिमानी नहुने ठहर गरेर एक दिन रोकेको हो ।

त्यसका लागि एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई औपचारिक रूपमै राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरिसकेको छ । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने, बरु संसद् फेस गर्ने बताइसकेका छन् । प्रचण्डसँगै रास्वपाले पनि तत्काल मन्त्री फिर्ता नगर्ने निर्णय गरिसकेको छ ।

कांग्रेससँग सत्ता सहकार्य गर्ने प्रारम्भिक सहमतिपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेस–एमालेका नेताहरूले बताउँदै आएका छन् । सोही अनुसार एमालेले सबै दललाई अध्यक्ष केपी ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वानसमेत गरिसकेको छ ।

प्रचण्डले राजीनामा नदिएर संसद् फेस गर्दा विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन गर्नसक्ने जटिलता छ । यद्यपि यसमा राष्ट्रपतिको स्वविवेकले काम गर्नेछ । यदि उपधारा ३ अनुसार गए एमाले अध्यक्ष ओली नभएर ठुलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावनाप्रति एमाले बैठकमा चर्चा भएको थियो ।

‘राष्ट्रिय सहमतिको सरकार बनाएर राजनीतिक स्थिरता दिने र आवश्यक परे संविधान संशोधन गर्न सकिने मुख्य दुई उद्देश्यले कांग्रेससँग सहकार्यका लागि सहमति गरेको हो भनेर अध्यक्षले पार्टी बैठकमा ब्रिफिङ गर्नुभयो’, उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘राजनीतिक स्थिरता दिने प्रयास गर्नु जिम्मेवार दलहरूको कर्तव्य पनि हो ।’

नयाँ परिस्थितिबारे ओलीको विश्लेषण

kp oli

बैठकमा अध्यक्ष ओलीले समीकरण बदल्नुपर्ने अवस्था आउनुको कारणबारे करिब तीन घण्टा नेताहरूलाई विस्तारपूर्वक जानकारी गराएका थिए । त्यसक्रममा केही नेताले प्रचण्डसहितको सत्ता समीकरण तत्काल फेरेर थप राजनीतिक अस्थिरता बढ्ने हो कि भनेर प्रश्न गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले घटनाक्रम विकास हुनुमा प्रचण्डको ‘मुभ’लाई केन्द्रित गरेर व्याख्या गरेका थिए ।

बैठकमा घटनाक्रमको विश्लेषण गर्ने क्रममा अध्यक्ष ओलीले असार ३ गते बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकको प्रसङ्गसमेत निकालेका थिए ।

के भएको थियो बालुवाटारमा ?

असार ३ गतेको परिषद् बैठक सकिएपछि परिषद् सदस्यहरू बालुवाटारबाट बाहिरिँदै थिए । तर प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई केहीबेर बालुवाटारमै रोके ।

अरु सदस्यहरू बाहिरिएपछि प्रचण्ड र देउवाबिच केहीबेर ‘गोप्य’ कुराकानी पनि भयो । त्यो कुराकानीमा प्रचण्डले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन र कांग्रेसलाई सरकारमा सहभागी हुन अनपेक्षित प्रस्ताव राखे । देउवाले प्रचण्डको प्रस्ताव सुनेमात्र, केही जवाफ दिएनन् ।

देउवासमक्ष प्रचण्डको प्रस्ताव ओलीले आफ्नो संयन्त्रबाट थाहा पाए । त्यसपछि प्रचण्डसँगको भेटमा ओलीले त्यो दिनको संवादबारे सोधेका थिए । तर प्रचण्डले आफूले त्यस्तो प्रस्ताव गरेको र सो प्रस्ताव नराम्रो नभएको भनेर ओलीलाई विश्वास दिलाउने प्रयत्न गरेका थिए ।

यति हुँदाहुँदै असारको दोस्रो साता बित्नै लागेको थियो । प्रचण्डको सो प्रस्तावप्रति ओली र देउवाबिच आन्तरिक कुराकानी हुन  थाल्यो । प्रचण्डको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरे पनि ओलीलाई यसले झस्का पैदा गराइरह्यो । जबकि यसअघि आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेस भित्र्याएर एमालेलाई सरकार बाहिर पुर्याएका थिए ।

सोही रणनीति अनुसार प्रचण्डले गेम खेलेर फेरि पनि त्यो अवस्था आउनसक्ने सम्भावनाप्रति ओलीलाई झस्काइदियो । त्यसपछि ओली–देउवा सघन वार्ता हुन थाल्यो । यही क्रममा असार १५ गते देउवा पत्नी आरजुसहित छलफल गर्न ओली निवास बालकोट पुगे । बालकोटमा करिब ३ घण्टाको छलफलमा १९ महिनामा चारपटक प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको विश्लेषण भयो ।

त्यसक्रममा साना दलको सत्तामा बार्गेनिङ नै अस्थिरताको कारण रहेकोमा दुवै नेताले निष्कर्ष सुनाएका थिए । दुवै नेता एउटै निष्कर्षमा पुगेपछि सभापति देउवाले नै संसद्को बाँकी कार्यकाल आलोपालो आफू र ओलीको नेतृत्वमा स्थिर र राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने हिसाबकिताब निकालेर अघि बढ्न सकिने निष्कर्ष सुनाएका थिए ।

रास्वपा पनि सरकारमा आउने विश्वास

एमाले सचिवालय बैठकमा रास्वपा पनि सरकारमा आउन सक्ने ब्रिफिङ ओलीले गरेका छन् । ‘तत्काल नआए पनि एकदुई महिनामा रास्वपा सरकारमा आउन सक्छ’, अध्यक्ष ओलीले बैठकमा गरेको विश्लेषण उद्धृत गर्दै एक नेताले भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षहरू अवश्य पनि सरकारमा आउन सक्छन् । त्यसमा राप्रपा, मधेसवादी दलले त संविधान संशोधनको कुरा गरिरहेका छन्, समस्या भएन । यसको अलावा रास्वपा पनि आउनैपर्ने हुन्छ ।’

uml

रास्वपा सरकारमा आउने कारणबारे पनि ओलीले बैठकमा सङ्केत गरेका थिए । ‘रास्वपाले प्रदेश संरचना स्वीकार गर्न नसकिरहेको अवस्थामा यदि त्यसो हो भने त संविधान संशोधनको प्रक्रियामा सहभागी हुनुपर्ने उसलाई पनि बाध्यता छ’, बैठकमा ओलीको ब्रिफिङ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

केही महिनापछि यदि रास्वपा समेत सरकारमा सहभागी भएको खण्डमा सरकार दुई तिहाइ बहुमतको हुने र संविधान संशोधन गर्न सकिने ओलीको आशय थियो । 

नेपाली युवा र अमेरिकन युवतीको ‘लभ’ कथा

एमाले सचिवालय बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्ता समीकरण फेरबदललाई जोडेर नेपाली केटो र अमेरिकन केटीबिचको लभको कथा सुनाएका थिए ।

यस्तो छ पाण्डेले सुनाएको कथा–

uml-surendra

एकजना नेपाली केटो अमेरिका गएछ र अमेरिकन केटीसँग लभ गरेछ । लभ गरेपछि लिभिङ टुगेदर हुँदै एउटा बच्चा भएछ । केटीको आमा पनि उनीहरूसँगै बस्ने रहिछन् । केटा र केटीले आधाआधा लगानी गरेर उनीहरू बस्ने घर किनेका रहेछन् । बिदाको अघिल्लो दिन केटो अफिसबाट फर्किंदा बिदा मनाउने उद्देश्यसहित सपिङ गरेर घर फर्केछ । ऊ घर फर्केर खाना खान बसेपछि केटीले केटालाई भनिन्, ‘यतिजेञ्ल तिमी र म सँगै बस्यौँ तर अब म तिमीलाई छोडेर अर्कैसँग बिहे गर्ने भएँ । ऊ पनि मसँगै काम गर्ने केटा हो । म पर्सि उसैसँग चर्चमा गएर बिहे गर्छु ।’

केटीले त्यसो भनेपछि नेपाली केटो आश्चर्यमा पर्‍यो । केटीको कुरा सुनेपछि उसकी आमाले यति सज्जन ज्वाइँ किन छोड्छेस्, जवानीमा मात्तिन्छेस ? भनेर सम्झाइन् । तर केटीले जवानीमै हो मात्तिने, तिमी पनि जवानीमा मात्तिएकी थियौ नि भनेर जवाफ फर्काइ ।

त्यसपछि अर्को दिन बिहे गर्न भनेर आमालाई लिएर केटी चर्च गइ । तर केटो चर्चमा आएन । ऊ नआएपछि धोका दियो भनेर भुत्भुताउँदै पुरानै केटाकोमा फर्की । ऊ फर्केर आएपछि केटाले भनेछ, ‘जे–जे भयो भयो । सबै कुरा बिर्सेर मसँगै बसौँ, हाम्रो बच्चा पनि छ, मिलेर अघि बढौँ ।’

तर केटीले मैले अर्कैसँग विवाह गर्ने निर्णय गरेर तिमीसँगको विश्वास तोडिसकेकाले अब हामी सँगै बसे पनि विश्वास हुँदैन । शङ्का हुन्छ । बरु हामी छुट्टाछुट्टै बाटो लिएर जीवन बिताऔँ भनेर अलग्गै बस्न थालिछ ।

पाण्डेले नयाँ समीकरण बनेपछि माओवादीले विश्वासको मत लिन संसद् फेस गर्ने निर्णय गरिसकेको अवस्था, सरकारकै गृहमन्त्रीले कारबाही गर्न लागेपछि अपवित्र गठबन्धन भनेर टिप्पणी गरेको अनि हामीचाहिँ केही भएको छैन, तिमी हामी एउटै सरकारमा बसौँ भन्ने कुरा मिल्दैन भन्ने सन्देशसहित त्यो अमेरिकन केटीको जत्तिको इमानदारिता राख्नुपर्छ भनेर जोड दिएको बैठकमा सहभागी एक नेताले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप