मनाङको बाटो सधैँ जोखिमपूर्ण
मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ ।
निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ ।
मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङवासीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।
तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
बाढीपहिराका कारण सडक मात्र नभई मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ ।
“वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उनको भनाइ छ । लमजुङको बेँसीसहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठुलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाए ।
बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ । खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ । चामे–५ का फुर्वा लामाले भने, “अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो । माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पुर्याउनै समस्या हुन्छ ।”
मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उनले बताए । स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।
काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताए । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो ।
बाढीले बेँसीसहर–चामे सडकको पक्की पुल बगायो
तिमाङ खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । गए राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।
यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठुलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ । सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पुर्याएको सूचना अधिकारी पोखरेलले बताए । सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो । उक्त योजना कार्यालयका अनुसार ठुलो छहरामा स्ल्याब कल्भर्ट पुल रु १९ लाख ९४ हजार तथा सानो छहरामा कल्भर्ट पुल रु ११ लाख ८५ हजारमा निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध