बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याग्दीमा सदरमुकाम बाहिरका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

बुधबार, १९ असार २०८१, १४ : २७
बुधबार, १९ असार २०८१

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको जिल्लामा हालसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ ।

विसं २०७७ सम्म जिल्लामा सदरमुकाम बेनीबजार वरपर र बेनी नगरपालिकाको क्षेत्रमा जम्मा ११ किमी सडक कालोपत्र भएकामा चालु आर्थिक वर्षमा थप १६ दशमलव दुई किमी सडक कालोपत्रको अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख विष्णु पौडेलले चालु आवमा बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किमी सडक कालोपत्रसहित आरसिसी र पिसिसी ढलानको काम अन्तिम चरणमा रहेको जानकारी दिए । छ किमी ग्राभेल, १० किमी नयाँ मार्ग खोल्ने, १५ किमी सडक विस्तार, चार किमी नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको उनले बताए । 

“विसं २०७७ सम्म बेनी नगरपालिका क्षेत्रभित्र बेनीबजार, बेनी–गलेश्वर र बेनी–रत्नेचौर, बेनी–महारानी थानको ११ किमी सडकबाहेक नगरपालिका बाहिर कालोपत्र भएको थिएन”, प्रमुख पौडेलले भने, “यसअघि बेनी–१ रत्नेचौर र मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारमा सदरमुकाम बाहिर पहिलोपटक सडक कालोपत्र भएको थियो ।”

सडक विभागले म्याग्दीको बेनी–जोमसोम सडक, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर घार खिवाङ शिख चित्रे, प्रदेश सरकारले बेनी–दरवाङ र गलेश्वर–पिप्ले–भगवती–बेग सडक कालोपत्र गरिरहेको उनले जानकारी दिए । गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा चालु आवमा थप १६ किमीभन्दा बढी सडक कालोपत्र गर्ने आयोजना अन्तिम चरणमा पुगेको प्रमुख पौडेलले बताए ।

सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० आयोजनामध्ये ११ आयोजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चारवटा ठेक्काको मूल्याङ्कन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

सालबसाली २३ आयोजनाको ठेक्का र १३ वटा उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार आयोजनाको ठेक्का सम्झौता भएर काम सुरु भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना अन्तिम चरणमा छन् ।

चालु आवमा कुल रु ७१ करोड ३७ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । गत आवमा १३ दशमलव २८ किमी पक्की सडक, सात दशमलव दुई किमी ग्राभेल, २३ दशमलव २७५ किमी माटे सडक निर्माण भएको थियो । 

यसवर्ष पाँच दशमलव छ किमी दूरीको गलेश्वर–पीपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किमी सडक र छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब आठ किमी कालोपत्र भएको छ ।

रु २० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, रु २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्याङ्कन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिए । उनका अनुासर बेनी–भकिम्ली, अदिभारा–डाडागाउँ र पखेर–बरंजा सडक स्तरोन्नतिका लागि रु १०–१० करोड बजेटको आयोजना ठेक्का लागेको छ ।

दरवाङ–बिम सडक कालोपत्र गर्न रु २५ करोडको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता भइसकेको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप