शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बेलायतमा बिहीबार आम निर्वाचन, को को छन् मैदानमा ?

बुधबार, १९ असार २०८१, १३ : ३४
बुधबार, १९ असार २०८१

लन्डन । बेलायतमा जुलाई ४ मा आमनिर्वाचनका लागि मतदान हुँदैछ । आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर चुनाव पूर्व भएका सर्वेक्षणहरूले लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन् । कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गरिरहेका छन् भने लेबर पार्टीको नेतृत्व कीर स्टर्मरले गरेका छन् । बेलायतमा बिहीबार हुन लागेको आम चुनावमा उत्रिएका यी तीन ठुला नाममाथि सारा विश्वको नजर रहनेछ ।

कीर स्टर्मर

लेबर पार्टीका नेता कीर स्टर्मर पूर्व मानव अधिकार वकिल र मुख्य सरकारी वकिल हुन् । निर्वाचन पूर्व भएका सर्वेक्षणहरूमा लेबर पार्टीले बहुमत ल्याउने देखिएको छ । यस्तो अवस्थामा कीर स्टर्मर बेलायतको भावी प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । पूर्व नेता जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी वामपन्थीतर्फ झुकेको थियो । पार्टीलाई पुनः मध्यमार्गी बनाउने श्रेय कीर स्टर्मरलाई दिइन्छ ।

ऋषि सुनक

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक फेरि एक पटक देशको प्रधानमन्त्री बन्ने दौडमा छन् । तर, यसपटक उनको लागि बाटो निकै कठिन रहेको सर्वेक्षणहरूले देखाएका छन् । सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका भारतीय मूलका ऋषि सुनकले बेलायतमा बढ्दो मुद्रास्फीति नियन्त्रण गरेको दाबी गर्दै आएका छन् । तर उनीमाथि कयौँ वाचा पूरा नगरेको आरोप पनि लाग्दै आएको छ । यस्तोमा उनीविरुद्ध जन आक्रोश व्यापक छ । सुनक बेलायतका पहिलो एशियाली र हिन्दू प्रधानमन्त्री हुन् ।

निगेल फराज

युरोपेली संसदका पूर्व सांसद ६० वर्षीय निगेल फराजलाई बेलायती राजनीतिको सबैभन्दा विभाजनकारी नेताहरूमध्येमा गनिन्छ । सन् २०१६ मा  युरोपेली संघ (ईयू)बाट बेलायतको बाहिगर्नमनबारे भएको जनमत संग्रहमा बहुमत बेलायतीहरूलाई बर्हिगमनको पक्षमा मतदान गर्न मनाउन मद्दत गरेपछि पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फराजलाई मिस्टर ब्रेक्जिटको उपनाम दिएका थिए । बिहीबार हुने निर्वाचनमा उनी आठौं पटक सांसद बन्ने प्रयासमा छन् । उनी चरम दक्षिणपन्थी रिफर्म युके पार्टीको प्रमुख हुन् । रिफर्म युके पार्टीले धेरै प्रमुख सिटमा कन्जरभेटिभ पार्टीलाई नोक्सान पुर्‍याउन सक्ने धेरै सर्वेक्षणहरूले दाबी गरिरहेका छन् । फराजमाथि जातीय र समलिङ्गी विरोधी भनाइ दिएको आरोप लाग्ने गरेको छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप