शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
राजनीति

...त्यसपछि मुकुलले मुखमा कालो टेप टाँसे

बुधबार, १९ असार २०८१, १३ : १८
बुधबार, १९ असार २०८१

काठमाडौँ । बुधबार बिहान ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भयो । बैठक सुरु भएसँगै महामन्त्री डा. मुलुक ढकालले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने माग गरे । 

केन्द्रीय सदस्य शिशिर खनालका अनुसार सभापति रवि लामिछानेले महामन्त्री ढकालको बैठक लाइभ गर्ने माग ‘फ्लोर’मा निर्णयका लागि पठाए । ‘महामन्त्रीको बैठक लाइभ गर्न अनुरोध छ । लाइभ गर्ने कि नगर्ने ? मेरा लागि चाहिँ लाइभ गर्दा पनि हुन्छ नगर्दा पनि हुन्छ । अहिलेसम्म बैठक लाइभ गरिएको थिएन । यसबारे फ्लोरको ओपिनियन के छ ? त्यही अनुसार अगाडि बढौँ भन्नु भयो,’ खनालले अध्यक्ष लामिछानेको भनाई उद्धृत गर्दै रातोपाटीलाई भने । फ्लोरमा छलफल हुँदा सबै जसोले बैठकको लाइभ गर्न नहुने विचार राखे । ‘यो रणनीतिक डकुमेन्ट हुन्छ । हामीले पढेका पनि छैनौँ । थाहा पनि छैन । केन्द्रीय समितिले सुनेपछि त्यसका आधारमा सार्वजनिक गर्ने/नगर्ने निर्णय गरौँ । अहिले बैठक लाइभ नगरौँ भन्ने सबैको विचार आयो,’ खनालले भने ।

सभापति लामिछानेले फ्लोरबाट आएको सुझावका आधारमा बैठक लाइभ नगर्ने निर्णयमा पुगे । महामन्त्री ढकालले लामिछानेको कुराको प्रतिवादमा उत्रिए । ‘होइन बैठक लाइभ नै गर्नुपर्छ । वाक स्वतन्त्रताको अधिकार हो,’ ढकालले भने । 

केन्द्रीय सदस्य खनालका अनुसार त्यसपछि सभापति लामिछानेले बैठक लाइभ गर्ने/नगर्नेबारे फ्लोरबाट हात उठाएर भोटिङ गर्न लगाए । बैठक लाइभ गर्ने पक्षमा एउटा पनि हात उठेन । सभापति लामिछाने त्यसपछि बैठक लाइभ नगरी अगाडि बढ्न खोजे । 

महामन्त्री ढकालले आफ्नो वाक स्वतन्त्रता र लोकतान्त्रिक अधिकार हनन भएको भन्दै मुखमा टेप लगाएर बस्ने बताए । लगत्तै उनी बाहिर गएर टेप लगाएर बैठक हलमा प्रवेश गरे । त्यो बिचमा १०–१५ मिनेट बैठक स्थगित भयो । 

बैठक पुनः सुरु हुँदा सभापति लामिछानेले प्रतिवेदन पढ्न आग्रह गरे । ‘महामन्त्रीले नै बुझाएको प्रतिवेदन सभापतिको हातमा थियो । सभापतिले महामन्त्रीलाई प्रतिवेदन पढ्न दिनुभयो । तर, महामन्त्रीले म यो पढ्दिनँ भन्नुभयो,’ खनालले भने । महामन्त्री ढकालले प्रतिवेदन पढ्न नमानेपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाए ।

बैठकमा बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाएपछि करिब १२ बजेतिर लन्चब्रेक भएको थियो । ‘सभापतिलाई दिएको प्रतिवेदनमा उहाँले भनेजस्तो केही छैन । हामीले पढेर सुनिसक्यौँ,’ उनले भने ।

केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री बुर्लाकोटीले प्रस्तुत गरेको महामन्त्री ढकालको प्रतिवेदनमाथि अहिले छलफल भइराखेको खनालले बताए । केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप