शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बिहारमा फेरि भत्कियो ३ वटा पुल

बुधबार, १९ असार २०८१, १२ : ५२
बुधबार, १९ असार २०८१

पटना । बिहारमा फेरि पुल भत्किएका छन् । सिवानमा एकपछि अर्को गर्दै तीन वटा पुल भत्किएका हुन् । अविरल वर्षाका कारण केही घण्टामै तीन वटा पुल भत्किएका छन् । 

सुरुमा महाराजगन्ज उपविभागको पाटेधा गाउँ र देवरिया गाउँको बिचको एउटा पुल भत्किएको छ । यहाँ गण्डक नदीमा बनेको ३५ वर्ष पुरानो पुलको एउटा पिल्लर धसिन सुरु भयो । केही बेरमै पुल लडेर गण्डक नदीमा डुब्यो । दोस्रो घटना महाराजगन्ज ब्लकको तेवाथा पञ्चायतको हो । नौतन र सिकन्दरपुर गाउँपालिकाको गण्डक खोलामा बनेको पुल भत्किएको छ ।

धिमही गाउँमा गण्डक नदीमा तेस्रो पुल बनिरहेको थियो । सो पुल पनि ढलेको छ । केही दिनअघि मात्रै सो पुलको मर्मत भएको बताइएको  । तर पनि पुल भत्कियो । पानीको तीव्र बहाव सहन नसकेर पुल भत्किएको बताइएको छ । पुलहरू भत्किएपछि कयौँ गाउँहरूबिच आउजाउ प्रभावित भएको छ । पुल बनाउने काममाथि नै जनताहरूले प्रश्न उठाइरहेका छन् । यी दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यी दुर्घटना हुनुअघि जुन २२ मा महाराजगन्ज उपखण्डको पाटेधा र गारौली गाउँबिचको गण्डक नहरमा रहेको पुल अचानक भत्किएको थियो । ३० वर्षअघि बिहार सरकारले यो पुल बनाएको बताइएको छ । यसअघि मधुबनी जिल्लाको मधेपुर ब्लकमा रहेको भेजा कोशी बाँध चोकदेखि महापटिया मुख्य सडकको नजिकै लालवाढीमा पुल भत्किएको थियो ।

जुन २३ मा पूर्वी चम्पारणको घोरासहन ब्लकमा रु डेढ करोडको लागतमा निर्माणाधीन पुल भत्किएको थियो । अहिले यसको भिडियो भाइरल भइरहेको छ । जुन १८ मा बकरा नदीमा बनेको पुल उद्घाटन अघि नै भत्किएको थियो । एकपछि अर्को गर्दै पुल भत्किएका घटनाहरू भइरहँदा जनताले बिहार सरकारमाथि प्रश्न उठाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप