शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट : ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका तस्किन अहमदले माफी मागे

बुधबार, १९ असार २०८१, ११ : ५४
बुधबार, १९ असार २०८१

काठमाडौँ । बङ्गलादेशी क्रिकेट टोलीका प्रभावशाली बलर तस्किन अहमदले हालै सम्पन्न टी–२० विश्वकपका क्रममा आफूबाट भएको एउटा गम्भीर गल्तीका लागि सार्वजनिक रूपमा माफी मागेका छन् । उनी टी–२० विश्वकपमा बङ्गलादेशी टोलीका उप–कप्तान पनि थिए ।

खासमा जुन २२ तारिखमा भारत र बंगलादेशबिच ‘सुपर–८’ चरणको खेल खेल्ने कार्यक्रम थियो । खेलका लागि बङ्गलादेशी टोलीका सबै सदस्य एन्टिगुआस्थित सर भिभियन रिचर्डस स्टेडियम पुगिसकेका थिए ।

तर, टोलीका तीव्र गतिका बलर तस्किन अहमद भने मैदानमा उपस्थित थिएनन् । होटलबाट खेलाडीसहितको बस स्टेडियमतर्फ प्रस्थान गर्नुअघि पनि प्रशिक्षकसहित अन्य खेलाडीले पटक–पटक तस्किन अहमदलाई फोन गरेका थिए । तर, उनले फोन पनि उठाएका थिएनन् ।

उनी सम्पर्कमा नआएपछि अन्ततः टोलीका प्रमुख प्रशिक्षक चन्डिका हथुरुसिंघाले तस्किन अहमदलाई भारतविरुद्धको महत्त्वपूर्ण खेलमा नखेलाउने निर्णय लिए । प्रशिक्षकले तस्किन अहमदको नाम हटाएर खेलाडीको सूचि पेस गरे ।

खेलका क्रममा आफ्ना प्रभावशाली खेलाडीलाई नदेखेपछि बङ्गलादेशका समर्थकहरू समेत असन्तुष्ट बनेका थिए । त्यसपछि खेल सुरु हुनुभन्दा अगाडि तस्किन अहमद स्टेडियम पुगेका थिए । तर, उनलाई प्रशिक्षकले भारतविरुद्ध मैदानमा उतारेनन् ।

त्यो खेलमा बङ्गलादेश ५० रनले पराजित भएको थियो । बङ्गलादेशी टोली ‘सुपर–८’ चरणबाटै बाहिरिएको थियो । त्यो घटनापछि प्रमुख प्रशिक्षक र तस्किन अहमदबिच मतभेद बढेको अनुमान गरिएको थियो । यद्यपि, अफगानिस्तानविरुद्धको खेलमा भने प्रशिक्षकले उनलाई खेलाएका थिए ।

यो सबै विवरण प्रमुख प्रशिक्षकले बङ्गलादेशी क्रिकेट बोर्डलाई पनि उपलब्ध गराएका थिए । महत्त्वपूर्ण खेलमा अनुपस्थित भएको भन्दै उनको आलोचना पनि सुरु भएको थियो । सोही घटनालाई लिएर अहिले तस्किन अहमदले क्रिकेट बोर्ड, प्रशिक्षक र समर्थकसँग माफी मागेका हुन् ।

बङ्गलादेश क्रिकेट बोर्डका एक उच्च अधिकारीका अनुसार, राती ढिलो सुतेको र बिहान निकै ढिलो उठेकाले उनले होटेलबाट स्टेडियम जाने बस छुटाएका थिए । तस्किन अहमदले पनि यस्तै बयान बोर्डमा दिएका छन् । तस्किन अहमद उपस्थित नभएपछि बङ्गलादेशले भारतविरुद्धको खेलमा केवल दुई जना तीव्र गतिका बलरलाई मैदानमा ओरालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप