शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

धान बालीमा मल कति र कसरी हाल्ने ?

बुधबार, १९ असार २०८१, ११ : ०६
बुधबार, १९ असार २०८१

काठमाडौँ । नेपालको मुख्यबाली धानबालीको खेतीपातीको सिजन हो । देशभर नै धान खेती भइरहेको छ । 

यसबेला किसानलाई धान बालीमा रासायनिक मल सही मात्रमा कसरी हाल्ने भनेर जानकारी नहुन सक्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धान बालीका लागि रासायनिक मल सही मात्र र विधिबारे सुझाव दिएको छ । 

  • कति हाल्ने मल ?

पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा धान खेती गर्दा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर हाल्नुपर्ने नार्कले जनाएको छ । ती क्षेत्रमा धान खेतीका लागि फस्फोरस ४० किलो र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्न सुझाव दिइएको छ ।

मध्य तराईको पर्सादेखि सप्तरीसम्मको क्षेत्रमा धान बाली लगाउँदा नाइट्रोजन एक सय २० किलो प्रतिहेक्टर, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ ।

पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासीमा धान खेतीका लागि नाइट्रोजन एक सय ३० किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । ती क्षेत्रमा फस्फोरस ४० किलो प्रतिहेक्टर र पोटास ५० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

उता, बाँकेदेखि कञ्चनपुरसम्मको क्षेत्रमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर, फस्फोरस र पोटास प्रतिहेक्टर ३०–३० किलो प्रयोग गर्नुपर्ने उल्लेख छ ।

भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर जिल्लामा धानका लागि नाइट्रोजन एक सय २५ किलो प्रतिहेक्टर प्रयोग गर्न भनिएको छ । त्यस्तै, फस्फोरस र पोटास ४०–४० किलो प्रतिहेक्टर प्रयोग गर्नुपर्छ ।

पहाडी क्षेत्रमा धान बालीमा नाइट्रोजन एक सय किलो प्रतिहेक्टर तथा फस्फोरस र पोटास ३०–३० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

सबै क्षेत्रमा रोपिने वर्णशंकर धान बालीको लागि नाइट्रोजन एक सय ५० किलो प्रतिहेक्टर, फस्फोरस ५० किलो र पोटास ६० किलो प्रतिहेक्टर प्रयोग गर्न नार्कले सिफारिस गरेको छ ।

मुलुकभरका धान बालीमा जिङ्क दुईदेखि तीन किलो प्रतिहेक्टर प्रयोग गर्न सिफारिस गरिएको छ । सबै क्षेत्रका धान बालीमा बोरोनको मात्रा भने प्रतिहेक्टर एक किलो हाल्न सकिने नार्कले जनाएको छ ।

  • कसरी हाल्ने मल ? 

धान बालीमा रासायनिक मलको प्रयोग गर्दा फस्फोरस, पोटास, जिङ्क सल्फेट, बोरेक्सको पूरै मात्रा र नाइट्रोजनको एक तिहाइ भाग जमिनको अन्तिम तयारीमा प्रयोग गर्न सकिन्छ ।

धान बालीमा गाँज आउने अर्थात् २५ देखि ३० दिनमा एक तिहाइ नाइट्रोजन प्रयोग गर्न र बाँकी एक तिहाइ भाग धान फुल्नु भन्दाअघि अर्थात् ५० देखि ५५ दिनपछि प्रयोग गर्न नार्कले भनेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष करिब १३ लाख हेक्टर जमिनमा भान खेती हुने अनुमान गरिएको छ । 

rasaynik mal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप