शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरको अल्टिमेटमलाई अस्पतालहरूले गरे बेवास्ता

बुधबार, १९ असार २०८१, १८ : ००
बुधबार, १९ असार २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब एक महिनाअघि निजी तथा सामुदायिक अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । महानगरभित्र सञ्चालित निजी तथा सामुदायिक गरी ५२ वटा अस्पताल छन् । ती सबै अस्पताललाई गत जेठ २३ गते सूचना जारी गर्दै १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो ।

तर २७ दिन बितिसक्दा पनि महानगरको अल्टिमेटमलाई अस्पतालहरूले बेवास्ता गरेको पाइएको छ । महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ५२ वटामध्ये १५ वटा अस्पतालले मात्रै सो निर्देशन पालना गरेका छन् । अझै ३७ वटा अस्पतालले महानगरको निर्देशन मान्न आनाकानी गरेको महानगरको स्वस्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सर्वोच्च अदालतबाट २०७४ असोज २ मा भएको आदेश समेतका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको महर्जनको भनाइ छ ।

‘महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिएको पाइको छ,’ उनले भनिन्, ‘हामीले सूचना निकालेका थियौँ, एक पटक हामीले अनुरोध ग¥यौँ । अब एक पटक फेरि पत्र पठाएर वा फोन कल गरेर फलोअप गर्छौं ।’

सरकारी अस्पतालमा लगभग सबैको आफ्नै फार्मेसी छ । तर निजी अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी नभएको महर्जनले बताइन् । ‘हाम्रो क्षेत्राधिकार भनेको २५ शय्याको अस्पतालको फार्मेसीलाई नियमन गर्न मिल्छ,’ उनले भनिन्, ‘२५ शय्यामाथिको अस्पताल प्रदेश र संघ अन्तर्गतको क्षेत्राधिकारमा पर्छ । तै पनि हामी ताकेता गर्छौं ।’

गुणस्तरीय फार्मेसी सेवाबाट नागरिक वञ्चित
सेवाग्राहीहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासोका आधारमा महानगरले अस्पतालको आफ्नै फार्मेसीका लागि पहल गरेको हो ।

आफ्नै फार्मेसी नरहेका अस्पतालहरूले फार्मेसी सञ्चालनको प्रक्रियामा रहेको बताएका छन् । तर प्रशासनिक प्रक्रियाले गर्दा महानगरको दिएको समयावधिमा काम गर्न नसकेको उनीहरूको तर्क छ । ‘महानरपालिकाको जानकारी प्राप्त भएपछि हामी आफ्नै फार्मेसी सञ्चालनको प्रक्रियामा लागिपरेका छौँ,’ एक अस्पतालका अधिकारीले भने, ‘नेपालको प्रशासनिक झमेला तापाईंलाई थाहा नै छ, त्यो मैले भन्नै पर्दैन नि ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताल लगायत अस्पतालमा अनुगमन गर्दा फार्मेसीमा औषधि नभेटिएको पाइएको थियो । काठमाडौँ उपत्यकाभित्र सेवा सुविधा सम्पन्न अस्पतालहरू सञ्चालित छन् । यी अस्पताल मतहतमा फार्मेसी सञ्चालन हुन नसक्दा औषधिको गुणस्तरदेखि लिएर मूल्यमा पनि सेवाग्राही ठगिएका छन् । यसका लागि सरकारी निकायले नियमन गरी अस्पतालको स्वामित्वमा औषधि पसल सञ्चालन गराउनुपर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप