शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
पेरिस ओलम्पिक

जसले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन्

बुधबार, १९ असार २०८१, १० : ३६
बुधबार, १९ असार २०८१

काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म फ्रान्सको राजधानी सहर पेरिसमा आयोजना हुँदैछ ।

यसपटक ओलम्पिकमा ३२ खेलका ३२९ स्पर्धा समावेश गरिएको छ । ३३औँ ओलम्पिकका अधिकांश खेल पेरिस सहरमा आयोजना गरिने छ । केही खेल भने सेन्ट डेनिस, ले बोर्जेट, नान्तेरे, भर्साइल्स लगायतका छिमेकी सहरमा पनि खेलाइने छ ।

पेरिस ओलम्पिकमा १० हजार पाँच सय खेलाडीको सहभागिता रहने छ । यसपटक ओलम्पिकमा रुस र बेलारुसको भने सहभागिता रहने छैन । युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यी दुई राष्ट्रलाई पेरिस ओलम्पिकमा सहभागी हुनबाट रोक लगाएको छ ।

३३औँ ओलम्पिक सकिएलगत्तै पेरिसमै गृष्मकालीन पारा ओलम्पिक (फरक क्षमता भएका खेलाडीहरूको ओलम्पिक) सुरु हुनेछ । पारा ओलम्पिक खेलकुद अगस्त २८ देखि सेप्टेम्बर ८ तारिखसम्म हुनेछ । पेरिस पारा ओलम्पिकमा विभिन्न २२ खेलका ५४९ स्पर्धा समावेश गरिएको छ ।

विश्व खेलकुदको महाकुम्भ सुरु हुन एक महिनाभन्दा पनि कम समय बाँकी रहँदा आयोजक राष्ट्र प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छ । सहभागी खेलाडीहरू पनि बृहत् खेलमञ्चमा आफ्नो उत्कृष्टता सिद्ध गर्ने लक्ष्यसहित अन्तिम चरणको प्रशिक्षणमा होमिएका छन् ।

पेरिस ओलम्पिकमा नेपालले विभिन्न खेलमा आफ्ना खेलाडी सहभागी गराउँदै छ । ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालका सात जना खेलाडी सहभागी हुनेछन् । त्यसमध्ये एक खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् । बाँकी ६ खेलाडीले भने ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।

टेबलटेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा पौडीकी डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी पेरिस पारा ओलम्पिकमा पनि नेपालका तीन खेलाडीले आफ्नो खेल प्रदर्शन गर्नेछन् । पारा ओलम्पिकमा पनि एक खेलाडीले छनोट चरण पार गर्दै आफ्नो सहभागिता पक्का गरेकी हुन् भने बाँकी दुई खेलाडीले ‘वाइल्ड कार्ड’मार्फत सहभागिताको अवसर पाएका हुन् । 

  • स्यान्टु श्रेष्ठ (टेबलटेनिस)

टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा सहभागी हुन लागेका हुन् । छनोट प्रतियोगितामा खेलेर ओलम्पिकमा सहभागी हुने उनी नेपालका तेस्रो खेलाडी हुन् । छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने नेपालको पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य र दोस्रो खेलाडी तेक्वान्दोकै दीपक विष्ट हुन् ।

पेरिस ओलम्पिकका लागि अन्तिम चरणको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमै आयोजना भएको थियो । नेपालमा पहिलो पटक आयोजना भएको टेबलटेनिसको छनोट प्रतियोगितामा आफ्नो उत्कृष्टता सिद्ध गर्ने स्यान्टुले पेरिस ओलम्पिकमा स्थान पक्का गरेका हुन् ।

shantoo-shrestha

गत जेठमा काठमाडौँमा सम्पन्न छनोट प्रतियोगिताको पुरुष एकलतर्फ स्यान्टुले आफ्नै राष्ट्रका संयोग कपालीलाई हराउँदै ओलम्पिकमा स्थान बनाएका थिए । स्यान्टुले श्रीलंकाका चामिरा गिनिगेलाई र संयोगले पनि श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएका थिए । प्रतिस्पर्धात्मक फाइनलमा स्यान्टुले संयोगलाई ४–३ सेटले हराएका थिए ।

स्यान्टु ओलम्पिक खेलकुदमा सहभागिता जनाउने पहिलो नेपाली टेबलटेनिस खेलाडी पनि बनेका छन् । अस्ट्रेलियामा अध्ययनरत स्यान्टु छनोट प्रतियोगिता खेल्न नेपाल आएका थिए । स्यान्टुले पोखरामा सम्पन्न नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए ।

त्यसअघि उनले नेपालमै आयोजित १३औँ दक्षिण एसियाली खेलकुद (साग) पनि चार वटा पदक जितेर आफ्नो क्षमताको परिचय दिएका थिए । १३औँ साग सुरु हुनुअघि उनी दुर्घटनामा परेर घाइते भएका थिए । केही साता अस्पताल बसेपछि उनी पुनः प्रशिक्षणमा फर्किएका थिए ।

  • सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । उनलाई पेरिस ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ उपलब्ध गराउन नेपाल एथलेटिक्स संघले नेपाल ओलम्पिक कमिटी (एनओसी)मार्फत प्रक्रिया अगाडि बढाएको थियो ।

लामो दूरीकी धाविका सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । सन्तोषीले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । यसअघि उनले चीनको हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेकी थिइन् ।

सन्तोषीले त्यसअघि नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेकी थिइन् । उनले १३औँ सागको महिला १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

सन्तोषी दक्षिण एसियाली खेलकुदको इतिहासमा एथलेटिक्सतर्फ नेपालका लागि स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले गत वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु म्याराथनको दक्षिण एसियाली स्पर्धातर्फ पनि स्वर्ण पदक जितेकी थिइन् ।

  • प्रिन्स दाहाल (ब्याडमिन्टन)

नेपालका चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् । प्रिन्सलाई विश्वव्यापी कोटाअन्तर्गत पेरिस ओलम्पिकमा सहभागी गराउन नेपाल ब्याडमिन्टन संघले नेपाल ओलम्पिक कमिटीमार्फत प्रक्रिया अगाडि बढाएको थियो ।

सोही अनुरुप विश्व ब्याडमिन्टन महासंघको पहलमा प्रिन्सले पेरिस ओलम्पिकका लागि ‘वाइल्ड कार्ड’ प्राप्त गरेका हुन् । उनी नेपालबाट ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी बन्ने छन् । प्रिन्स नेपाली ब्याडमिन्टनका क्षमतावान युवा खेलाडी हुन् ।

प्रिन्स विश्व जुनियर ब्याडमिन्टन वरीयताको पहिलो स्थानमा रहन सफल नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा उनले पुरुष एकल स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले चीनमा सम्पन्न ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रिन्स पछिल्लो समय पेरिस ओलम्पिकको तयारीमा व्यस्त छन् ।

  • सुस्मिता नेपाल (सुटिङ)

सुटिङ खेलाडी सुस्मिता नेपालले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । नेपाल सुटिङ संघले नेपाल ओलम्पिक कमिटीमार्फत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) समक्ष सुस्मिताको ‘वाइल्ड कार्ड’ का लागि प्रस्ताव गरेको थियो ।

Susmita-Nepal

अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘वाइल्ड कार्ड’का लागि आवश्यक न्यूनतम स्कोर गरेका कारण सुस्मिताले पेरिस ओलम्पिकमा यो अवसर पाएकी हुन् । सुस्मिताले इन्डोनेसियाको जकार्तामा सम्पन्न एसियन सुटिङ च्याम्पियनसिपमा ६१६.२ स्कोर गरेकी थिइन् । त्यसमा उनी ५०औँ वरीयतामा रहेकी थिइन् ।

३३औँ गृष्मकालीन ओलम्पिकमा सुस्मिताले महिला १० मिटर एयर राइफल स्पर्धामा नेपलको प्रतिनिधित्व गर्नेछिन् । उनले जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा पनि भाग लिएकी थिइन् । त्यो प्रतियोगितामा उनले ६०२.५ स्कोर गरेकी थिइन् । 

सुस्मिताले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि भाग लिएकी थिइन् । उनले सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् । उनी अहिले पेरिस ओलम्पिकका लागि अन्तिम तयारीमा व्यस्त छिन् ।

नेपाली सुटिङ खेलाडीले यसअघि पनि ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । नेपालले सन् १९८८ को सोल ओलिम्पकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । तर, ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिकमा भने नेपालले सुटिङ खेलमा सहभागिता जनाएको थिएन ।  

  • डुवाना लामा (पौडी)

नेपाली पौडी खेलाडी डुवाना लामाले पनि पेरिस ओलम्पिकमा सहभागिता जनाउने भएकी छन् । उनी पनि ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकमा छनोट भएकी हुन् । नेपाल पौडी संघले नेपाल ओलम्पिक कमिटीमार्फत डुवानालाई ‘वाइल्ड कार्ड’ उपलब्ध गराउन प्रक्रिया अगाडि बढाएको थियो ।

duana-lama

गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुवानाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले नवौँ बृहत् राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित नौ वटा स्वर्ण पदक जितेकी थिइन् । अन्य घरेलु प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

प्रतिभाशाली पौडी खेलाडी डुवानाले नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पनि देशका लागि पदक जितेकी छन् । उनले १३औँ सागको दुई सय मिटर बे्रस्टस्ट्रोक र दुई सय मिटर बटरफ्लाई स्पर्धामा रजत पदक जितेकी थिइन् । उनले पेरिस ओलम्पिकका लागि वैदेशीक प्रशिक्षण पनि गरेकी छन् ।

  • एलेक्जेन्डर शाह (पौडी)

३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालबाट दुई जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पेरिस ओलम्पिकमा पौडी खेलाडी एलेक्जेन्डर शाहले पनि सहभागिता जनाउने छन् । उनले पनि ‘वाइल्र्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिक खेल्न लागेका हुन् ।

alexandar shah

एलेक्जेन्डरले यसअघि पनि ओलम्पिक खेलकुदको अनुभव बटुलिसकेका छन् । उनले सन् २०२० मा जापानको टोकियोमा सम्पन्न ओलम्पिकमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । उनले नवौँ बृहत् राष्ट्रिय खेलकुदको ५० मिटर फ्रिस्टाइल स्पर्धामा आफ्नै कीर्तिमान सुधार गरेका थिए ।

एलेक्जेन्डरले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका छन् । उनले कतारको दोहामा भएको विश्व एक्वाटिक च्याम्पियनसिप र चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।

  • मनिता श्रेष्ठ प्रधान (जुडो)

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पनि पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले पनि ‘वाइल्ड कार्ड’मार्फत नै पेरिस ओलम्पिकमा सहभागिता जनाउन लागेकी हुन् । उनी ३३औँ गृष्मकालीन ओलम्पिकमा सहभागिताको अवसर पाउने सातौँ नेपाली खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा मनिताले महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । दक्षिण एसियाली खेलकुद (साग) को १२औँ र १३औँ संस्करणकी रजत पदक विजेता २५ वर्षीय मनिताले नौ वर्षको उमेरदेखि जुडो खेल्न थालेकी थिइन् ।

manita shrestha

उनको पहिलो प्रतियोगिता सन् २०११ मा काठमाडौँमा आयोजना भएको त्रियोग जुडो च्याम्पियनसिप हो । त्यसमा मनिताले स्वर्ण पदक जितेकी थिइन् । मनिता ओलम्पिक छात्रवृत्तिप्राप्त खेलाडी पनि हुन् । मनिताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांश्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायतका अन्तर्राष्ट्रिय पदक जितेकी छन् ।

मनितासँग एसियाली खेलकुदको १८औँ र १९ औँ संस्करण खेलेको अनुभव पनि छ । पेरिस ओलम्पिककै लागि मनिताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन् । मनिता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा पनि सहभागी छन् ।

ओलम्पिकमा सहभागी हुने मनिता छैटौँ नेपाली जुडो खेलाडी हुन् । यसअघि सन् १९८८ को सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, सन् २००८ को बेइजिङ ओलम्पिकमा देबु थापा, सन् २०१६ को रियो ओलम्पिकमा फुपु ल्हामु खत्री तथा सन् २०२० को टोकियो ओलम्पिकमा सोनिया भट्टले जुडोमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

  • पलेशा गोबर्धन (पारा ओलम्पिक, तेक्वान्दो)

पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन यसै वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने पारा ओलम्पिक खेलकुद प्रतियोगितामा छनोट भएकी छन् । चीनमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् ।

पलेशाले पारा ओलम्पिक खेलकुदमा सहभागिता जनाउन लागेको यो लगातार दोस्रो पटक हो । पलेशाले चीनमा सम्पन्न पेरिस ओलम्पिकको एसियाली छनोटमा के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।

पलेशाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् । पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । पलेशाले यसअघि सन् २०२० मा जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । टोकियो ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर चर्चा बटुलेकी थिइन् ।

वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पलेशाले अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । उनी कांस्य पदकका लागि भएको भिडन्तमा भने चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।

  • भरतसिंह महता (पारा ओलम्पिक, तेक्वान्दो)

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पनि पेरिस पारा ओलम्पिक–२०२४ मा सहभागिता जनाउने भएका छन् ।  भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएका हुन् । भरतले पेरिस पारा ओलम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भरतसँग हालसम्म दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट प्रतियोगिता र भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

bharat-singh-mahata

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी अगाडि बढेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।

भियतनाम पनि भरतले एसियाली छनोटकै जस्तो नतिजा निकालेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोस्रो खेलमा अजरबैजानका खेलाडीसँग हारेका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएका थिए ।

  • भीमबहादुर कुमाल (पारा ओलम्पिक, पौडी)

पारा पौडी खेलाडी भीमबहादुर कुमालले पनि पेरिस पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारा ओलम्पिक सहभागिता निश्चित भएको हो ।

भीमले पेरिस पारा ओलम्पिकमा पुरुष ५० मिटर फ्रिस्टायल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो सक्रिय खेलजीवनमा चार वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले चीनको हाङचाउमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

भीमले पछिल्लोपटक खेलेको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो । त्यो प्रतियोगिता पेरिस पारा ओलम्पिकको छनोटको आधारसमेत थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रिस्टायल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप