शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हेटौँडामा  नमूना सडक बनाइँदै

बुधबार, १९ असार २०८१, १० : ४५
बुधबार, १९ असार २०८१

हेटौँडा  । हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमूना सडक बनाउने  भएको छ ।   हेटौँडा –४ स्थित रजतजयन्ती र हेटौँडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमूना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमूना सडकको रुपमा निर्माण गरिने उनले बताइन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमूना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताइन् ।  रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उनले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ ।

 नमूना सडक निर्माणले हेटौँडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए ।  यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप