शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

केन्द्रमा समीकरण बदलिए पनि कर्णालीका मुख्यमन्त्री यामलाल ढुक्क

बुधबार, १९ असार २०८१, १० : ४५
बुधबार, १९ असार २०८१

सुर्खेत । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भइसकेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।

केन्द्रमा भएको प्रारम्भिक छलफल अनुसार पनि कर्णालीको नेतृत्व एमालेले गर्ने बताइएको छ । यद्यपि सहमतिको वास्तविक पत्र भने बाहिर आइसकेको छैन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् ।

यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक हुन्छ । दुई दल मिल्दा सहजै बहुमत पुग्ने हुँदा पहिलो चरणमा एमाले संसदीय दलका नेतासमेत रहेका कँडेलले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिन्छ ।

उता कांग्रेस भने यतिबेला संसदीय दलको नेता विहीन अवस्थामा छ । दलका नेता रहेका जीवनबहादुर शाहीविरुद्ध वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । कांग्रेसले अहिलेसम्म दलको नेता चयन गरेको छैन ।

यद्यपि अहिले कांग्रेसको तर्फबाट प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलमा नेतृत्व गरिरहेका छन् भने शाहीले आवश्यक परेको खण्डमा बाहिरबाटै सल्लाह–सुझाव दिने गरेका छन् ।

मुख्यमन्त्री कँडेल नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए । कँडेल नेतृत्वको सरकारका माओवादीका तर्फबाट चार जना मन्त्री छन् । जसमा अर्थमन्त्री महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमा दुर्ग बहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमा रणसिं परियार मन्त्री छन् । केन्द्रमा समीकरण बदलिएसँगै कर्णालीमा माओवादीले के गर्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।

पूर्वमन्त्री एवम् माओवादी सांसद कृष्णबहादुर जिसी केन्द्रमा सरकार परिवर्तन भइनसकेकाले अहिले नै त्यो तहबारे प्रदेशमा सोच्नुपर्ने स्थिति नआएको बताउँछन् ।

‘माथि एमाले–कांग्रेसबिच सहमतिमात्र भएको भन्ने हो, सरकार नै परिवर्तन भइसकेको अवस्था छैन,’ उनले भने, ‘यदि सरकार नै परिवर्तन भएको खण्डमा त्यसको असर प्रदेशमा पनि पर्छ नै ।’

यदि केन्द्रमा एमाले–कांग्रेस मिलेर गएको खण्डमा प्रदेशमा सोही अनुसार हुने कुरालाई अन्यथा मान्न नहुने जिसीले बताए । उनले भने, ‘प्रदेशहरू केन्द्रीय राजनीतिकै प्रभावमा छन् । यहाँको परिस्थिति अनुसार सबै मिलेर जान सकिँदैन भन्ने हुँदैन । तर त्यो सम्भावना रहन्न ।’

माओवादीबाट मन्त्री बनेकाहरू पनि अहिले नै त्यो विषयमा कुरा गर्ने समय नआएको बताउँछन् । केन्द्रमा समीकरण बदलिएपछि कांग्रेस सांसदहरू भने उत्साहित देखिन्छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्ट संघीय सरकारमा फेरबदल आएपछि त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्ने बताउँछन् । अहिले बजेटमाथिको छलफल चलिरहेको छ । केन्द्रमा नयाँ सरकार बनेपछि माथिबाट के निर्देशन आउँछ, सोही अनुसार कांग्रेसले धारणा बनाउने उनले बताए ।

एमाले प्रमुख सचेतक टेकराज पछाई पनि केन्द्रको समीकरण अनुुसार नै प्रदेश अघि बढ्ने तर अहिले नै यो विषयमा छलफल गरिहाल्नुपर्ने स्थिति नआएको बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप