शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
कलकार

कमेडीबाट फिल्ममा हिमेशको छलाङ

राजनीतिमा लागेपछि कमेडी कार्यक्रमको खडेरी
बुधबार, १९ असार २०८१, ०९ : ५७
बुधबार, १९ असार २०८१

काठमाडौँ । कमेडियनका रूपमा परिचयन बनाएका हिमेश पन्त आफ्नो पहिचान विस्तार गर्ने क्रममा छन् । त्यसैले उनी पछिल्लो समय कमेडी कार्यक्रममा देखिन छाडेका छन् ।

त्यसो त राजनीतिमा लागेपछि कलाकारका रूपमा आफ्नो व्यस्तता घटेको उनले सुनाए ।

‘राजनीतिमा लागेपछि पहिलेको तुलनामा कार्यक्रमको अफर कम आएका छन्’, हिमेशले भने ‘पहिले महिनामा ६/७ वटा कार्यक्रम गर्थें । अहिले वर्षमा ६/७ वटा कार्यक्रम हुन्छ ।’

himesh-pant

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका विजेता हुन् हिमेश । करिब ४ वर्ष अगाडि ‘कमेडी च्याम्पियन’ विजेता बनेका उनलाई केही समय देश–विदेशको कार्यक्रमले व्यस्त बनायो । पछिल्लो समय भने उनलाई कार्यक्रमको त्यति चटारो छैन । राजनीतिमा लागेपछि आफूलाई कार्यक्रमको कमी हुन थालेको उनी बताउँछन् ।

हिमेश २०७९ बाट राजनीतिमा होमिएका हुन् । २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङको क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए । तर उनी पराजित भए ।

अब भने उनी नयाँ कमेडी शो ‘कमेडी दरबार’मा देखिने  तरखरमा छन् । ‘कमेडी दरबार’ विक्की अग्रवालले ल्याउन लागेको नयाँ शो हो । ‘कमेडी च्याम्पियन सिजन २’ का उपविजेता विक्कीको यो शोमा पन्तको अलावा गौरी मल्ल, विजय बराल, पवन खतिवडा, सुन्दर खनाल, विकास अर्याललगायत थुप्रै कलाकार देखिनेछन् । विक्की र श्रद्धा प्रसाईंको निर्देशन रहने शो पूर्ण पारिवारिक हुनेछ ।

‘कमेडी दरबारमा म दर्शकका लागि फुलडोज कमेडी सहित देखिने छु’, हिमेशले थपे, ‘शोमा मेरा अर्ग्यानिक कमेडी हुनेछन् ।’

  • अब हिरो हिमेश

हिमेश पछिल्लो समय आफ्नो परिचय फराकिलो पार्ने तरखरमा छन्, फिल्म अभिनयमार्फत । मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एन्ड बधु’ उनले अभिनय गरिसकेका छन् भने अहिले ‘ज्वाइँ साप’मा अभिनयरत छन् ।

‘वर एन्ड बधु’ प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, कुशुम शर्मा, श्रृष्टि श्रेष्ठ, दिनेश काफ्लेको समेत अभिनय छ । फिल्मको भूमिका अहिले खुलाउन नमिल्ने उनी बताउँछन् ।

WhatsApp Image 2024-06-30 at 15.46.15

‘ज्वाइँ साप’ अहिले छायाङ्कनरत फिल्म हो । फिल्म छायाङ्कनको अन्तिम चरणमा छ । फिल्ममा जीतु नेपाल र बुद्धि तामाङको समेत अभिनय छ । फिल्ममा जीतु, बुद्धि र आफू तीनै जना हिरो भएको हिमेशले बताए । यो फिल्ममा नीति शाह अभिनेत्री छन् ।

‘यो बलिउडको हेराफेरी जस्तो फिल्म हो’, पन्तले भने । हिरोइनका लागि तीन पात्रले गर्ने संघर्ष नै कथा भएको उनले खुलाए ।

‘वर एन्ड बधु’ र ‘ज्वाइँ साप’ मा म सेकेन्ड टाइपको हिरो हुँ’, उनी भन्छन् ‘आफू कन्फिडेन्ट नभएसम्म हिरो नखेल्ने योजनाले सेकेन्ड टाइपको हिरो गरेको हो ।’

फिल्म ‘ज्वाइँ साप’ सिच्युएसन कमेडी कथामा निर्माण भइरहेको फिल्म हो । फिल्म अभिनय एकदमै राम्रो भइरहेको उनले बताए । फिल्म अभिनयबाट धेरै कुरो सिक्न मिलेको उनको भनाइ छ ।

वसन्त निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साप’को रिलिज आगामी तिहारमा हुने बताइएको छ । फिल्म रिलिजपछि आफ्नो बेग्लै परिचय बन्नेमा उनी ढुक्क छन् ।

himesh-pant-2

‘वर एन्ड बधु’ र ‘ज्वाइँ साप’ मा म सेकेन्ड टाइपको हिरो हुँ’, उनी भन्छन् ‘आफू कन्फिडेन्ट नभएसम्म हिरो नखेल्ने योजनाले सेकेन्ड टाइपको हिरो गरेको हो ।’

केही फिल्ममा सहअभिनेताको चरित्रपछि हिरो खेल्ने इच्छा उनले राखे ।

  • भर्खरको इच्छा

हिमेशको फिल्म अभिनय सानैदेखिको रहर भने होइन । सानैदेखि उनको कमेडी सपना थियो । त्यो उनले कमेडी  च्याम्पियन शोबाट पूरा गरे । फिल्ममा त कमेडीको सिलसिलामै अफर आएपछि गरौँ न त भनेर गरेको उनले खुलाए ।

‘मेरो उद्देश्य ठुलो प्लेटर्फममा पुगौँ, ठुलो अवसर प्राप्त गरौँ भन्ने सधैँ रहन्थ्यो’, पन्त भन्छन् ‘कमेडी गर्दागर्दै फिल्मको अफर आयो । अनुभव लिऔँ भनेर होमिएँ ।’

हिमेशसँग अभिनयका लागि अझै ३/४ फिल्मको अफर छन् । ती फिल्म गर्ने कि, पहिले अभिनय गरेको फिल्मको रिलिज पर्खिने भन्नेबारे उनी विचार गर्दैछन् ।

हिमेशलाई कमेडी च्याम्पियन जित्नेबित्तिकै अभिनेता भुवन केसीले पहिलो फिल्म अफर गरेका थिए ।

‘कमेडीमा रुचाएको व्यक्तिलाई फिल्म के हुन्छ भन्न सकिन्न’, पन्तले भने, ‘कमेडी र फिल्म फरक कुरा हुन् । यसको अडियन्स नै फरक छन् ।’

पछिल्लो समय कमेडी फिल्म राम्रो भइरहेकाले कमेडियनको अभिनय पनि राम्रो हुनसक्ने उनले अनुमान लगाए ।

हिमेशलाई कमेडी च्याम्पियन जित्नेबित्तिकै अभिनेता भुवन केसीले पहिलो फिल्म अफर गरेका थिए । त्यो समय आफू तयार नभएकाले नगरेको बताउने पन्तले अहिले आउनुको कारण खोले, ‘कमेडी धेरै गरियो । अब फिल्म पनि गरौँ न त भन्ने लाग्यो ।’

अभिनयमा भर्खर होमिए पनि आफूले प्रायः सबै नेपाली फिल्म हेरेको हिमेशले बताए । प्रायः नेपाली फिल्मको प्रिमियरमा पुग्ने गरेको बताउने उनी नेपाली र हिन्दी फिल्म धेरै हेर्छन् । एक्सन, कमेडी र प्रेमकथाको फिल्ममा आफ्नो रुचि रहेको उनले सुनाए ।

h

  • व्यवसाय के भयो ?

हिमेश व्यावसायिक पनि हुन् । उनले धादिङमा दुनोटको व्यवसाय गरेका छन् । उनले उत्पादन गर्ने दुनोट अहिले बजारमा पाइनेभन्दा भिन्न छ । जुन दुनोट २०४० तिर होटल अन्नपूर्णमा बन्थ्यो । त्यो दुनोट उनका बुबाले अन्नपूर्णबाट सिकेपछि केही समय काठमाडौँमा बनाए, त्यसपछि धादिङ लगे ।

केही वर्ष अगाडिसम्म धादिङमा यो दुनोट चर्चित थियो । बुबाले बनाउन छाडेपछि उनले सुरु गरेका हुन् । अहिले धादिङका विभिन्न ठाउँमा राम्रो चल्तीमा रहेको यो दुनोट उनी अब काठमाडौँसम्म ल्याउने तरखरमा छन् ।

उनले भने, ‘बुबाको सिप किन नगर्ने भनेर यसको व्यवसाय थालेको हो ।’ धादिङमा यसलाई नरिवल भएको दुनोट भनेर चिन्नेसमेत उनले खुलाए । ‘दुनोटका लागि मार्केट टेस्टसमेत भइसक्यो,’ उनले थपे ।

कमेडी र फिल्ममा छाउन सफल उनले भविष्यको चिन्ताले व्यवसाय थालेका हुन् । उनले भने, ‘कलाकारिताको भर छैन, आफ्नो काम भयो भने सजिलो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप