शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा प्रादेशिक सडक गुरुयोजना कार्यान्वयन, कुन–कुन सडक समेटिए ?

बुधबार, १९ असार २०८१, ०९ : ३३
बुधबार, १९ असार २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रादेशिक सडक यातायात गुरु योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सडक छनौट गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने भएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन, २०७८ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी प्रदेश सार्वजनिक सडकहरूलाई प्रदेश लोकमार्ग तथा प्रदेश मार्गको पहिचान तथा वर्गीकरण गरी गुरुयोजना कार्यान्वयनमा अघि बढेको हो ।

मन्त्रालयले मापदण्ड अनुसार २० वटा प्रदेश लोकमार्ग र २३० वटा प्रदेश मार्ग निर्धारण गरेको छ । मन्त्रालयले सो सडक आयोजनामा लगानी गर्नेगरी गुरुयोजना कार्यान्वयनमा अघि बढेको मन्त्रालयमा सचिव अमृत श्रेष्ठले जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार गत असार १० गते प्रदेश लोकमार्ग र मागहरू निर्धारण गरी राजपत्रमा समेत प्रकाशन गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अनुसार सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा अघि बढेको हो । प्रदेश सरकारले बजेट विनियोजनलाई व्यवस्थित गर्दै लगानी आकर्षित गर्ने उद्देश्य अनुसार गुरुयोजना कार्यान्वयन गरिएको उनले बताए ।

कुल १ हजार ११ किलोमिटर लम्बाइको सो सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरी स्तरोन्नति र विकास गर्ने मन्त्रालयको योजना छ । सो बाहेकका अन्य सडक आयोजनाहरूमा बजेट विनियोजन गर्दा स्थानीय तहसँगको समन्वयमा काम गर्ने मन्त्रालयको तयारी छ ।

भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अनुसार सडक पूर्वाधार विकासलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा अघि बढेको हो । प्रदेश सरकारले बजेट विनियोजनलाई व्यवस्थित गर्दै लगानी आकर्षित गर्ने उद्देश्य अनुसार गुरुयोजना कार्यान्वयन गरिएको उनले बताए ।

प्राविधिक अध्ययनविना जथाभावी सडक खन्ने क्रम भङ्ग गरी वातावरणीय विनाश तथा विपद् जोखिमलाई नियन्त्रणमा महत्त्वपूर्ण हुने उनको भनाइ छ । सुरुवातदेखि नै सडक पूर्वाधार विकासमा जोड दिँदै आएको बागमती प्रदेश सरकारको गत जेठ २२ गतेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सडक गुरुयोजना स्वीकृत गरेको उनले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो गुरुयोजना अन्तर्गतका सडक पूर्वाधार निर्माणका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयद्वारा निर्धारित प्रदेश लोकमार्गहरू

मन्त्रालयले ललितपुर र मकवानपुरलाई जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको छ । मन्त्रालय ललितपुरको बागमती गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिका जोड्ने गरी प्रदेश लोकमार्ग निर्धारण गरेको हो ।

मन्त्रालयको मापदण्ड अनुसार ललितपुरको बगुवा–प्युटार–आश्राङ–गिम्दी खुर्मी–मन्थली– शिखरपुर–हात्तीसुँडे सडकलाई प्रदेश लोकमार्गका रूपमा विकास गर्ने भएको छ । ४७ किलोमिटर लम्बाइको उक्त सडकलाई स्तरीकरण गरी लोकमार्गको रूपमा विकास गर्ने मन्त्रालयको तयारी छ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भएकाले सो सडकलाई प्रदेश सरकारले प्राथमिकताका साथ लोकमार्गका रुपमा विकास गर्ने तयारी गरेको हो ।

त्यस्तै चितवनबाट धादिङको सीमासम्म जोड्न प्रदेश लोकमार्गका रूपमा सडक आयोजना पहिचान गरेको छ । मन्त्रालयले चितवनको रत्ननगर नगारपालिका हुँदै कालिका नगरपालिका, इच्छाकामना गाउँपालिकाबाट धादिङको गजुरी गाउँपालिकाको सीमा जोड्ने सडकलाई प्रदेश लोकमार्गका रूपमा विकास गर्ने भएको हो । मन्त्रालयले ६० किलोमिटर लम्बाइको बकुलर (रत्ननगर) जुटपानी–शक्तिखोर–उपरदाङगढी–तेर्से मायाटार–बशपुर–फिस्लिङ सडकलाई लोकमार्गको रूपमा विकास गर्ने तयारी गरेको हो ।

मुग्लिङ–नारायणगढ सडक खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भएकाले सो सडकलाई प्रदेश सरकारले प्राथमिकताका साथ लोकमार्गका रुपमा विकास गर्ने तयारी गरेको हो ।

प्रदेश लोकमार्गका रुपमा सरकारले बालाजु–नेपालटार–साङ्गला सडकलाई विकास गर्ने भएको छ । काठमाडौँको बालाजुबाट नेपालटार हुँदै साङ्गलासम्मको ९ किलोमिटर सडकलाई बालाजु बाईपास सडकको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रदेश सरकारले भैंसे–कुलेखानी–छैमले–बल्खु सडकलाई प्रदेश लोकमार्गको रूपमा विकास गर्ने भएको छ । गुरुयोजनामा समावेश गरी सरकारले राजधानी मार्ग नामकरण गर्दा बल्खु–छैमले–कुलेखानी–भैंसे सडक विकासको तयारी गरेको हो । काठमाडौं–हेटौंडा जोड्ने ६७ किलोमिटर लम्बाइको उक्त सडक स्तरोन्नतिसहित विकास गर्ने सरकारको तयारी छ ।

मन्त्रालयले चितवनको चौबिस कोठीदेखि मेघौलीसम्मको सडकलाई प्रदेश लोकमार्गको रूपमा विकास गर्ने तयारी गरेको छ । मन्त्रालयले २८ किलोमिटर लम्बाइको चौबिसकोठी (भरतपुर)–मंगलपुर–शारदानगर गुन्जनगर–दिव्यनगर–मेघौली–जितपुर–गोलाघाट सडकलाई लेकमार्ग कायम गर्नेगरी अघि बढाएको छ ।

काभ्रेको जिरो किलोबाट सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु जोड्ने सडकलाई लोकमार्ग कायम गरिएको छ । काभ्रेको जिरो किलो–मेलम्ची–हेलम्बु–तिम्बु–मेलम्ची घ्याङ (६० किलोमिटर) सडकलाई लोकमार्गको रूपमा विकास गर्न सरकारले गुरुयोजनामा समावेश गरेको छ ।

त्यसैगरी प्रदेश सडक गुरुयोजनामा ८१ किलोमिटर लम्बाईको सिन्धुलीदेखि उदयपुरको कटारी जोड्ने सडक समावेश गरिएको छ । सिन्धुलीमाडी–चकमके–अरुणठाकुर–कटारीसम्मको उक्त सडक प्रदेश लोकमार्ग अन्तर्गत राखेर विकास गर्ने मन्त्रालयको तयारी छ ।

काभ्रेको दोलालघाटबाट रामेछापको मन्थली जोड्ने गरी मन्त्रालयले प्रदेश लोकमार्ग निर्माण अघि बढाएको छ । मन्त्रालयले गुरुयोजना अन्तर्गत ९५ किलोमिटर लम्बाइको दोलालघाट–फलाटे–ढाडखर्क–गुराँसे–गाल्वा–मन्थली सडकलाई विकास गर्ने भएको हो । मन्त्रालयले काभ्रेदेखि मकवानपुरको बागमती गाउँपालिका जोड्ने गरी जनमुक्ति मार्ग निर्माण अघि बढाउने भएको छ । गुरुयोजना अन्तर्गत जनमुक्ति मार्ग नामकरण गरी ८४ किलोमिटर लम्बाइको पिङथली–भूमिचुली–देवीटार–तालढुंगा–सिक्रे दोभान–झुरझुरे सडक आयोजना अघि बढाउने मन्त्रालयको योजना छ ।

भक्तपुरबाट काभ्रेको दोलालघाट जोड्ने गरी ५६ किलोमिटर लम्बाइको सल्लाघारी–कमलविनायक–खरिपाटी–नगरकोट–हिंमुवापाटी–दोलालघाट सडक गुरुयोजनामा समावेश गरी अघि बढाइएको छ ।

गुरुयोजना अन्तर्गत मन्त्रालयले मैत्री मार्ग नामकरण गरी काठमाडौँदेखि सिन्धुपाल्चोकको बलेफी जोड्ने सडक आयोजना विकास गर्ने भएको छ । ६४ किलोमिटर लम्बाइको मैत्री मार्ग काठमाडौँबाट कात्तिके, चुरीथुम्का, सिपाघाट, चौताराहुँदै बलेफी जोडिने छ ।

रामेछापदेखि दोलखा जोड्ने सडक आयोजनालाई लोकमार्गको रूपमा अघि बढाउने मन्त्रालयको तयारी छ । गुरुयोजनामा समावेश गरिएको ४२ किलोमिटर लम्बाइको खिम्ती, रस्नालु, जिरी सडक स्तरोन्नतिसहित विकास गर्ने मन्त्रालयको योजना छ ।

गुरुयोजना अन्तर्गत ५१ किलोमिटर लम्बाईको तीनपिप्ले–ओखरपौवा–कोल्पुटार–गल्छी सडक, ४६ किलोमिटरको धादिङबेसी–स्याउले–बडरथोक–काफलपानी मांद्रेढुंगा सडक, २१ किलोमिटर लम्बाइको सुकुटे–मिलडाँडा–बाघभैरव–बाफल–लिसंखु–घ्याङडाँडा एक्काइस किलो सडक आयोजना समावेश गरिएको छ ।

मधेस प्रदेशबाट बागमती प्रदेश जोड्ने गरी १६ किलोमिटर लम्बाइको कर्मैया, बख्फर, हाकपारा मदन भण्डारी लोकमार्ग सडक, गणेशमान सिंह मार्ग नामकरण गरिएको २९ किलोमिटर लम्बाइको (कुन्छाल चित्लाङ थानकोट चेकपोष्ट सडक), ३३ किलोमिटर लम्बाइको मनमोहन मार्ग (चावहिल–साँखु–फट्केश्वर), ५१ किलोमिटर लम्बाइको मुकुन्द सेन मार्ग (धादिङबेसी–फोस्रेटार–मांद्रेढुंगा–त्रिशुली सडक) र ५२ किलोमिटर लम्बाइको मुडे–मेलुङ–सितली सडकलाई प्रदेश लोकमार्ग कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप