शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बीमा रकम हत्याउन आफ्नै पसलमा चोरी

मङ्गलबार, १८ असार २०८१, २२ : ११
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । चितवनको कालिका नगरपालिका–६ मा रहेको एक सुनचाँदी पसलमा भएको चोरीको घटना बीमा रकम ठगी गर्न भएको खुलासा भएको छ । पसलका मालिकले नै योजना बनाएर पसलमा चोरी गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । राति करिब साढे आठ बजे मोटरसाइकलमा आएका दुईजना अपरिचित पुरुषले पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी र चक्कु घाँटी तेर्साएर पसलमा राखिएको विभिन्न गरगहनाहरू चोरी गरेका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार करिब २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदी र हिराको गहना चोरी भएको थियो । चोरीको घटनापछि सीआईबी र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानबाट पसलका सञ्चालक विनोद सुनार आफैले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायका साथ चोरी तथा डाँका गर्न लगाएको खुलेको उपरीक्षक बोगटीले बताए ।

प्रहरीले यस घटनामा पाँच जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा चितवन ३५ वर्षीय विनोद सुनार, २५ वर्षीय विजय विश्वकर्मा, ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा, १८ वर्षीय पवनकुमार पासवान र ४२ वर्षीय अन्जना पुडासैनी केसी रहेका छन् । 

सुनारलाई विजय विश्वकर्माले चोरी गर्न सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै, पूर्णबहादुर र पवनकुमार मिलेर पसलमा चोरी गरेको नाटक गरेका थिए । अन्जना पुडासैनी विनोदको मिल्ने साथी भएको र उनले चोरी गरेको धनमाल लुकाउन सहयोग गरेकी थिइन् ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२०, चोरी डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उपरीक्षक बोगटीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप