बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
कोपा–अमेरिका फुटबल

क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्न ब्राजिल र कोस्टा रिकाबिच चर्को प्रतिस्पर्धा

मङ्गलबार, १८ असार २०८१, २१ : ०१
मङ्गलबार, १८ असार २०८१

बुधबारको खेल 
० ब्राजिलविरुद्ध कोलम्बिया (बिहान ०६ः४५ बजे) 
० कोस्टा रिकाविरुद्ध पाराग्वे (बिहान ०६ः४५ बजे)

काठमाडौँ । कोपा–अमेरिका फुटबलको ४८औँ संस्करणमा बुधबार समूह ‘डी’अन्तर्गत अन्तिम चरणको दुई खेल खेलिँदैछ । बुधबारको खेलमा ब्राजिलले कोलम्बियाको र कोस्टा रिकाले पाराग्वेको सामना गर्नेछन् । दुवै खेल नेपाली समय अनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ ।

यी दुई खेलसँगै कोपा–अमेरिका फुटबलको जारी संस्करणको क्वर्टरफाइनल समीकरण पनि पुरा हुनेछ । यी दुई खेलबाट क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ । सातवटा टोली भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा, समूह ‘बी’बाट भेनेजुएला र इक्वेडर, समूह ‘सी’बाट उरुग्वे र पानामा तथा समूह ‘डी’बाट कोलम्बियाले यसअघि नै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले विश्व फुटबलको हस्ती ब्राजिलका लागि क्वार्टरफाइनलमा पुग्न यो खेल निकै महत्त्वपूर्ण छ ।

आफ्नो अन्तिम खेलमा कोलम्बियासँग पराजित भए सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलको क्वार्टरफाइनल यात्रा सङ्कटमा पर्नसक्छ । समूह ‘डी’ तालिकामा अघिल्ला दुवै खेल जितेको कोलम्बिया ६ अङ्कसहित पहिलो स्थानमा छ ।

कोलम्बियाले पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले र दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले हराएको थियो । ब्राजिल भने एक खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

बुधबारको खेलमा कोलम्बियालाई हराएमा सात अङ्कसहित समूहको विजेता बन्दै ब्राजिल अन्तिम आठमा प्रवेश गर्नेछ । उक्त खेल बराबरीमा सकिए पनि ब्राजिल पाँच अङ्कसहित समूह उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ । तर, उक्त खेलमा पराजित भए ब्राजिलले कोस्टा रिका र पाराग्वेबिचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

ब्राजिल आफ्नो पहिलो खेलमा कोस्टा रिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने ब्राजिलले पाराग्वेलाई ४–१ गोलले पराजित गरेको थियो । कोस्टा रिका एक अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा पराजित भएको पाराग्वे यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

बुधबारको खेलमा कोलम्बियालाई हराएमा सात अङ्कसहित समूहको विजेता बन्दै ब्राजिल अन्तिम आठमा प्रवेश गर्नेछ । उक्त खेल बराबरीमा सकिए पनि ब्राजिल पाँच अङ्कसहित समूह उप–विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ ।

तर, उक्त खेलमा पराजित भएमा ब्राजिलले कोस्टा रिका र पाराग्वेबिचको खेलको नतिजामा भर पर्नु पर्नेछ । एकातिर, ब्राजिलको टोली कोलम्बियासँग पराजित हुने अर्कोतिर, कोस्टा रिकाले पाराग्वेलाई हराउने स्थिति सृजना भएमा ब्राजिलका लागि अवस्था दुःखद बन्न सक्छ ।

यस्तो स्थितिमा ब्राजिल र कोस्टा रिकाको चार–चार अङ्क पुग्नेछ । त्यसपछि गोलअन्तरका आधारमा अगाडि बढ्ने टोलीको टुङ्गो लाग्नेछ । यद्दपि, अहिलेको स्थितिमा गोलअन्तरमा कोस्टा रिकाभन्दा ब्राजिल निकै अगाडि छ । ब्राजिलले विपक्षीको पोस्टमा चार गोल गरेको छ भने केवल एक गोल खाएको छ । कोस्टा रिकाले एक गोल पनि गर्न सकेको छैन भने तीन गोल खाएको छ ।

विश्व फुटबल महासंघद्वारा जारी गरिएको पछिल्लो वरीयतामा यी चार टोलीमध्ये ब्राजिल सबैभन्दा अगाडि छ । पछिल्लो फिफा वरीयतामा ब्राजिल चौथो, कोलम्बिया १२औँ, कोस्टा रिका ५२औँ र पाराग्वे ५८औँ स्थानमा छन् ।

कोपा–अमेरिका फुटबलको इतिहासलाई हेर्दा यी चार टोलीमध्ये ब्राजिल सबैभन्दा बलियो देखिन्छ । ब्राजिलले हालसम्म नौपटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ । ब्राजिलले सन् १९१९ मा पहिलो र सन् २०१९ मा अन्तिम पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

यसैगरी कोलम्बियाले एकपटक कोपा–अमेरिकाको उपाधि जितेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो । पाराग्वेले पनि दुईपटक कोपा–अमेरिकाको उपाधि जितेको छ । पाराग्वेले सन् १९५३ र सन् १९७९ मा उपाधि जितेको थियो । कोस्टा रिकाले भने हालसम्म कोपा– अमेरिकाको उपाधि जित्न सकेको छैन ।

हालसम्म ब्राजिल र कोलम्बियाबिच अन्तर्राष्ट्रिय फुटबलमा कुल ३६ खेल खेलिएको छ । त्यसमध्ये २१ खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । केवल चार खेलमा कोलम्बियाले ब्राजिललाई हराउन सकेको छ । ११ खेल भने बराबरीमा सकिएको छ । 

सन् १९४५ को जनवरी २१ मा यी दुई राष्ट्रबिच पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा ब्राजिलले कोलम्बियालाई ३–० गोलले हराएको थियो । सन् २०२३ को नोभेम्बर १६ मा यी दुई टोलीबिच अन्तिम खेल भएको थियो । त्यो खेलमा कोलम्बियाले ब्राजिललाई २–१ ले हराएको थियो ।

कोस्टा रिका र पाराग्वेबिच भने हालसम्म नौवटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा कोस्टा रिकाले पाराग्वेलाई हराएको छ । तीन खेलमा पाराग्वेले कोस्टा रिकालाई पराजित गरेको छ । बाँकी तीन खेल भने बराबरीमा सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप