बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ?

मङ्गलबार, १८ असार २०८१, २० : २७
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपालमा विकसित पछिल्लो घटनाक्रमबारे भारतीय मिडियामा पनि समाचार बन्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन लागेको विषयलाई भारतीय सञ्चारमाध्यमले भूराजनीतिक हिसाबले प्रस्तुत गरेका हुन् ।

त्यसो त, नेपालमा सरकार परिवर्तन हुँदा भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गर्दै आएका छन् । यस क्रममा उनीहरूले कुन दल भारतको अनुकूल छ र कुन दल चीनको अनुकूल छ भन्ने नजरले व्याख्या गर्दै आएका छन् ।

२०७९ पुस १० गते एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादीका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुँदा भारतीय सञ्चारमाध्यमले चीनको इसारामा सरकार बनाएको भनी प्रचार गरेका थिए ।

  deuwa-oli

२०७९ को चुनाव सम्पन्न भएपछि सरकार बन्न लाग्दा भारतबाट थुप्रै सञ्चारमाध्यमका पत्रकार नेपालमा आएका थिए । कतिपय भारतीय टेलिभिजनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटबाट सिधै समाचार प्रसारण गरिरहेका थिए ।

त्यतिबेला केही नेपाली पत्रकारले त्यसको प्रतिवाद पनि गरेका थिए । गठबन्धनमाथि चाइनिजको छाप लगाएपछि प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले एक भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिई त्यसको खण्डन गर्दै भारततर्फ आफ्नो झुकाव देखाएका थिए ।

उनले आफ्नो नेतृत्वको सरकार भारतका लागि कम्फर्टेबल रहेको धारणासमेत राखेका थिए । सोही वर्षको फागुनमा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेको साथ छाडेर कांग्रेससँग गठबन्धन बनाउँदा भारतीय सञ्चारमाध्यमले खासै चर्चा गरेनन् ।

जब २०८० फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन सरकार बनाए, फेरि भारतीय सञ्चारमाध्यमले चाइना कार्डको आरोप लगाएर प्रचार गरेका थिए ।

kp-sher

अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार बन्न लागेको अवस्थामा पनि भारतीय सञ्चारमाध्यमले चाइना कार्डको आरोप लगाएका छन् । भारतका नवभारत टाइम्सले एमाले अध्यक्ष ओलीप्रति तुच्छ टिप्पणी गर्दै समाचार लेखेको छ । ओलीलाई समाचारमा चिनियाँ ट्याग लगाइएको छ ।

यस्तै, अर्को अखबार दैनिक भास्करले नेपालमा प्रचण्ड नेतृत्वको सरकार सङ्कटमा परेको भन्दै समाचार प्रकाशित गरेको छ, जसमा ओलीलाई चीन समर्थकका रूपमा व्याख्या गर्दै चार महिनामै समर्थन फिर्ता लिएको भनेर प्रचार गरिएको छ ।

२०७९ पुसमा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि हिन्दुस्तान दैनिकले नेपालमा चीनको इशारामा प्रचण्ड नाचेको भनेर समाचार प्रकाशित गरेको थियो ।

भारत सरकारका लागि थिंक ट्याङ्कको रूपमा काम गरिरहेको अव्जर्भर रिसर्च फाउण्डेशन (ओआरएफ)ले पनि त्यति नै बेला ‘भूराजनीतिको छायाँमा नेपाल र चीनको बन्दै बिग्रिँदै गरेको सम्बन्ध भनेर लेख लेखेको थियो । त्यो लेख नेपालका डा.हरिवंश झाले लेखेका थिए ।

त्यतिमात्र होइन, भारत सरकारका लागि काम गरिरहेको ‘विवेकानन्द इन्टरनेशनल फाउण्डेशन’ले पनि नेपालको वाम सरकारमाथि चीनको दबाब भनेर लेख प्रकाशित गरेको थियो । सो लेख भारतीय लेखक डा.ऋषि गुप्ताले लेखेका थिए ।

जी न्यूजले नेपालमा चीन समर्थक सरकार आउना साथ भारतप्रति नेपालको ठुलो बयान भनेर एउटा रिपोर्ट नै प्रसारण गरेको थियो ।

kp gagan

अर्थात भारतका प्रमुख पत्रिका तथा टेलिभिजन च्यानलहरूले जहिले पनि कुनै कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्दा त्यसलाई चाइनिजको छाप लगाइदिने चलनजस्तै बनेको छ । नेपालमा कम्युनिस्ट नेतृत्वको सरकार बन्यो कि भारतीय सञ्चारमाध्यमलाई टाउको दुखाइ हुने गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले भारतीय सञ्चारकर्मीमा नेपालको बारेमा सतही बुझाइ रहेको बताए । यहाँको बारेमा उनीहरूले गहिरो अध्ययन नगरेको कारण यस्ता टिप्पणी गर्ने गरेको दाहालको भनाइ छ ।

उनले भने, ‘नेपालमा के भइरहेका छन्, कसरी भइरहेका छन् भन्ने कुराहरूमा कुनै ध्यानै नदिइ सुनेको भरमा, कल्पनाको भरमा रिर्पोटहरू बनाउने गरेका छन् ।’

‘भारतका पत्रकारहरू अध्ययन नै गर्दैनन्, कुनै कुराको क्रसचेक नै गर्दैनन् । जे मनमा आयो, त्यही कुरा पूर्वाग्रही ढंगबाट प्रस्तुत गरेका हुन्छन्,’ उनले भने ।

नेपालको संसदीय अंक गणित के हो, यहाँको आन्तरिक राजनीतिक अवस्था कस्तो छ भन्ने कुराको जानकारी भारतीय पत्रकारसँग नरहेको उनले बताए ।

नेपालमा सरकार परिवर्तन हुँदा विदेशी शक्तिको चलखेल हो कि भनेर नेपाली जनतामा पनि एक खालको मनोवैज्ञानिक धारणा बसेको उल्लेख गर्दै दाहालले त्यसको आधारमा पनि भारतका पत्रकारहरूले धारणा बनाउने गरेको बताए ।

जनआस्था साप्ताहिका सम्पादक एवं प्रेस काउन्सिलका पूर्वअध्यक्ष किशोर श्रेष्ठको पनि त्यस्तै धारणा छ । ‘भारतका पत्रकारहरू अध्ययन नै गर्दैनन्, कुनै कुराको क्रसचेक नै गर्दैनन् । जे मनमा आयो, त्यही कुरा पूर्वाग्रही ढंगबाट प्रस्तुत गरेका हुन्छन्,’ उनले भने ।

नेपालको बारेमा लेखेका समाचारहरूमा नेता तथा व्यक्तिहरूको नामसमेत गलत लेख्ने गरेको उनले बताए । भारतीय सञ्चारमाध्यममा आउने नेपाल सम्बन्धी समाचारमा तथ्य र तथ्याङ्क पनि त्रुटिपूर्ण हुने गरेको उनको भनाइ छ ।

कम्युनिस्ट पार्टीबाट कोही प्रधानमन्त्री बनेको खण्डमा चीनले नै बनाइदिएको हो कि भन्ने धारणाबाट समाचार बनाइरहेको बताउँदै उनले कम्युनिस्ट पार्टी र चीनबारे जे धारणा बनाएर बसेका हुन्छन्, त्यही धारणा उनीहरूले सधैँ प्रस्तुत गर्दै आएको बताए । यस्ता कुरामा सत्यता नरहेको उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप