बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

को प्रधानमन्त्री बन्छ, को मन्त्री बन्छ भन्नेमा अलमलिनु जरुरी छैन : शेखर कोइराला

मङ्गलबार, १८ असार २०८१, २० : २०
मङ्गलबार, १८ असार २०८१

वीरगन्ज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बनाउन हिजो सहमति गरेका दुईवटै दलले पहिला को प्रधानमन्त्री बन्छ भन्ने कुरामा अलमलिनु जरुरी नभएको बताएका छन् । 

वीरगन्जमा मंगलबार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले दुई पार्टीबिच भएको सहमतिलाई ‘सिरियस’रूपमा लिनुपर्ने बताएका हुन् । उनले आपसी सहमतिलाई गम्भीरताका साथ पालना गर्न आग्रह गरे । 

उनले भने, ‘अहिलेको देशको परिस्थिति जटिल छ, त्यसकारण प्रधानमन्त्री को पहिला बन्छ ? को मन्त्री बन्छ भन्ने कुरा अलमलिनु जरुरी छैन । यसैमा अहिले अल्झियो भने समस्या हुन्छ । जे सहमति भएको छ, त्यो पालना गरेर सबैले अगाडि बढेमा मात्र सफलता मिल्छ ।’

उनका अनुसार देशमा अहिलेको आवश्यकता पार्टी भन्दामाथि उठेर राष्ट्रलाई सम्झिनुपर्ने बेला आएको छ । त्यसकारण कांग्रेस–एमालेसहितका दलहरूले आफ्नो ढिपी कसेर बस्नुभन्दा पनि पार्टी भन्दामाथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्न उनको सुझाव छ ।  

पछिल्लो समय मुलुकमा राजनीतिज्ञहरू, कर्मचारीतन्त्र र व्यवसायीहरूको मिलेमतोमा देशलाई अप्ठ्यारो अवस्थामा पारेको उनले आरोप लगाए । देशकै सचिव, राजनीतिज्ञ, व्यापारीसहितका उच्च सरकारी अधिकारीहरूमाथि लागेको भ्रष्टाचारको मुद्दाले नै त्रिपक्षीय मिलेमतोमा देशमा भ्रष्टाचार भइरहेको पुष्टि गरेको स्पष्टोक्ति छ । 

नयाँ बनेको गठबन्धनले लुटतन्त्र मच्चाउने कर्मचारी, राजनीतिज्ञ र व्यवसायीहरूबिचको ‘नेक्सस’लाई तोड्न जरुरी रहेको उनको भनाइ छ । योसँगै वर्तमान गठबन्धनले संविधान सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र आम जनतालाई राहत दिने कुराहरूमा ध्यान दिन सुझाव दिँदै उनले कांग्रेस र एमालेबिच भएको सहमति गाउँ गाउँसम्म पुर्‍याउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, केन्द्रीय सदस्यहरू रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, प्रदेश सांसद श्याम पटेल, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप