बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘प्रधानमन्त्रीको ३२ नम्बरको जादुले कांग्रेस–एमाले मिल्यौँ’

आवश्यकता अनुसार संशोधन गरिनेछ : रमेश लेखक
मङ्गलबार, १८ असार २०८१, २० : ०९
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । संघीय संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेले सत्ता सहकार्यका लागि समझदारी गरेका छन् । २०७९ मा भएको आम चुनावको १८ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित गर्न कांग्रेस र एमाले एक ठाउँमा आएका हुन् ।

योबिचमा प्रचण्ड नेतृत्वको सरकारलाई काँध हाल्न प्रतिस्पर्धा गरेका कांग्रेस र एमालेबिच सत्ता सहकार्य कसरी तय भयो भन्ने विषयमा आमचासो छ ।

एमालेसँगको सत्ता सहकार्यका कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्रका रूपमा संवादमा खटिएका नेता रमेश लेखकसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकसँग गरिएको कुराकानीको सम्पादित अंश –

  • नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यका लागि के–के विषयमा सहमति भएको हो ?

मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौँ । त्यसमा संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर आवश्यकता अनुसार संशोधन गरी त्यो अनुसारका कानुन निर्माण गरिने छ । शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्ने र तीव्र गतिमा विकास निर्माण अगाडि बढाएर मुलुकमा समृद्धि ल्याउने हाम्रो लक्ष्य हो ।

मुलुकमा व्यावसायिक वातावरणको सुनिश्चितता गरी प्राप्त र मर्यादित रोजगारी सिर्जना गर्ने लगायतका काम गर्न सोमबार राति राजनीतिक सहमति गरिएको छ । त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा भएको छ ।

  • सरकारको नेतृत्वको विषयमा के कस्तो सहमति भएको छ ?

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व नेकपा एमालेका नेता माननीय केपी शर्मा ओलीजीले पहिलो चरणमा र दोस्रो चरणमा नेपाली कांग्रेसका नेता माननीय शेरबहादुर देउवाजीले गर्ने भनिएको छ ।

  • उहाँहरूको कार्यकाल कति–कति हुने भन्ने छ ?

कार्यकाल आधा–आधा गर्ने भन्ने छ । संसद्‍मा नेपाली कांग्रेस पहिलो दल छ । नेकपा एमाले दोस्रो दल छ । हामी हाराहारीकै अवस्थामा छौँ । त्यसैले सोही अनुसार कार्यकाल बाँडचुँड गरिएको छ ।

यस्तो सरकारले मुलुकमा न स्थिरता दिनसक्छ, न सुशासन दिनसक्छ, न यसले विकास निर्माणमा गति लिन सक्छ, न यसले अर्थतन्त्रलाई उकास्न सक्छ ।
  • एमाले र कांग्रेसबिच मन्त्रालय र प्रदेशको पनि भागबण्डा भइसकेको हो ?

सामान्य छलफल भए पनि यो विषयमा धेरै प्रवेश गरेका छैनौँ । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएकाले पहिला सबै दलसँग छलफल हुन्छ । हाम्रो एजेन्डामा सहमत दललाई सरकारमा सामेल गरेर जान सकिन्छ । त्यसैले अहिले नै मन्त्रालयका विषयमा कुरा भएको छैन । प्रदेशका हकमा पनि त्यही हो ।

  • तपाईंले एमाले र कांग्रेस सत्ता सहकार्यका लागि निरन्तर संवादमा हुनुहुन्थ्यो । त्यसमा सफल पनि हुनुभयो । एमाले र कांग्रेसको सत्ता सहकार्यको पृष्ठभूमि कसरी निर्माण भएको थियो ?

प्रचण्डजीले २०७९ पुस १० मा धोका दिएपछि सानासाना दलको नेतृत्व अथवा सानासाना दलको गठजोड मिलाएर गठबन्धनको सरकार बनाइयो । यस्तो सरकारले मुलुकमा न स्थिरता दिनसक्छ, न सुशासन दिनसक्छ, न यसले विकास निर्माणमा गति लिन सक्छ, न यसले अर्थतन्त्रलाई उकास्न सक्छ ।

अहिले मुलुक विशिष्ट अवस्थामा छ । लोकतन्त्रका लागि लडाइँ लड्दा, लोकतन्त्रलाई संस्थागत गर्नका लागि संविधान बनाउँदा, मुलुकमा शान्ति प्रक्रिया अगाडि बढाउँदा कांग्रेस र एमाले मिलेरै यी ऐतिहासिक महत्वका कामलाई निष्कर्षमा पुर्‍याएका छौँ । मुलुकका एजेण्डालाई पनि निष्कर्षमा पुर्‍याएका छौँ ।

आज पनि देशमा कोभिडपछि अर्थतन्त्रको जुन अवस्था छ, मुलुकमा एउटा अनिश्चित र अन्योलको अवस्था छ । राजनीतिक अस्थिरता छ । यो सबै कुराले जनतामा निराशा व्याप्त छ । अहिलेको मुख्य उद्देश्य भनेको जनतामा व्याप्त निराशालाई आशामा बदल्ने हो । त्यसका लागि बलियो सरकारको आवश्यकता हुन्छ । बलियो सरकार भनेको सङ्ख्यामा पनि बलियो हुनुपर्‍यो । कहिले चार जना सांसद भएको नेताले निहुँ खोजेको छ, अर्को पाँच जना सांसद भएको नेताले निहुँ खोजेको छ । उहाँहरूकै व्यवस्थापनमा प्रधानमन्त्री र पार्टीहरू व्यस्त छन् । त्यसो भएको हुनाले आजको आवश्यकता बलियो सरकारको देखियो ।

एउटा स्थायित्व र स्थिरताका लागि दुई वटा दल (कांग्रेस र एमाले) मिल्नुपर्छ भन्ने धारणा हो ।

मैले संसद्को रोष्टमबाटै भनेको थिएँ – प्रधानमन्त्री जुन गतिमा हिँडिरहनु भएको छ । त्यही गतिमा अगाडि बढ्ने हो भने पाँच वर्षमा १३ पटक सरकार परिवर्तन हुन्छ । १३ पटक सरकार परिवर्तन हुँदा १३ पटक प्रदेशका सरकार परिवर्तन हुन्छन् । पाँच वर्षमा १३ पटक सरकार परिवर्तन भयो भने जनतामा निराशा जाग्छ कि आशा जाग्छ ? यो हुँदै भएन ।

एउटा स्थायित्व र स्थिरताका लागि दुई वटा दल (कांग्रेस र एमाले) मिल्नुपर्छ भन्ने धारणा हो । त्यही अनुसार छलफल अगाडि बढेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउने बाटो तय भयो ।

  • एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई निर्वाचनसम्मै लिएर जाने बताउँदै आएको थियो । योबिचमा एमाले ‘यूटर्न’ भएर कांग्रेससँग सहकार्य गर्ने तहमा कसरी आइपुग्यो ?

प्रधानमन्त्रीजीले ३२ को नम्बरलाई जादु नम्बर भन्नुभयो । त्यो भनेको एमाले भए एमाले, नभए कांग्रेस छँदैछ भन्ने न हो । एमाले र कांग्रेसलाई हमेसा खेलाइराख्ने कुरा देखियो । त्यसले अस्थिरताबाहेक केही होइन । यसले हामीलाई थप गम्भीर बनायो । हामीबिच स्थिरताका लागि अब मिल्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुग्यौँ ।

कांग्रेस र एमाले दुवै स्थिर सरकारको पक्षमा उभिएपछि सत्ता सहकार्यको संवाद अगाडि बढ्यो । तीन–चार दिनको छलफलले सहकार्यको विन्दुमा ल्याइपुर्‍यायो ।

माओवादीले गरेको सबै काम अग्रगमन हुने र अरुले गरेको काम पश्चगमन हुने भन्ने हुँदैन ।
  • नेकपा माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले कांग्रेस र एमालेको सत्ता सहकार्य अग्रगमन लक्षित छैन भन्ने निष्कर्ष निकालेको छ । मुलुकलाई पश्चगमनतिर लैजान कांग्रेस र एमाले मिलेको माओवादीको टिप्पणी छ । यसमा के भन्नु हुन्छ ?

माओवादीले गरेको सबै काम अग्रगमन हुने र अरुले गरेको काम पश्चगमन हुने भन्ने हुँदैन । हामी माओवादीभन्दा ज्यादा अग्रगमनकारी हौँ । त्यसो भएको हुनाले माओवादीको त्यो सत्ता गुम्न लाग्दा आक्रोशमात्र हो ।

  • नयाँ सरकार गठनको प्रक्रिया कहिलेबाट सुरु हुन्छ ?

हामीले गर्ने निर्णय गरिसक्यौँ । नेकपा एमालेले सरकारबाट मन्त्री फिर्ता बोलाउँछ । साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छ । बाँकी कुरा प्रधानमन्त्रीजीमा भर पर्छ । प्रधानमन्त्रीजीले के गर्नु हुन्छ ? उहाँले संसदमा विश्वासको मत लिन जानुभयो भने केही समय लाग्छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिन सक्ने उहाँलाई संविधानले अधिकार दिएको छ ।

प्रधानमन्त्रीले संविधानले दिएको समयलाई उपयोग गर्छु भन्नुभयो भने हामीले नाइँ भन्न पाइँदैन । नाइँ भन्नु पनि हुँदैन । तर, यत्रो बहुमत बाहिर गइसकेपछि खाली विश्वासको मतले के न हुन्छ भन्ने प्रधानमन्त्रीलाई पर्‍यो भने राजीनामा दिनु होला । त्यसपछि चाँडै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

  • प्रदेशहरुको सत्ता परिवर्तन केन्द्रमा सरकार गठनपछि हुन्छ कि अगाडि नै सुरु हुन्छ ?

यो विषयमा प्रदेश तहमा छलफल हुन्छ । प्रदेशको अवस्था हेरेर अगाडि बढ्छौँ । केन्द्र सरकारबाट एमाले बाहिरिएपछि यस विषयमा थप छलफल होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप