बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
नयाँ सत्ता समीकरण

सिंहदरबारमा केही मन्त्रीले गरे गोप्य छलफल

मन्त्री नआएका मन्त्रालयका कर्मचारी युट्युब र भिडियो कलमा व्यस्त
मङ्गलबार, १८ असार २०८१, १९ : ५०
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । सत्ता गठबन्धन बदलिने र नयाँ सरकार बन्ने कसरत भइरहेका बेला मंगलबार सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा खासै चहलपहल थिएन । अधिकांश मन्त्रालय सुनसान बने भने केही मन्त्रालयका मन्त्री कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिसँग गोप्य छलफलमा भेटिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी समयमै मन्त्रालय पुगेका थिए । उनको सचिवालय सुनसान देखिन्थ्यो भने अघिपछि जस्तो मन्त्रालयमा  कार्यकर्ताको भिड थिएन ।

IMG_8611

यता वन तथा वातावरण मन्त्री नवलकिशोर सुडी र भूमि व्यवस्था मन्त्री बलराम अधिकारी मन्त्रालयमा भेटिएनन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी पनि मन्त्रालयमा देखिएनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ भने गोप्य छलफलमा थिए । उनको सचिवालयमा थोरै कर्मचारीमात्र देखिन्थे । मन्त्रीको सचिवालयमा रहेका एक कर्मचारीले भने, ‘मन्त्रीज्यूले आज कसैलाई पनि भित्र नपठाउनु भन्नुभएको छ । पहिलेजस्तो भेट्न कोही आएका छैनन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकायका कर्मचारीसँग गोप्य छलफल गर्नुभएको छ ।’

IMG_8619

मन्त्री तामाङजस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल पनि मन्त्रालयमा गोप्य छलफलमा व्यस्त थिए । वैदेशिक रोजगार व्यवसायीहरू मन्त्री अर्यालसँग भेट्नका लागि मन्त्रालय पुगेका थिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि गोप्य भेटघाटमा थिए । अघिपछि जस्तो उनको सचिवालयमा कार्यकर्ताहरूको भिड थिएन । यद्यपि मन्त्री महासेठले कार्यकक्षमा कसैलाई पनि प्रवेश नगराउन भनेको उनको सचिवालयमा काम गर्ने एक कर्मचारीले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि सुनसान थियो । मन्त्री सुमना श्रेष्ठ पनि शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग गोप्य भेटघाटमा थिइन् । उनले आज अन्य बाहिरका व्यक्तिसँग भेटघाट नगर्ने सचिवालयका कर्मचारीले बताएका थिए ।

यता युवा तथा खेलकुद मन्त्रालय पनि सुनसान थियो । मन्त्रीको सचिवालय कार्यकक्षका कुर्सीहरू रित्तै थिए । मन्त्री विराजभक्त श्रेष्ठ कोरिया भ्रमणमा गएका कारण उनको सचिवालय सुनसान थियो ।

IMG_8622

सत्ता गठबन्धन फेरिएसँगै उनी भ्रमण छोट्याएर भोलि आउने तयारीमा छन् ।

यता खानेपानी मन्त्री राजेन्द्र राई पनि मन्त्रालयमा देखिएनन् । उनको सचिवालयमा रहेका केही कर्मचारी कोही युट्युबमा भिडियो हेरेर रमाइरहेका थिए भने कोही परिवारका सदस्यसँग भिडियो कलमा व्यस्त थिए ।

यता कृषि तथा पशुपक्षी मन्त्री ज्वाला कुमारी साह पनि मन्त्रालयमा देखिइनन् । ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत केहीबेर मन्त्रालयमा बसेर बाहिरिएको मन्त्रालयका कर्मचारीहरूले बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि केहीबेर मन्त्रालय पुगेर बाहिरिएकी थिइन् ।

यस्तै गृहमन्त्री रवि लामिछाने समयमा मन्त्रालय पुगेका थिए । उनी पार्टीका उपसभापति स्वर्णिम वाग्लेसँग मन्त्रालयमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि गएका थिए ।

गृह मन्त्रालयमा विभिन्न जिल्लाबाट समस्या समाधानको खोजी गर्दै सर्वसाधारणहरू पुगेका थिए । मन्त्रालयमा स्थापना गरिएको हेल्प डेस्कमा समस्या लिएर गए पनि सचिवालयका कर्मचारी काम गर्ने मनस्थितिमा थिएनन् ।

IMG_8620

सर्लाहीको सुविधा बचत तथा ऋण सहकारी संस्थाले आफ्नोसहित परिवारका सदस्यहरूको डेढ करोड रुपैयाँ बचत फिर्ता नगरेको र बिरामी आमाको उपचार गर्न नपाएको भन्दै सर्लाहीबाट सावित्री रौनियार गुनासो गर्न पुगेकी थिइन् ।

यसअघि मन्त्रालयबाट उक्त सहकारीमा फोन गरेपछि ५ लाख रुपैयाँ फिर्ता पाएको भन्दै उनी अरू रकम पनि फिर्ताको पहलका लागि पुगेकी थिइन् । अन्य विभिन्न जिल्लाबाट समस्या बोकेर पुगेका सर्वसाधारणहरू लामिछाने गृहमन्त्रीबाट हट्न लागेको थाहा पाएपछि आफ्नो समस्या नसुनाई बसिरहेका थिए ।

उता प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पनि सुनसान थियो । प्रधानमन्त्री प्रचण्ड कांग्रेस पार्टी कार्यालयमा गिरिजा प्रसाद कोइरालाको फोटो प्रदर्शनी अवलोकन गर्न गएका थिए । त्यसपछि सिंहदरबार फर्किएका उनले गृहमन्त्री लामिछानेसँग झण्डै १ घण्टा छलफल गरेका थिए ।

IMG_8633

पहिलेजस्तै नियमित काम गरेँ : संघीय मामिला मन्त्री भानुभक्त जोशी

सरकार फेरबदलको कसरत भए पनि आफूले पहिलेझैँ नियमित रूपमा मन्त्रालयको काम गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्थासम्म काम गर्न भनेको उनले उल्लेख गरे ।

मन्त्री जोशीले भने, ‘मन्त्रालयका नियमित कामहरू छन्, जस्तै विभिन्न विकास समितिहरू, दलित विकास समिति, वादी विकास समिति लगायतालाई तलब खुवाउनुपर्ने अवस्था छ । त्यसका लागि अर्थ मन्त्रालयसँग पैसा माग्न पठाएको तर पाएको छैन । दलित लगायतका विकास समितिलाई खारेज गरेर प्राधिकरण बनाउने भन्ने कुरा बजेट वक्तव्यमा आएको छ । यसका लागि प्राधिकरणको कार्यस्वरुप बनाउनेदेखि अन्य नियमित कामहरू छन् । त्यसलाई निरन्तरता दिइरहेको छु ।’

उनले प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न भनेको जानकारी दिए । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै जोशीले नियमित काम जारी राख्न निर्देशन दिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले हामी विश्वासको मतका लागि संसद् फेस गर्छौैं भन्नुभएको छ । त्यसबेला सम्मका लागि आफ्ना काम नछोड्नुस् भन्नुभएको छ । हामीले तत्काल राजीनामा गर्ने सोच बनाएका छैनौँ । उहाँहरूले (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने केही निर्णय गरिहाल्नु भएको छैन । यदि उहाँहरूले समर्थन फिर्ता लिनुभयो भने हामीले विश्वासको मत लिन संसद्लाई भन्नुपर्ने हुन्छ भन्ने कुरा राख्नुभयो । भोलिका दिनमा कस्तो परिस्थिति आइपर्ला तर अहिले नियमित काम जारी राख्न निर्देशन दिनुभएको छ ।’

बाहिर मिडियामा आएका कुराका आधारमा नियमित कामकाज नछोड्न प्रधानमन्त्रीले आग्रह गरेको मन्त्री जोशीले जानकारी दिए । प्रधानमन्त्रीसँगको छलफलमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, स्वास्थ्य मन्त्री प्रदीप यादव लगायतका मन्त्रीहरू थिए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै मन्त्री जोशीले भने, ‘घटनाक्रम कसरी अघि बढ्छ भन्न सकिँदैन, ठिकै छ हेर्दै जाउँ, किन यस्तो परिस्थिति भयो भन्नेबारे हामी नेकपा एमालेसँग पनि कुरा गर्छौं, विभिन्न ढंगले एमालेसँग हाम्रो कुराकानी पनि भइरहेको छ, अरू राजनीतिक दलहरूसँग पनि कुराकानी भइरहेको छ भन्नुभएको थियो ।’

उनले नियमित काम गर्न प्रधानमन्त्रीको निर्देशन भएको हुनाले आफूले मन्त्रालयका नियमित काम गरिरहेको बताए । यद्यपि नेकपा एकीकृत समाजवादीको महाधिवेशन पनि भएकाले मन्त्रालयमा आफूले धेरै समय दिन नपाएको तर मन्त्रालय गएर काम गरिरहने जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप