बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

सरकारमा सहभागी हुन सबै दललाई आह्वान
मङ्गलबार, १८ असार २०८१, १९ : ०५
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।

कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए । 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।  उनले बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको बताए । 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले गत एक हप्तादेखि कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास र वार्ता थालेसँगै प्रधानमन्त्रीले अविश्वासको वातावरण सिर्जना गर्दा यो स्थिति आएको बताए । प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि एमाले र कांग्रेसले छलफल अघि बढाएको बताए । उनले राजनीतिक स्थायित्व र लोकतन्त्रको अभ्यासका लागि दुई मिलेर अघि बढ्ने निर्णय भएको बताए । 

बैठकले कांग्रेस र एमालेको बिचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनका लागि सरकारमा सहभागी हुन र सघाउन तथा सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए । दुई ठुला दल सहमतिमा पुगिसकेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्नेकुरा वाञ्छनीय हुने उनले बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप