बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

१८ करोड अपचलन गर्ने तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धकविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

मङ्गलबार, १८ असार २०८१, १७ : ५७
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धकविरुद्ध १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । तत्कालीन देव विकास बैंकका शाखा प्रबन्धक समिर बुढाथोकीविरुद्ध विभागले उच्च अदालत तुलसीपुर दाङमा अभियोगपत्र दायर गरेको हो ।

बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रकम हिनामिना गरेको सूचनाका आधारमा विभागले अनुसन्धान अघि बढाएको थियो । सम्पत्ति शुद्धीकरण को मुद्दामा समेत अनुसन्धान अघि बढाउँदा बुढाथोकी आबद्ध रहेको साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम समेत अपचलन गर्ने मनसाय देखिएको थियो । उनले अन्य बैंकका कर्मचारीको समेत परिचयपत्र प्रयोग गरेर रकम अपचलन गरेको पाइएपछि विभागले थप अनुसन्धान अघि बढाएको थियो ।

सोहीकारण उनलाई बैंकिङ कसूरमा ७ वर्ष कैद समेतको सजाय हुने ठहरी फैसला भएको देखिँदा बुढाथोकीले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी सो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने, धारण गर्ने र सोको कारोबारमा प्रत्यक्ष संलग्न रही सो रकमको व्यवस्थापनका लागि ३६ वटा कृत्रिम कर्जा खाता खोलेको पाइएको थियो । कर्जा खाताबाट आफैले सम्पूर्ण कर्जा रकमान्तर गर्ने लगायतका काम समेत गरेको अनुसन्धानका क्रममा पाइएको थियो ।

उनले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ लुकाउने मनसायसहित ३६ वटा कर्जा खातामा ट्रान्सफर गरेको र सो कर्जा सेवा शुल्क तिरेको समेत गरी उक्त बैंकको १८ करोड ३ लाख ७२ हजार ८१८ रुपैयाँ अपचलन गरेको देखिएको बताइएको छ ।

बुढाथोकीले गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण एवं हस्तान्तरण गर्ने मनसायले सम्पत्तिको सही प्रकृति स्रोत, स्थान, निसर्ग, कारोबार, स्वामित्व एवं अधिकार लुकाउने छल्ने एवं बदल्ने समेतको सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधन समेत)को दफा ३ को दफा (१) बमोजिम मुद्दा दायर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप