बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

सबै मधेसवादी दलहरू नयाँ सत्ता गठबन्धनमा !

मङ्गलबार, १८ असार २०८१, १७ : ३६
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उथलपुथल हुने गरी बनेको नयाँ सत्ता गठबन्धनमा मधेस केन्द्रित सबै दलहरू सामेल हुने सम्भावना देखिएको छ ।

एक अर्काबिच तिक्ततापूर्ण राजनीति गरिरहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले नयाँ सत्ता साझेदारीमा सामेल हुने सङ्केत गरेसँगै यस्तो सम्भावना देखिएको हो । 

यादवले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहमति भई बनेको नयाँ गठबन्धनलाई साथ दिने घोषणा गरिसकेका छन् ।

रातोपाटीसँग कुरा गर्दै उनले परिवर्तित अवस्थामा बनेको गठबन्धनलाई साथ रहने बताए । यसअघि जसपाले कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा आबद्ध थियो । 

डा.सीके राउत नेतृत्वको जनमत अहिलेको नयाँ गठबन्धनमा जोडिने भएको छ । मधेस प्रदेशको सरकारलाई निरन्तरता दिन यो दल सत्ता गठबन्धनसँग मिल्नेछ ।

यसअघि माओवादी–एमाले गठबन्धनमा रहेर मधेस प्रदेशको मुख्यमन्त्री पद पोल्टामा पारेको जनमत आफ्नो शक्ति कायम राख्न चाहन्छ ।  

जनमतका उपाध्यक्ष ई.दीपक साहले आफ्नो दलको नेतृत्वमा रहेको मधेस सरकारलाई निरन्तरता दिनेबारे कुरा भइरहेको बताए ।

‘कांग्रेस–एमाले गठबन्धनमै पार्टी रहने लगभग निश्चित छ’, उनले रातोपाटीसित भने । यद्यपि  पार्टीमा यसबारे छलफल हुन बाँकी रहेको उनले बताए । 

यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई सघाउने भएका छन् । लोसपाका महासचिव मनिष मिश्रले बदलिँदो परिस्थितिबारे पार्टीमा छलफल हुन बाँकी भए पनि कांग्रेस–एमाले गठबन्धनप्रति आफ्नो दल सकारात्मक रहेको रातोपाटीलाई बताए ।

लोसपा पछिल्लो समय कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा थियो । कांग्रेसले प्रचण्ड सरकार विस्थापन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने समझदारी गरेसँगै यो दल स्वतः नयाँ गठबन्धनमा आबद्ध हुने देखिएको छ ।

राई नेतृत्वको जसपा कांग्रेस–एमाले गठबन्धनप्रति सकारात्मक देखिएको छ । पार्टी महासचिव इस्तियाक राईले बदलिँदो नयाँ राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न  पार्टीमा छलफल चलिरहेको बताए । 

यसले पहिलो पटक सबै मधेस केन्द्रीकृत दलहरू एउटै गठबन्धनमा अट्ने सम्भावना बलियो बनेको हो ।

कांग्रेस–एमालेबिच मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने समझदारी भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप