बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
६० किलो सुन तस्करी

पेवेल नेपालसँग ६१ अर्ब र सजिलो पे पेमेन्टसँग १९ अर्ब  दाबी गर्दै मुद्दा दायर

मङ्गलबार, १८ असार २०८१, १७ : २२
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । ६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल  नेपाल र सजिलो पे मार्फत ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी गरिएको छ ।

मंगलबार काठमाडौँ  जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उक्त दुई कम्पनीबाट सुन तस्करीमा यो बराबरको रकम भुक्तानी भएको उल्लेखसहित बिगो र जरिवाना मागदाबी गरिएको हो । 

  पेवेल नेपाल प्रा.लि.का सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू भीम प्रसाद तिमल्सिना, नेपाल भूषण चन्द, पाल्साङ लामा, खेलानन्द प्रसाद सिंह, सत्येन्द्र श्रेष्ठ, प्रज्वल आचार्य, सुरज सम्शेर ज.ब.राणा र मिलन भन्ने मिन बहादुर दुलाल समेत आठ जना विरुद्ध मुद्दा दायर भएको छ। उनीहरूसँग ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २ सय ३३ कायम गरी  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी लिएको अभियोग पत्रमा उल्लेख छ।

  सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.का सञ्चालक तथा कर्मचारी प्रतिवादीहरू सुनिल जाकीबन्जा, फुनछुक  डाक्पा आथुपछाङ, काश्यप मानन्धर, रोशनबाबु मल्ल समेत चार जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ८५ रुपैयाँ बिगो दाबी गरेको छ।

उनीहरूलाई पनि अन्य अभियोगसँगै  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिम सजायको मागदावी थप लिइएको छ।

उल्लिखित सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.को खातामा अवैध सुनको कारोबारबाट प्राप्त गरेको रकम जम्मा गरेको सम्बन्धमा अनुसन्धानको क्रममा तयार गरिएको अलग प्रतिवेदन पनि अभियोगपत्रसँगै जिल्ला अदालतमा पेस गरिएको छ।

सीआईबीले प्रतिवादी शिवकुमार सर्राफको मोबाइल परीक्षण गर्दा तस्करीको सुनको भुक्तानीमा यी दुई मोबाइल वालेटको प्रयोग हुने तथ्य फेला पारेको थियो । प्रतिवादी राजु खत्री र सर्राफका बिच भएको ह्वाट्एप कुराकानीका आधारमा पेवेल र सजिलो पेमेन्टको भण्डारफोर भएको हो । उनीहरूले मोबाइल वालेटको स्लिपको ‘पर्पोज अफ डिपोजिट’मा रेमिट्यान्स, लोन पेमेन्ट, सापटी फिर्ता लगायत उल्लेख गर्थे ।

कुंगा टासी शेर्पा भन्ने चिनियाँ नागरिक जेङ्ग्गा झाङ्गीले (यूएसडीटी) क्रिप्टोको कारोबार गरेर सुनको भुक्तानी दिने गरेका थिए । यस्तै सोनाम गुरुङ भन्ने शेरब ग्याल्मो लगायतले भने यूएसडीटी बनाउँदै भुक्तानी गर्ने गरेको तथ्य फेला परेको अभियोग पत्रमा उल्लेख छ।  क्रिप्टोमार्फत भुक्तानी नपुगेपछि ‘पेवेल’ र ‘सजिलो पे’ प्रयोग हुने गरेका  अभियोग पत्रमा उल्लेख छ।

त्यस्तै सजिलो पेका सुशील जार्कीवंजालाई भने मुद्दा नचलाउने निर्णय गरिएको छ।

‘प्रतिवादी सुशील जाकीवंजा सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.को स्थापना कालदेखि ५००० कित्ता शेयर लिई सञ्चालक समितिमा रहेको देखिएता पनि उक्त संस्थामा सक्रिय रूपमा कार्य नगरेको, सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि.बाट प्राप्त सञ्चालक समितिको निर्णयको अभिलेख अनुसार जाकीबंजा २०७९ भाद्र २७ गते पछिको सञ्चालक समितिको कुनै पनि बैठकमा उपस्थित समेत रहेको नदेखियो ’ अभियोग पत्रमा भनिएको छ,  ‘उक्त संस्थाबाट कुनै प्रकारको मुनाफा लिए पाएको तथा अन्य प्रतिवादीहरूसँग सम्पर्क समन्वय गरेको हाल सम्मको अनुसन्धानबाट देखिन नआएकोले निज प्रतिवादी सुशील जाकीबंजालाई पछि कुनै तथ्य प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने गरी हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको छ । ’

उल्लिखित तथ्य प्रमाण र कानुन अनुसार पेवेप नेपाल र सजिलो पे पेमेन्टले अवैध सुन लुकाई छिपाई ल्याएको सुनको कारोबारको भुक्तानी गर्ने तथा मुद्रा निर्मलीकरण गर्ने क्रममा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ र सो ऐन अन्तर्गत बनेको नियम, विनियम र सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन विपरीत त्यस्तो मुद्रा निक्षेप लिने तथा एजेन्ट मार्फत स्थानान्तरण गरी अपराधजन्य कार्यमा भुक्तानी दिने कार्य गरेको अभियोग पत्रमा उल्लेख छ।

उक्त कसुरबाट प्राप्त मुद्रा निर्मलीकरण गर्ने कार्यमा संलग्न रहेका भुक्तानी सेवा प्रदायक संस्थाहरूले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), नेपाल राष्ट्र बैङ्क ऐन विपरीतको कसुर गरेको प्रस्ट देखिन आएकोले उक्त संस्थाहरूका सञ्चालक तथा कसुरमा संलग्न कर्मचारीहरू समेतलाई कानुन बमोजिम हुनुपर्ने अभियोग पत्रमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप