बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेताहरूले भने– शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्नुहुँदैन

मङ्गलबार, १८ असार २०८१, १६ : ४०
मङ्गलबार, १८ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रमाम बोल्दै उनले सो कुरा बताएका हुन् । 

नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोइरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरूलाई दबाब दिए ।

नेता सिटौलाले भने,‘सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग, त्यो सम्बन्धी कानुनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन । पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौँ । हामीले आजको दिनमा कमिटमेन्ट गर्नु पर्छ–द्वन्द्व पीडितलाई न्याय दिनेगरी काम गर्छौँ ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाइ गर्न नहुने बताए । उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरूले सामान्य रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए । 

अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गन पनि दलहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिबद्धता गरौँ भन्न मेरा पनि आग्रह छ । संयोगले प्रमुख दलहरूले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ  । मत सरकार पनि छैन । तर त्यो शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ । यसलाई हामीले किन हल्का रूपमा लिएका छौ ?  कोइरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईँहरूको काँधमा छ भन्नु एको थियो । तर त्यो अझै पूरा हुन सकेको छैन । त्यसलाई तत्काल पूरा गर्नुपर्छ ।’         

अध्यक्ष भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरू एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप